काठमाडौं ।
झापाको दमकमा सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा विशेष अदालतले २ वटा मुद्दामा गरी १३ जना कर्मचारीलाई दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार १३ जना कर्मचारीलाई भ्रष्टाचारी ठहर गरी सजायसमेत सुनाएको छ ।
नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, सर्वेक्षक विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेश कुमार धिमालको प्रत्यक्ष संलग्नता देखिएको भन्दै विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
यस्तै, अर्को मुद्दामा सीताराम यादव, विन्देश्वर पञ्जियार, जगदीशप्रसाद यादव, गणेशकुमार धिमाल, रुद्रप्रसाद श्रेष्ठ, रामदेव मण्डल धानुक, विनोदकुमार मण्डल, मीनबहादुर प्रधान र विष्णुकुमार न्यौपाने दोषी ठहर भएका छन् ।
९ जना अभियुक्त दुवै मुद्दामा दोषी ठहर भएका छन् भने ४ जना एउटामात्र मुद्दामा भ्रष्टाचारी ठहर भएका छन् । उनीहरूले पर्ती खाली रहेको सरकारी सार्वजनिक जग्गा स्वावसी प्रक्रियाबाट विभिन्न व्यक्तिहरूको नाउँमा दर्ता गरे गराएको देखिएको अदालतको ठहर छ । उनीहरूलाई ३ महिनादेखि १ वर्ष कैद र ३१ लाख रुपियाँसम्म जरिवाना तोकिएको छ ।











प्रतिक्रिया