झरीपछिको इन्द्रेणी बनाउँदै पाँडे


लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलमा अभिनय र निर्देशन गरेर लोकप्रियता कमाएका हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) अब निर्देशक बनेका छन्। उनले हालै ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेब्यु निर्देशकीय फिल्म झरीपछिको इन्द्रेणीको शुभमुहूर्त गरेका छन्।

पछिल्लो समय सक्किगोनिमा अभिनय र निर्देशन गर्दै आएका उनले फिल्ममा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी) लाई मात्र समावेश गरेका छन्। अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने घिमिरेले बताए। यही फिल्मबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमब्याक गर्दैछन्।

शुभमुहूर्तसँगै छायांकन शुरू गरिएको फिल्ममा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारले अभिनय गर्नेछन्। पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ४५ दिनको रखिएको छ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा सुशील कडरियाले निर्माण गर्ने फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ। रास्वपा नेता गणेश कार्कीको गीत रचना रहने फिल्मको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ।