काठमाडौँ।
नेपालमा पहिलोपटक हिमालयन इन्टरनेशनल स्ट्रोक समिट आयोजना भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा साउन ३१ गतेबाट २ दिने सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरे । पहिलो दिनको वैज्ञानिक सत्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो सम्मेलनले नेपाल र नेपाली चिकित्सकहरुका लागि नयाँ आयामका बारेमा सिक्ने अवसर प्रदान गर्ने बताए ।
भदौ १ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित ११ वटा देशका विज्ञहरुले गरेको नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले बताए । सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरुले प्रस्तुति दिएको डा. पौडेलले बताए । उनका अनुसार ‘जसमा क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशनलगायतका कुराहरु समेटिएको छ ।

त्यस्तै, दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुने जनाइएको छ । जसमा एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतीकरण हुने प्रस्तुतिसमेत हुनेछन् ।

नेपालको स्ट्रोकको वास्तविक अवस्थालाई प्रस्तुत गर्न र यससम्बन्धी चासोलाई उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको डा. पौडेलले जानकारी गराए । ‘यो सम्मेलनले नेपालमा स्ट्रोकको ताजा अवस्था, निदान र व्यवस्थापनका लागि भएका प्रयासका विषयमा प्रस्ट पार्नेछ,’ । ‘यसैगरी नेपालको सात वटै प्रदेशमा स्ट्रोककको अवस्था र उपचारको पाटोलाई समेत यसले उजागर गर्नेछ ।’
सम्मेलनले ज्ञान आदान–प्रदान, क्षमता विकास तथा सहकार्यपूर्ण कार्यका लागि एउटा महत्वपूर्ण मञ्चको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल स्ट्रोक प्रोजेक्टकी प्रोजेक्ट म्यानेजर एवम् सम्मेलनकी सचिव डा. रचना नकर्मीले बताए ।

यसैगरी, यो सम्मेलनले नेपाल र सम्पूर्ण हिमालय क्षेत्रभित्र स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई सुदृढ बनाउने लक्ष्य राखेको नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले बताए । ‘नेपालको स्ट्रोको यथार्थ चित्र उतार्नका लागि यो सम्मेलन एक कोशढुङ्गा साबित हुनेछ,उनले भने ।

सम्मेलनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डब्लूएचओ नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वर्ल्ड स्ट्रोक अर्गनाइजेसन (डब्लूएसओ), एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसन (एपीएसओ) र एन्जल इनिसिएटिभले प्रत्यक्ष सहयोग गरेका छन् ।

सम्मेलनमा सहभागी हुन डब्लूएसओका अध्यक्ष डा जयराज पाण्डियन, निवर्तमान अध्यक्ष प्राध्यापक क्रेग एन्डर्सन, युरोपियन स्ट्रोक अर्गनाइजेसनका प्राध्यापक भालेरिया कासो, न्यूजिल्याण्डकी प्राध्यापक अन्ना रान्टा, एपीएसओका पूर्व अध्यक्ष प्राध्यापक ब्युन्ह वु युन नेपाल आएका छन् ।
















प्रतिक्रिया