खोटाङस्थित त्रि–धार्मिक स्थल हलेसीमा साउनको चारवटा सोमबारभित्र करिब ४० हजार तीर्थालु भक्तजनहरुले दर्शन गरेका छन् । विश्वप्रशिद्ध हलेसीमा बोलबमको अवसर पारेर देश तथा विदेशका तीर्थालु भक्तजनहरुले दर्शन गरेका हुन् ।साउनको अन्य सोमबारको तुलनामा अन्तिम सोमबार कम दर्शनार्थी आएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । गिरीका अनुसार पहिलो सोमबार १२ हजार ८ सय ४०, दोस्रो सोमबार १४ हजार ७ सय ६४, तेस्रो सोमबार नौ हजार ५ सय २२ र अन्तिम सोमबार दुई हजार ७ सय ३० जना तीर्थालु भक्तजनहरुले दर्शन गरेका हुन् ।
यद्यपि, लगातारको वर्षाका कारण पहिरो गई मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध अवरुद्ध हुँदा अन्तिम सोमबारका दर्शनार्थी बाटैमा अलपत्र परेका थिए । सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीचसडकमै अलपत्र परेका हुन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।
साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको संख्या बढी हुने अवस्थामा हलेसी क्षेत्रको च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको प्रवक्ता गिरीले जनाउनुभएको छ । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण सोमबार बिहान करिब साढे ८ बजे च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भुटानलगायतका नागरिकसमेत आउने गरेका छन् । सडकको पहुँच विस्तार भएसँगै हलेसीमा दर्शनार्थीको संख्या बढ्दो रहेको छ । गतवर्ष ७ लाख भक्तजनले हलेसी दर्शन गरेकोमा यो वर्ष वृद्धि हुने अनुमान गरिएको जनाइएको छ ।











प्रतिक्रिया