नेपाली राजनीतिको बजार एमाले पार्टीको लफडाले तातेको छ । त्याग र समर्पणका पर्यायका रूपमा चिनिनुपर्ने एमाले कम्युनिस्टहरू पद र सत्तालोलुपतामा चुर्लुम्मै डुब्नाले यो अवस्था आएको हो । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमा दुई कार्यकालको पार्टी अध्यक्षको कार्यभार सम्हालेर पनि पुनः अध्यक्षकै पदमा टाँसिइरहने मानसिकता हाबी भएको छ । अरु कसैलाई पनि ढिम्किन नदिने रणनीति बनाएका हुनाले उनकै धेरै कार्यकर्ता र केन्द्रीय सदस्यहरूमा समेत निकै असन्तुष्टि बढेको छ । यतिसम्म कि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउने सबै सुविधा त्यागेर सक्रिय राजनीतिमा फर्केको घोषणा गर्दै विपक्षमा उभिँदै गर्दा प्रधानमन्त्री ओलीका लागि टाउको दुखाइको विषय बनेको छ । यही असन्तुष्टिका कारणले गर्दा प्रधानमन्त्री ओलीको पक्षमा भन्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा बढी जनसमर्थन बढ्दै गएको छ । विद्याको पक्षमा जति धेरै समर्थन बढ्दै जान्छ, त्यति नै ओली पक्षको टाउको दुखाइको विषय बढ्दै जान्छ ।
एमालेभित्रको यो लफडा यथार्थ हो वा केवल आम नेपाली जनतालाई झुक्याएर ‘माछो–माछो भ्यागुतो’ बनाउने खेलमात्र हो भन्ने कुरा थाहा नभएर आम विश्लेषकसमेत अलमलमा परेको अवस्था विद्यमान छ । नेकपा एमाले पार्टीभित्रै बाट विद्या पुनः सक्रिय राजनीतिमा फर्कन लागेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले रोक्न खोजेको कुरा बाहिर आएको थियो । पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन भइसकेकी विद्याले सक्रिय राजनीतिमा फर्कँदा उनको साख घट्ने कुरा बताएर पनि प्रधानमन्त्री ओली विद्यालाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने प्रयासमा लागेका देखिन्छन् । यी क्रियाकलाप आफैँमा यथार्थ हो कि होइन भनेर भित्री मर्म बुझ्न सकिएको अवस्था छैन । नाटक कहाँनेर देखिन्छ भने, वर्तमान अवस्थामा भालुको कम्पटरुपी सत्ताको बागडोर सम्हालेका प्रम केपी ओली सत्ता छोडुन् भने जेल जान तयार हुनुपर्छ, सत्ता नछोडुन् भने चौतर्फी विरोधका कारण सत्ता टिकाउन नै गाह्रो परिसकेको अवस्था छ । त्यसैले प्रम ओली र पूर्वराष्ट्रपति विद्याका बीच एक प्रकारको नाटक मञ्चन भई पुनः जनतालाई केही भए पनि गुमराहमा राख्ने षड्यन्त्र हो कि भनेर पनि शड्का गर्ने ठाउँ रहेको छ । दोस्रो विषय के भने, प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी ओलीसँग सत्ता सञ्चालनको कुनै तौरतरिका नभई चलाउन खोजेका कारण सर्वत्र बिग्रँदै र भत्कँदै अनि थाम्न गाह्रो पर्दै गएको छ । सोही अनुसार विद्यासँग पनि सत्ता सञ्चालनको कुनै तौरतरिकाबेगरकै फोस्रा गफभन्दा अरु केही हुँदैनन् ।
वर्तमान अवस्थामा देशले खोजेको शासकको कुरा गर्ने हो भने निःस्वार्थ भावले देश र जनताको सेवा गर्ने कुशल शासकको अपेक्षा गरिएको छ । भोलिका दिनमा विद्याले सत्तारोहण गरेर सम्मानित राष्ट्रपतिको स्थानमा ओलीलाई उभ्याउने भन्ने खालको गोप्य सहमति भएको पनि हुन सक्छ । यदि यस्तो सहमति भएको रहेछ भने कैयौँ वर्षसम्म ओली शैलीकै शासन कायम रहन्छ । आखिर जे सहमति, विमति भएको भए तापनि नेपालको शासन सञ्चालनमा अपेक्षित मात्रामा सुधार आउनको लागि अझै निकै वर्षहरू बिताएर मात्र हुन सक्छ कि भन्ने झीनो आशा राख्न सकिन्छ ।
विद्या भण्डारी सक्रिय राजनीतिमा आउँदै गर्दाको क्षण यदि उनी सक्रिय राजनीतिमा आएर जनअपेक्षित केही काम गर्न सकिन् भने त उनको सम्मान पूर्वराष्ट्रपतिको सम्मानको तुलनामा अधिक हुन्छ ।
