सरसर्ती हेर्दा यतिखेर देश नाजुक अवस्थामा छ । करिब ३५–३६ वर्षभन्दा बढी समय नेपाल बनाउन जनताले प्रमुख दलहरुलाई मत दिएर पठाए । तर यिनीहरुले राज्य दोहन, भ्रष्टाचार, बेथिति, कुशासन, अनियमितताबाहेक देश र जनतालाई के दिए त ? यो गम्भीर प्रश्न हो । उनीहरुकै कारण राष्ट्र असफल अवस्थामा पुगेको छ । र, यही अवस्थाले गर्दा देश ग्रे लिस्टमा परेको सर्वविदित नै छ । राजनीति गर्ने नाममा प्रमुख दलका नेताहरुले सोझासाझा जनतालाई झोला बोकाए । हरेक किसिमको प्रलोभनमा फसाए । रोजगारी दिन्छु भने, दिएनन् । भएका कलकारखाना बेचेर देशका होनाहार युवालाई विदेशिन बाध्य पारे । चुनावी गफमा भुल्ने हामी जनता पनि उस्तो । नेताहरुको सस्ता नारा र गफमा भुल्ने हामी पनि उस्तै मूर्ख हौँ ।
यसरी हेर्दा जनता जस्तो छन् उस्तै नेता पाउँछौँ । हामी अनुसार नेता पाएका हौँ भनेर विश्लेषण गर्न सकिन्छ । जनताले गतिलो नेता पाउनका लागि जनता पहिला आफैँ गतिलो बन्न आवश्यक छ । यो देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुशासनले गर्दा देश बर्बादीमा रहेको छ । सामन्तवादी नेताहरुको निकृष्ट सोच र व्यवहारले गर्दा देश यस्तो बरबादीमा गइरहेको हो । अब थप बरबादीमा जान नदिन सबै देशप्रेमी जनता सजग हुन अति जरुरी भइसकेको छ ।
त्यसो त जनतालाई वर्तमान अवस्थाप्रति चित्त बुझेको छैन । जनता भनेको हामी नै हौँ । अहिलेको अवस्था सृजित हुनुमा हामी जनता पनि दोषी छौँ । जबकि उदाहरणका लागि हामी आधा केजी गोलभेँडा किन्दा कुहिएको पर्ला कि भनेर छान्छौँ, आधा केजी मासु किन्दा बोसो नपरोस्, घाँटी नपरोस्, हड्डी नपरोस् भनेर कति छानी–छानी किन्छौँ भने यो देश चलाउने, कानुन बनाउने, समाजको विकास गर्ने प्रतिनिधि छान्दा के कसरी छान्छौँ, यो कुरा सबैलाई सर्वविदित नै छ ।
त्यसैले हामी जनताले पनि मत दिँदा, पार्टीमा लाग्दा पहिला सानो–ठूलो जुनसुकै होस्, राम्रो पार्टी, राम्रो मान्छे छान्नुपर्छ भन्ने मेरो स्पष्ट भिजन (दृष्टिकोण) हो ।
यी भइरहेका पार्टी र नेताहरुले देश बनाउँथे भने हामी किन राजनीतिमा आउँथ्यौँ, किन नयाँ पार्टी खोल्थ्यौँ ? राष्ट्रिय मातृभूमि पार्टी नयाँ भए पनि स्पष्ट भिजन छ । यी भ्रष्ट नेता र पार्टीहरुबाट यो देशमा निकास नआउने निश्चितजस्तो देखेर हामी देशप्रेमी, सुशासनप्रेमीहरुको एक जमात राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारा लिएर राष्ट्रिय मातृभूमि पार्टी खोलेका हौँ । हाम्रो पार्टी दर्ता भएको करिब डेढ वर्षजति भयो । यसबीचमा पनि हाम्रो पार्टीप्रति जनलहर छ, जनआकर्षण छ । यो पार्टीको उदय हुनुको कारण राज्यको गरिमा बढाउन, देशमा सुव्यवस्था कायम गरी देशलाई उत्तोरत्तर प्रगतिपथमा अगाडि बढाउन र नगरिकको समस्याको दिगो समाधानका लागि हो । देशभक्त र इमानदारहरुको नयाँ राजनीतिक शक्तिको रुपमा हामी स्थापित भएका छौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा, पुराना दलहरुको खिलाप उदय भएको सन्देश दिने अनि यी पुरानै भ्रष्ट राजनीतिक दलका नेताहरुसँग काँधमा काँध मिलाएर सरकारमा जाने ! अनि कसरी भयो त रास्वपा नयाँ पार्टी ? सत्यको बाटोमा हिँड्न कुनै भीडको आवश्यकता पर्दैन । हामी वा हाम्रो पार्टी सत्यको बाटोमा छ । यति कुरा सबैले बुझ्नुपर्छ ।
हाम्रो पार्टीको भिजन (दृष्ट्रिकोण) को कुरा गर्दा प्रदेश संरचना खारेज गर्दै नागरिकको काम र समस्याको समाधान गर्न सक्ने गरी स्थानीय तहको पुनर्संरचनासहित थप अधिकार सम्पन्न र सुदृढ बनाउने रहेको छ ।
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनेछ । राष्ट्रपतिको हकमा राजनीति, समाजसेवा र ज्ञान–विज्ञानमार्फत देश र नागरिकको सर्वोत्तम हित एवं कल्याणमा समर्पित मूर्धन्य व्यक्तित्वमध्येबाट विधायिकाको बहुमतले संवैधानिक आलंकारिक राष्ट्रपति चयन गरिनेछ ।
