–गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल
–तीन जना पक्राउ
–घटना २४ घण्टासम्म गुपचुप हुनु रहस्यमय
–संलग्न अन्य व्यक्ति खोज्दै प्रहरी
–दुई घाइते बल्ल आए सम्पर्कमा
भक्तपुर।
राजधानी काठमाडौंसँगै जोडिएको भक्तपुरको व्यस्त शहरमा एक हिंस्रक जत्थाले केही युवामाथि क्रूर आक्रमण गरी गम्भीर घाइते बनाएको भए पनि प्रहरीले तीन दिनसम्म सुइँको नै पाएन । यसले भक्तपुर प्रहरीको सुरक्षा व्यवस्थाप्रति गम्भीर चुनौती थपिदिएको छ ।
गाईजात्राका दिन आइतबार राति भक्तपुर नगरपालिका तौमढी न्यातपोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ । झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको २४ घण्टापछि मात्रै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उक्त भिडिओ बाहिरिएसँगै यसप्रति ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले बताउनुभयो । झडपको भिडिओबारे प्रहरीको ध्यानाकर्षण भएको बताउँदै उहाँले घटनामा संलग्नहरूको खोजी गरिरहेको र तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने वर्ष २२ को महेश तामाङ, भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने वर्ष ३४ को अमन देउला र भक्तपुर नगरपालिका–५ साकोठा बस्ने वर्ष ३४ को राज कपाली रहेका छन् । सूचना अधिकारी न्यौपानेले कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताउनुभयो ।
तीन दिनसम्म घटनाको सम्बन्धमा कुनै उजुरी नआएको, घाइतेसमेत फेला नपरेको र प्रहरीले खोजी गरेपछि मंगलवार अपराह्नमात्र दुई जना घाइते सम्पर्कमा आएको परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले बताउनुभयो । घटनामा पीडकजस्तै पीडितलाई पनि खोज्न प्रहरीलाई कठिन भएको प्रहरीको भनाइ छ ।
झडपका क्रममा घाइते हुनेमा भनपा–५ का २४ वर्षीय सुशन बादिकार र भनपा–३ वंशगोपालका २९ वर्षीय सागर वज्राचार्य रहेको र उनीहरू घरमै स्वास्थ्यलाभ गरिरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । सामाजिक सञ्जालमा भिडियो हेर्दा दोहोरो झगडाजस्तो देखिन्छ तर घटना नशाको सुरमा भएर पछि गुपचुप भएको प्रहरीको बुझाइ छ । युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन ।
भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार गरेको देखिन्छ । जात्रा मनाउने क्रममा नाचका लागि सहभागीले लाठी बोक्ने गर्दछन् । धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लट्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ ।
भिडियो हेर्दा उक्त घटनामा संलग्न केही घाइते भएको देखिन्छ । प्रहरीले यत्रो घटना सहरको चोकबीचमा हुँदा पनि बेलैमा थाहा नपाउनु या सार्वजनिक नहुनु र प्रहरीमा घाइते पक्ष या कतैबाट उजुरी नपर्नु तथा घटना दुई दिनसम्म गुपचुपजस्तै हुनु रहस्यमय भएको छ । सामाजिक सञ्जालमा घटना थाहा नपाउनु प्रहरीको कमजोरी भन्दै प्रहरीप्रति गुनासो गरिएको देखिन्छ भने घटनालाई आन्तरिक मिलेमतोमै साम्य पार्न खोजिएको हो कि भन्ने प्रहरीको प्रारम्भिक बुझाइ रहेको छ ।
प्रहरीले भक्तपुर नगरपालिका–५ टौमढीमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा भइरहेको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि कुटपिटमा संलग्नको विवरण मंगलवार एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया