टिकटकर आभा अब कश्यपको नायिका



फिल्म कश्यपमा लोकप्रिय टिकटकर आभा ढुंगाना अभिनेत्रीका रूपमा देखिने भएकी छन्।
फिल्मका निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन आभाको प्रतिभा र परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन–टेस्ट गरेरै फाइनल गरिएको हो।

आभाले यसै फिल्मका लागि एक्सन दृश्यको विशेष प्रशिक्षण लिइरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको छ। फिल्ममा बालकलाकार रिद्धी खत्रीलाई पनि डेब्यु दिइने भएको छ। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै कश्यपको महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्।

‘फिल्मको कथा, गीत–संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ कश्यपले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ’ आभा भन्छिन्।
यसअघि निर्माण पक्षले नायक सविन श्रेष्ठलाई फिचर गरेर फस्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ। जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता र कौतुहलता जगाएको छ।