आजका युवा आफ्नै संस्कार–संस्कृति अनुरुप अघि बढ्नुपर्छ

376
Shares

आजका युवाहरुले पाश्चात्य मुलुकको प्रभावमा परी दिन–प्रतिदिन आफ्नो देशको संस्कार र संस्कृतिलाई बिर्संदै छन् । आधुनिक बन्ने धुनमा आफ्नो पुरातन संस्कृतिलाई लत्याउँदै विदेशीको नक्कल गरी आफ्नो पहिचानसमेत गुमाउँदै छन् । संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो परिचय दिनुपर्दा आफ्नो जन्मभूमि नेपालको नाम लिनै पर्छ । आफूलाई नेपाली नै भन्नुपर्छ अनि आफ्नो देशको पहिचान सुहाउँदो कुरा गर्नै पर्ने हुन्छ ।

यो शाश्वत सत्यलाई कुनै पनि नेपालीले नकार्न सक्दैननेपाल देवभूमि हो, पुण्यभूमि हो अनि ऋषिमुनिहरुको देश पनि हो भनी हामी गर्व गर्छौं । व्यवहारमा भने ठीक त्यसको विपरीत क्रियाकलाप गरेर आफ्नो पहिचान गुमाउँदै छौं । हामीले हाम्रो धर्म, संस्कार र संस्कृति अनुरुप जीवन निर्वाह गर्नुपर्छ भन्ने हेक्का सबैमा हुनुपर्छ ।

हाम्रो संस्कार अनुशासन, नैतिकता र चरित्रमा टिकेको छ । तर समयान्तरमा आएर आजका युवाहरुले विदेशीको नक्कल गरी जथाभावी क्रियाकलाप गर्दै आफ्नो धर्म, संस्कार विपरीत अनेकौं विकृति र अनैतिक कार्य गरेर मस्तीमा जीवन बिताउँदै छन् । अझ भन्नुपर्दा, फ्रिडम अर्थात् स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही गरी हिँड्छन् । यो सरासर गलत हो । यो हाम्रो संस्कार होइन ।

हो, युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायतका विदेशी युवायुवतीहरुको रहनसहनमा सयौंजनासँग सम्बन्ध गाँस्न सकिन्छ । यो उनीहरुको संस्कार बनेको छ, जहाँ लाज–सरम भन्ने नै हुँदैन । लँगौटीजस्तो पेन्टी र ब्रा मात्र लगाएर त्यहाँका युवतीहरु समुद्रतटमा घाम तापिरहेका हुन्छन् । सयौंजनासँग सम्बन्ध गाँस्न पनि सक्छन् । यो संस्कार उनीहरुका लागि उचित नै हुन सक्ला भनेर शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ । तर हाम्रो देश नेपाल र छिमेकी मित्र राष्ट्र भारतमा भने यस्ता कार्य गर्न नैतिकताले नै दिँदैन अनि संस्कारले पनि दिँदैन र शास्त्रसम्मत पनि छैन ।

हाम्रो संस्कार भन्नु नै वैदिक संस्कार हो, जुन सत्य, धर्म, अनुशासन र नैतिकतामा केन्द्रित रहेको हुन्छ । आफ्नो जन्म दिने, हुर्काउने र ज्ञान सिकाउने मातापितालाई देवता मान्ने हाम्रो संस्कार हो । हाम्रो पारिवारिक जीवन पनि परिवारका सबै सदस्य एकाघरमा बसेर एक–आपसमा माया, ममता, स्नेह र सहयोगी भई रमाइलो वातावरणमा बाँचेका हुन्छौं ।

तर त्यसको विपरीत विदेशीहरुको जनजीवनमा भने उनीहरु एकै स्थानमा संयुक्त परिवारको रुपमा बस्न सक्दैनन् । व्यक्तिगत स्वतन्त्रताका लागि अलग–अलग बसेका हुन्छन् । यतिसम्म हुन्छ कि छोरा–बुहारी, नातिनातिना भइसकेका वृद्ध एक्लै सिंगो घरमा सरसफाइ गर्दैै गरेको पनि देखियो । ती वृद्धका परिवार कोही कता, कोही कता, जो वर्षमा एकपटक पनि भेट्न सक्दैनन् । यस्तो छ विदेशीहरुको पारिवारिक जीवनशैली ।

अर्को कुरा, हाम्रो देशका युवाहरुले उच्च शिक्षा हासिल गरेर आफूलाई आधुनिकतामा ढाली अंग्रेजी भाषामा बोलचाल गर्दै आफूलाई अरुभन्दा उच्च भएको ठान्छन् । यो बिलकुल गलत हो । हो, भाषा सिक्नुपर्छ, जान्नुपर्छ । सकिन्छ भने चाइनिज, जापानिज र फ्रेन्च भाषा पनि सिक्नुपर्छ, धेरै राम्रो हो । तर भाषा जान्यो भन्दैमा भेषभूषा पनि त्यस्तै पहिरिएर अरुको नक्कल गर्नुचाहिँ राम्रो हुँदैन ।

कहिलेकाहीँ नेपाली टेलिभिजनमा एकजना नेपाली युवतीले नेपाली युवकसँग अन्तर्वार्ता लिइरहेको देखिन्छ, त्यो पनि अंग्रेजी भाषामा । मलाई उदेक लाग्छ । एक नेपालीले अर्को नेपालीसँग अंग्रेजीमा वार्तालाप गरेर त्यो पनि टिभीमा कसलाई सुनाउन, नेपालीलाई कि विदेशीलाई ? अन्तर्वार्ता लिने युवतीको बसाइ पनि कस्तो अप्ठ्यारो किसिमले खुट्टा बटारेर बस्नुपर्ने, सजिलोसँग बस्नै नमिल्ने । त्यस्तो लुगा लगाएर फेसनको नाममा अर्धनग्न हुनै पर्ने हो र ?

