डा. केसीको चेतावनी : निजी मेडिकल कलेज पक्षपाती निर्णय फिर्ता नगरे आन्दोलन


काठमाडौं ।

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन्।

शनिबार विज्ञप्ति जारी गर्दै उनले सरकारले सिट वृद्धि र शुल्क बढाउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन्।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डमाथि माफियालाई पोस्ने आरोप लगाउँदै, पहाडी क्षेत्रको उपेक्षा गरिएको बताए।

उनले कैलालीमा बनिसकेको सरकारी मेडिकल कलेज सञ्चालन नगर्नु दुर्भाग्यपूर्ण भएको भन्दै असन्तुष्टि जनाए।

उनले त्रिवि जस्ता सार्वजनिक संस्थामा सिट कटौती गरिएको तर निजी मेडिकल कलेजलाई १३० सिट दिने निर्णय मुनाफामुखी रहेको बताए। मागहरू सम्बोधन नभए पुन: सत्याग्रहसहित आन्दोलनमा जाने चेतावनी उनले दिएका छन्।