कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी


काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको प्रक्रिया थालेको छ। कामपा शिक्षा विभागले स्थलगत अनुगमनपछि अनुमति खारेजीको तयारी गरेको हो।

साथै, वैकल्पिक विद्यालय स्थानान्तरण, विद्यालयको नाम, स्थान र विषय परिवर्तन तथा प्राविधिक विषय थपजस्ता विषयमा पनि निर्णय लिइएको छ।

कामपाले २५ वटा विद्यालयलाई नाम परिवर्तनको अनुमति दिएको छ भने, १२ विद्यालयलाई कक्षा तथा विषय थपका लागि अनुमति दिने तयारी गरिएको छ।

सामुदायिक विद्यालयको सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। साथै, शिक्षा क्षेत्र सुधारका कार्यक्रमहरूको मूल्याङ्कन प्रतिवेदन १५ दिनभित्र पेस गरिने कामपाले जनाएको छ।