यस्तै हाम्रो पार्टीबाट जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनेछ । राष्ट्रपतिको हकमा राजनीति, समाजसेवा र ज्ञान–विज्ञानमार्फत देश र नागरिकको सर्वोत्तम हित एवं कल्याणमा समर्पित मूर्धन्य व्यक्तित्वमध्येबाट विधायिकाको बहुमतले संवैधानिक आलंकारिक राष्ट्रपति चयन गरिनेछ । मत नदिने अधिकार प्रकट गर्न सक्ने मतदाताले कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने प्रकट गर्न सक्ने कानुनी व्यवस्था गरिनेछ । त्यसै गरी प्रत्यक्ष निर्वाचित वडा अध्यक्षदेखि प्रधानमन्त्री र स्वतन्त्रसम्मले आफ्नो पदीय जिम्मेवारी पालनामा लापरवाही गरेमा जनताले प्रकट गरेको मत फिर्ता गर्ने कानुनी व्यवस्था गरिनेछ । उपराष्ट्रपतिको हकमा राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति रहने व्यवस्था गरिनेछ । विधायिका मौलिक र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा भूगोल र जनसंख्यालाई दृष्टिगत गरी सबै नेपालीको उचित प्रतिनिधित्व हुने गरी हरेक जिल्लाबाट न्यूनतम एकजना विधायक रहने व्यवस्था हाम्रो पार्टीबाट हुनेछ । विधायकहरु मन्त्री हुन नपाउने, मन्त्री हुनै पर्ने भए राजीनामा दिनुपर्ने र मन्त्रीहरु विज्ञबाट प्रधानमन्त्रीले छनौट गर्ने व्यवस्था राखिनेछ ।
सरकार भनेको देश र जनताको विकासको लागि आफ्नो स्पष्ट भिजन (दृष्टिकोण) बनाएर जानुपर्ने हो । हालका प्रधानमन्त्रीदेखि मन्त्री भनाउँदाहरु देश विकास गर्छु भनेर आए तर नेताहरुमा न भिजन छ, न इच्छाशक्ति छ, न विकास गर्ने तौरतरिकाको ज्ञान छ । हचुवाको भरमा चलिहरका छन्, जनतालाई ढाँट्न खप्पिस छन् । यिनीहरुको ध्यान दशौं पुस्तालाई पुग्ने धनसम्पत्ति थुपार्ने र भ्रष्टाचार गर्नेतर्फ मात्र देखिन्छ । र, कुशासनमा मात्र यिनीहरुको ध्यान छ । यिनीहरुले भ्रष्टाचार गरेका काण्डै काण्डको बेलिबिस्तार गरेर साध्य छैन । अनि यस्तो अवस्थामा जनतालाई वर्तमान सरकारप्रति चित्त बुझ्ला त ?
महँगी नियन्त्रण गर्नका लागि भन्सार नाकाहरुमा अनियमितताको कडिकडाउ गर्नुपर्ने हो । प्रत्येक पसलहरुमा नियमित अनुगमन गर्नुपर्ने हो । तर यिनीहरुले अनुगमनको त परै जाओस्, राज्यको तर्फबाट महँगी नियन्त्रण गर्नेतर्फ कुनै ध्यान दिएको समेत पाइँदैन । विकसित देशहरुमा धनी, महाजनहरु, उद्योगपतिहरुसँग कर जुटाएर, लिएर सरकारले गरिबहरुलाई हातमुख जोड्ने र भात खुवाउने गर्छ । तर नेपालमा उल्टो छ, यहाँ गरिबलाई शोषण गरेर कर लिने गरेका छन् । अनि करबाट उठेको बजेटबाट पनि भ्रष्टाचार गर्छन् । कमिसन खान्छन् । यो कस्तो विडम्बना ? विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु भए, क्रान्ति भए तर देश र जनताले के पाए त ? राजनीतिक व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था कति पनि परिवर्तन भएन, झन् विकराल स्थिति बढ्दै गएको छ ।
यतिखेर जनताको जनजीविका झन् कष्टकर बन्दै गएको छ । महँगीले आकाश छोएको छ । भ्रष्टाचार, बेथिति, कुशासनले प्रश्रय पाइरहेको छ । बिचौलियाको रजगज छ, हालिमुहाली छ । दण्डहीनताले चरम सीमा नाघेको छ । अब यसको निकास भनेको सुशासनबाहेक अरु कुनै तौरतरिकाबाट सम्भव छैन । हाम्रै देशको नजिक छिमेकी राष्ट्र सिंगापुरको कुरा गरौं, सिंगापुर बनाउने ली कु आन युले सबैभन्दा पहिलो प्राथमिकता सुशासनलाई दिएका थिए । हाम्रो देशमा पनि सुशासनलाई पहिलो प्राथमिकता नदिएसम्म देश विकास सम्भव छैन । देशमा निकास पनि हुँदैन ।
(लेखक गुरुङ राष्ट्रिय मातृभूमि पार्टीका केन्द्रीय सचिव हुनुहुन्छ ।)











प्रतिक्रिया