जहाँसम्म भाषाको कुरा छ, एकजना चाइनिज वरिष्ठ व्यक्तिसँग अन्तर्वार्ता लिँदा वा उसले भाषण गर्दा आफ्नै चाइनिज भाषामा गर्छ, किन ? उसलाई अंग्रजी भाषा नआएर हो र ? पक्कै पनि होइन । तर उसले दोभाषे राखेको हुन्छ र त्यही अनुसार उसले प्रश्नको जवाफ दिइरहेको हुन्छ । त्यस्तै कोरियन, जापानिज, रसियन, फ्रेन्चहरुले पनि आफ्नै भाषामा भाषण गर्छन् र अन्तर्वार्तामा पनि आफ्नै भाषा प्रयोग गर्छन् तर अंग्रेजी भाषा बोल्दैनन्, किन ? यो नै उनीहरुको राष्ट्रियता हो र राष्ट्रिय भावनाको द्योतक हो । के हामीले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषामा बोल्न सक्दैनौं ? दोभाषे राखेर भए पनि ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कतिपय अन्तर्राष्ट्रिय मञ्चमा हिन्दी भाषामै भाषण गरेको हामीले देखेका छैनौं र ?

जहाँसम्म राष्ट्रियताको प्रश्न छ, हाम्रो दैनिक जनजीवनमा समेत हामीले व्यवहारमा ल्याउन सक्नुपर्छ । एकपटक केही वर्षअगाडिको घटना हो । म मेरो साथीको पसल ठमेलमा कुराकानी गर्दै थिएँ । त्यति बेला एकजना जापानिज महिला आइन् र एउटा सामान किन्न खोजिन् । मेरो साथी पसलेले यो सस्तो छ भनेर देखाए तर उनले अर्को देऊ भनी मागिन्, जुन महँगो छ, सामान उही हो तर जापानमा बनेको हो । अनि हामीले त्यही सामान हो तर महँगो किन किन्न खोजेको भनी सोध्दा उनले भनिन्, ‘यहाँ मैले किनेको सामानको पैसा मेरो देशमा पुग्छ, त्यसैले मैले यही सामान किन्न खोजेकी हुँ ।’ लौ हेर्नुस् उनको राष्ट्रियताको भावना । अनि हाम्रो व्यवहारलाई हेरौं त ! के भन्छौं हामी, ‘स्वदेशी सामान राम्रो हुँदैन, विदेशी भनेको विदेशी नै हो, त्यसैले विदेशी सामान नै प्रयोग गर्नुपर्छ ।’ अनि कसरी होस् त हाम्रो देशको विकास अनि हाम्रो उद्योगको प्रगति ?

यस्तै भावनाले ओतप्रोत भएर नै हामीले पनि व्यवहारमा उतार्न सक्यौं भने मात्र हाम्रो देशको विकास र राष्ट्रियताको भावनाको विकास गर्न सक्नेछौं । तर हाल विभिन्न क्षेत्रमा देखा परेको नेपालको मौलिकपनलाई त्याग्दै विदेशीको नक्कल गरेको देखिन्छ । चाहे त्यो पहिरनमा होस् वा नाचगानामा होस् अनि व्यवहारमा किन नहोस्, विदेशीकै नक्कल गरिएको देखिन्छ । हामीले कुनै पनि देशको संगीत सुन्यौं भने हामी के भन्छौं ? ए यो त जापानिज संगीत हो अनि यो चाइनिज, रसियन संगीत हो भन्छौं । किन ? किनभने त्यो संगीतमा त्यही देशको मौलिकता हुन्छ, त्यसैले अलग छुटिन्छ ।

त्यस्तै हाम्रो देश नेपालको संगीत पनि विश्वमा कुनै पनि व्यक्तिले सुन्दा यो त नेपालको संगीत हो भन्ने पहिचान बनोस् न ! तर कतिपय आजका युवाहरुको संगीत सुन्दा खिचडी संगीतजस्तो लाग्छ । जहाँ न कतै नेपालीपन हुन्छ न त मौलिकता, पूर्वीय र पश्चिमा धुनको खिचडी संगीतजस्तो लाग्छ । यस्तै खिचडीपनले कतै हामीले दिन–प्रतिदिन आफ्नो पहिचान गुमाउँदै त छैनौं ? अनि भोलि गएर तिम्रो देशको साहित्य, संगीत र कला के हो भनेर विदेशीले सोध्दा कतै हामी निरुत्तर हुनुपर्ने अवस्था नआओस् । त्यसैले म भन्छु– विदेशीहरुको अन्धाधुन्ध नक्कल गर्न छोडेर आफ्नै संस्कार र संस्कृति अनुरुप अघि बढ्न सक्नु नै हाम्रो महानता हुनेछ । आफ्नो पहिचान विश्वमा यथार्थरुपमा दिन सके मात्र हाम्रो गौरव बढ्नेछ ।