खोटाङ ।
यतिखेर खोटाङका बजार तथा नेवार समुदायको बसोबास रहेको गाउँबस्ती लाखेमय बनेका छन् । लाखे नाच तथा बिभिन्न जात्राको रौनकमा नेवार समुदाय मात्र नभई गैर नेवार समुदायका बृद्दबृद्दादेखि युवायुवती तथा बालबच्चाहरु रमाईरहेका छन् ।
गठेमङ्गलबाट विधिवत् रुपमा सुरु गरिएको लाखेजात्राबीचमा जिल्लामा गाईजात्रा, रोपाइँ जात्रा, हिले जात्रा तथा विभिन्न साँस्कृति प्रस्तुतिहरु प्रदर्शन गरिएको छ ।
यसबीचमा, दिक्तेलबजार सामाजिक गुठी खोटाङको निमन्त्रणामा जिल्लाका विभिन्न १० ठाउँबाट आएका नेवार समुदायले संयुक्त रुपमा मैत्रीपुर्ण लाखे नाच प्रदर्शन गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको रत्नपार्कबाट सुरु गरिएको लाखेजात्रा प्रदर्शनी कार्यक्रममा दिक्तेल, खार्मी, खाल्ले, सोल्मा, बुइपा, राजापानी, जालपा, निर्मलीडाँडा, दोवेला र अर्खौलेका लाखे टोलीले आ–आफ्नो ठाउँ विशेषको लाखे नाच तथा साँस्कृतिक कला प्रदर्शन गरेको गुठीका कोषाध्यक्ष इन्द्र कसजूले जनाउनुभयो ।
गैंरनेवार समुदायका युवायुवतीले समेत नेवारी परम्परागत पहिरण हाकुपाटसी तथा दौरासुरुवाल र भातगाउँले टोपी लगाएका थिए । दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण भने, मुकुण्डोधारी लाखे नाच मानिएको छ । लाखेसँगै अघिपछि हुँदै नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउने गर्दछ ।
लाखेजात्राले साँस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी सद्भाव, भाइचारा तथा भातृत्व कायम गरेको दिक्तेलबजार सामाजिक गुठी खोटाङका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभएको छ ।
लाखेजात्राको अवसरमा नेवार समुदायको प्रत्येक घरमा पितृ पूजाआजा गर्नुका साथै नेवारी परिवार बनाएर खाने चलन छ । अन्य चाडभन्दा विशेष तरिकाले मनाइने लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट रथयात्राले बजार परिक्रमा गरेर कृष्ण मन्दिर तथा नजिकको देवालयमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको जनाइएको छ ।नेवार समुदायको लाखेजात्रा जिल्लाका २७ स्थानमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ ।














प्रतिक्रिया