असोज ३ जारी २


कविबाट फिल्म लेखक हुँदै निर्देशनमा उत्रिएका उपेन्द्र सुब्बाको निर्देशनमा निर्माणाधीन फिल्म जारी २ ले तीन पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गतेका लागि रिलिज डेट घोषणा गरेको छ।

३ पोस्टरमध्ये पहिलो पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू सबैलाई प्रस्तुत गरिएको छ। दुई पोस्टरमा भने फिल्मका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा प्रस्तुत गरिएको छ। जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेका छन् भने मिरुना परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेकी छन्। जारी–२ ः सङ अफ च्याब्रुङ भनिएको यस फिल्मको अर्को पोस्टरमा दयाहाङ र मिरुनालाई क्यामराका लागि ह“सिलो मुद्रामा पोज दिइरहेको अवस्थामा प्रस्तुत गरिएको छ।

कवि हुदै फिल्म लेखकका रूपमा स्थापित भइसकेपछि निर्देशक भएका उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित फिल्मको पहिलो पोस्टरमा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ र विजय बराललाई प्रस्तुत गरिएको छ। यसका साथै एउटी बालिका र मिरुनालाई अघि लगाएर आफू लठ्ठी टेक्दै, पछिल्तिर कोसेली बोकेका भरियासहित दयाहाङलाई देख्न सकिन्छ।
सार्वजनिक तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो च्याब्रुङ बाजाको सेरोफेरोमा फिल्मले कथा पस्कने संकेत गरेको छ।

बाँसुरी फिल्म्स् र कबड्डी फिल्म्स्को ब्यानरमा निर्देशक रामबाबु गुरुङद्वारा निर्मित फिल्ममा दयाहाङ, मिरुना, विजय तथा बुद्धिका साथमा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखुलगायतका कलाकारले अभिनय गरेका छन्।
सुब्बाले २०८० सालको ब्लकबस्टर फिल्म जारीपछि जारी २ निर्देशन गरेका हुन्। सो वर्ष फिल्मले बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो जारी २ लाई प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ।