काठमाडौं ।
अनेरास्ववियु क्रान्तिकारीले त्रिविका रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्रा.डा केदार रिजालको कार्यकक्षमा तोडफोड गरेपछि अशान्त बनेको त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको कार्यालय मंगलवार प्रहरीको सुरक्षा घेराभित्र छ । आफूहरू असुरक्षित भएकोे महसुस गर्दै तीनै पदाधिकारीले सुरक्षाका लागि अंगरक्षक मागेका छन् ।
त्रिवि उपकुलपति कार्यालयका प्रमुख गणेश आचार्यले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नुभएको हो । पत्रमा त्रिविको सुरक्षा मागसमेत गरिएको छ । यसअघि उपकुलपतिलाई मात्र अंगरक्षकको व्यवस्था थियो । विद्यार्थीले दुई पदाधिकारीको कार्यकक्ष तोडफोड गरेपछि तीनैजना पदाधिकारीका लागि अंगरक्षक माग गरेको हो । उपकुलपति अर्यालले आफूलाई तत्काल अंगरक्षकको आवश्यकता नभएको भन्दै फिर्ता पठाउनुभएको थियो । पछि असुरक्षित महसुस गरी मंगलवार सीडीयो कार्यालयमार्फत तीनैजना पदाधिकारीलाई अंगरक्षक मागिएको हो ।
नयाँ थप गरिएका चारवटा विभागमा अध्ययनरत विद्यार्थीको शुल्क घटाउनुपर्ने माग गर्दै अनेरास्ववियु (क्रान्तिकारी) ले उपकुलपतिको कार्यकक्ष बन्द गराएर बाहिर रिले अनशन बसेका थिए । क्रान्तिकारी विद्यार्थीेले सोमबार रेक्टर र रजिस्टारको कार्यकक्ष तोडफोड गरेका थिए । त्यसको भोलिपल्ट हिजो त्रिविभित्र त्रास बढेको भन्दै तीनैजना पदाधिकारी प्रवेश गरेका छैनन् । तीनैजना पदाधिकारीको कार्र्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले तीन पदाधिकारीको मूल गेटमा सुरक्षा दिएको छ । अर्थात् प्रहरीको घेराभित्र उपकुलपति, रेक्टर र रजिस्टार कार्यालय छ । प्रहरीको बाक्लो उपस्थिति भएपछि हिजो त्रिवि पदाधिकारीको कार्यालय शान्त थियो ।
स्रोतका अनुसार त्रिविले कुलपति एवं प्रधानमन्त्री केपीशर्मा ओली, गृहमन्त्री रमेश लेखक र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई समेत घटनाको बारेमा जानकारी गराएको थियो । त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको छ ।
गएको असोज १ गतेबाट अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैंगिक अध्ययन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति कार्यकक्ष अगाडि ढोकामा धर्ना दिएको थियो । धर्ना भएदेखि उपकुलपति अर्याल कार्यालय प्रवेश गर्न पाउनुभएको छैन ।
उता, त्रिविभित्र देखिएको समस्या समाधान गर्ने विषयमा रजिस्टार रिजालले सोमबार दिउँसो स्ववियुका पदाधिकारीसँग छलफल गरिरहनुभएको थियो । केन्द्रीकृत प्रवेश परीक्षा प्रणालीका कारण न्यून विद्यार्थी संख्या भएको वागवानी संकायको प्रवेश परीक्षा विकेन्द्रीकरण गर्न र त्रिभुवन केन्द्रीय क्याम्पसभित्र रहेका सडक मार्गमा जोखिमपूर्ण रहेका रूखहरू काटछाँट गर्न माग गर्दै स्ववियु त्रिभुवन केन्द्रीय क्याम्पस र स्ववियु महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका प्रतिनिधिहरू संयुक्त रूपमा त्रिवि रजिस्टार रिजाललाई ध्यानाकर्षण गराएको थियो । सोही समयमा अनेरास्ववियु क्रान्तिकारीले वार्ता गर्नुपर्ने विषय उठाउँदै रजिस्टारको कार्यालय तोडफोड गरेका थिए ।
उता, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीको संयोजकत्वमा गठित कार्यदलले हिजो मंगलवार पनि वार्ता गर्ने प्रयास जारी राखेको जनाएको छ । कार्यदलका संयोजक एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले वार्ता प्रयास जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी वार्ता गर्ने तयारीमा छौं, समस्या समाधान गरी शान्तिपूर्ण रूपमा पदाधिकारीले काम गर्ने वातावरण तयार गरिरहेका छौैं ।’











प्रतिक्रिया