नेपाल भारत मैत्री समाजले मनायो भारतको ७९ औं स्वतन्त्रता दिवस


काठमाडौँ
नेपाल भारत मैत्री समाजले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भारतको ७९ औं स्वतन्त्रता दिवस मनाएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति परमानन्द झाले ‘रोटी–बेटी’ सम्बन्धको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाल–भारतबीच सीमामा देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई पर्खाल लगाएर नभइ आपसी सहमति र समन्वयबाट समाधान गर्नुपर्नेमा जोड दिए।
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले भारतको स्वतन्त्रताले नेपालको प्रजातान्त्रिक यात्रालाई पनि गति दिएको बताए। उनले सीमा सुरक्षादेखि ऊर्जा, कृषि र सूचना प्रविधिलगायतका क्षेत्रमा सहकार्य गरी दुबै देशले आभ लिनसक्ने सम्भावना औंल्याए ।


पूर्वमन्त्री पशुपति समशेर जबराले राम–सीताको वैवाहिक सम्बन्ध र बुद्धको महापरिनिर्वाण भारतमा भएको प्रसंगलाई उल्लेख गर्दै नेपाल–भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। भारतीय दूतावासका उपमुख्य नियोगाधिकारी राकेश पाण्डेले नेपाल–भारतबिचको मित्रता लामो समयदेखि निरन्तर रहेको र भविष्यमा पनि यसलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। समाजका अध्यक्ष प्रेम लस्करीले नेपाल भारत मैत्री समाजले दुई देशबिचको जनस्तरको मित्रता, विश्वास र सहकार्यलाई सुदृढ बनाउन निरन्तर लागिपरेको बताए ।
कार्यक्रममा समाजका पदाधिकारी, नेपाल र भारतका उद्योगी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीलगायतको सहभागीता थियो।