काठमाडौं ।
कुवेतमा मेथानोल मिसिएको अवैध मदिरा सेवनका कारण ६ नेपालीसहित १३ एसियाली नागरिकको ज्यान गएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले दिएको जानकारीअनुसार मृत्यु हुने नेपालीमध्ये पाँच जना पुरुष र एक महिला रहेका छन्।
मन्त्रालयका अनुसार शनिबारदेखि अहिलेसम्म विषाक्त मदिरा सेवनसम्बन्धी ६३ जना बिरामी अस्पताल भर्ना भएका छन्। तीमध्ये ३१ जनालाई मेकानिकल भेन्टिलेसनमा राखिएको छ भने ५१ जनाको आकस्मिक डायलासिस गरिएको छ। विषालु मदिराको असरले २१ जनाले स्थायी दृष्टि गुमाएका वा गम्भीर दृष्टि क्षतिबाट पीडित भएको बताइएको छ।
विषाक्त मदिराको स्रोत पत्ता लगाउन तथा वितरणमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सुरक्षा निकायहरूले अनुसन्धान सुरु गरेका छन्।
मन्त्रालयले अवैध र अनियमित मदिरा सेवन स्वास्थ्यका लागि घातक हुने चेतावनी दिँदै मेथानोल विषाक्तताको शंका लागेमा तुरुन्त नजिकको अस्पताल वा निर्धारित हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ।
पीडितहरूको उपचार आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा भइरहेको कुवेत स्वास्थ्य मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया