पर्यटन विभागका निर्देशकको ९६ लाखको गैरकानुनी सम्पत्ति

भ्रष्टाचार मुद्दा दायर


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग काठमाडौंका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
सीडीई यादवले ९६ लाख ८५ हजार ५ सय ५३ रुपियाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै बिहीबार आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको देखिएको हुँदा जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी कायम गरिएको छ ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा यादवले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

आयोगको अनुसन्धानमा यादवले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।