दार्चुलामा बाढीले तीन पुल बगायो, टिङ्कर–छाङरु सम्पर्क विच्छेद


दार्चुला ।

व्यास गाउँपालिका–१ मा अविरल वर्षापछि टिङ्कर खोलामा आएको बाढीले तीनवटा काठेपुल र गोरेटो बाटो बगाउँदा टिङ्कर र छाङरु गाउँसँगको सम्पर्क टुटेको छ। बुधबार राति करिब ८ बजे आएको बाढीले छाङरुको गागामा रहेको पुल, नाम्पा खोलाको पुल र टिङ्कर जाने पुल बगाएको सशस्त्र प्रहरीले जनाएको छ।

छाङरुस्थित सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी त्रासमा रातभर सुत्न नसकेको जनाइएको छ। मानवीय क्षति नभए पनि टिङ्कर गाउँसँग फोनसमेत सम्पर्क नभएकोले क्षतिको विवरण आउन बाँकी छ। क्षेत्रमा अझै वर्षा जारी छ।