हालका राजनीतिक संरक्षणमा भएका अनेक बेथितिलाई पूर्वराष्ट्रपति विद्याले एउटै सूत्रमा उनी निमिट्यान्न पार्न सफल भएको खण्डमा उनको गरिमा अझ बढेर जानेछ । होइन भने उनी पनि केपी ओलीकै ड्याङमा मिसिने मात्र हुन् । उनी सत्ताको बागडोर सम्हाल्नै पुगे पनि तिनै ओली–देउवा प्रवृत्तिको शैलीमा चलाएको शासनले आम जनताको चित्त बुझाउन पर्याप्त ऊर्जा दिनेछैन ।
हालका राजनीतिक संरक्षणमा भएका अनेक बेथितिलाई पूर्वराष्ट्रपति विद्याले एउटै सूत्रमा उनी निमिट्यान्न पार्न सफल भएको खण्डमा उनको गरिमा अझ बढेर जानेछ । होइन भने उनी पनि केपी ओलीकै ड्याङमा मिसिने मात्र हुन् । उनी सत्ताको बागडोर सम्हाल्नै पुगे पनि तिनै ओली–देउवा प्रवृत्तिको शैलीमा चलाएको शासनले आम जनताको चित्त बुझाउन पर्याप्त ऊर्जा दिनेछैन । उनको शासन गराइ पनि ओली–देउवा मार्काको भन्दा खासै फरक तरिकाको हुनेछैन । लुटेर खान पल्केका ओलीका वा देउवाका कार्यकर्ताजस्तै विद्याका कार्यकर्ता पनि सोही मनोवृत्तिका हुनाले कुनै न कुनै च्यानल मिलाएर भए पनि नखाई सन्तुष्ट हुनेवाला छैनन् । ओलीले बोलेजस्तै, म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भनेर फोस्रो खोकाइले मात्र भ्रष्टाचार रोकिने वा न्यून हुने अवस्था बन्दैन । यसका लागि निर्मम भएर काममा उत्रनै पर्ने हुन्छ ।
हालको भ्रष्टाचारले जर्जर पारेको देशको नाजुक अवस्थाले गर्दा आम नेपाली नागरिकलाई वाक्क–दिक्क बनाएको छ । आम नेपाली युवावर्ग निराश र चिन्ताको आगोमा डुबेका छन् । कोही पनि नेताको राजनीतिको बारेमा चर्चा चल्दाको बखत फलानो नेताचाहिँ सत्तामा आए केही उन्नति हुन्थ्यो कि, भ्रष्टाचारीलाई सख्त कार्यवाही गरेर देशलाई भ्रष्टाचारमुक्त बनाउन सक्थे कि, अरुको हत्या–हिंसा गर्ने अपराधीहरुले उचित सजाय पाउने खालको वातावरण बन्थ्यो कि भन्ने सोच बोकेर सुशासन दिन सक्ने नेताको तीव्र प्रतीक्षामा छन् नेपाली जनता । तर फेरि पनि उही र उस्तै शासन चलाएर आम जनतालाई अझै अधिक निराशा थप्ने गरी शासन चल्न थाल्यो भने कोही नेता राजनीतिमा सक्रिय भएर आउँदा देशलाई के योगदान पुग्यो ? जनताले के पाए ? भन्नेजस्ता प्रश्न हामीमाझ उठ्न सक्छन् । यो एउटा जनता अलमल्याउने एकाङ्की नाटकमात्र हुनेछ । कोही व्यक्ति विशेषसँग बदला लिने उद्देश्यले सक्रिय राजनीतिमा आउनुको साटो जोगी बनेर हिँड्नु नै अधिक शोभादायी देखिन्छ ।
हुन त प्रधानमन्त्री केपी शर्मा ओली अरु बेला पनि उखान टुक्का सुनाउँदै र अरुलाई उपदेश दिँदै हिँड्ने गर्थे । उनले आफूलाई संसारका सबै विषयमा जानिफकार व्यक्तिका रूपमा ठानेर अरुलाई सराप्न अनि शत्रुको भावले औँल्याउन थालेका छन् । त्यति मात्र होइन कि अहिले आएर निकै दुःखद अभिव्यक्तिसमेत दिन थालेका छन् । आजभोलिका उनका अभिव्यक्ति सुन्ने जोसुकै पनि छक्क पर्न थालेका छन् । देशको सर्वोच्च तहको शासकले ‘फलानो–फलानो व्यक्ति वा संस्थाचाहिँ मेरा शत्रु बनेका छन्’ भनेर अभिव्यक्ति सार्वजनिक सभामा दिनु सुहाउँदो कुरा होइन ।
प्रम ओलीका लागि शत्रु बनेका मान्छेहरू देशका लागि कामयावी हुने महत्वपूर्ण व्यक्ति हुन सक्छन् । देशको सर्वोच्च शासक भनेको आम नागरिकको लागि अभिभावक ठहरिन्छ । अभिभावकले सकेसम्म आफ्ना नागरिकलाई सुरक्षित भएर बाँच्न र उन्नति गर्न पाउने खालको वातावरण तयार गराउन प्रयास गर्नुपर्नेमा बेकारका अभिव्यक्ति प्रकट गर्दै हिँड्नु बहुलठ्ठीपनाको पराकाष्ठाबाहेक केही होइन । प्रधानमन्त्रीजस्तो एउटा स्वतन्त्र अस्तित्व भएको सार्वभौमसत्ता सम्पन्न देशको शासकले त्यति झीना–मसिना विषयमा अल्झेर त्यति घृणित स्तरको अभिव्यक्ति पस्कनु आफैँमा मूर्खताको पराकाष्ठा हो । यस्ता अभिव्यक्तिले आम नागरिक शासकको बीचमा हुनुपर्ने सौहार्दताको वातावरणमा समेत खलल पु¥याउँछ । कैयौँ वर्षअगाडि हटिसकेको नेपालको राजतन्त्र हाम्रा प्रधानमन्त्रीका लागि कसरी शत्रु बन्न पुग्यो ? प्रधानमन्त्रीको हृदयमा सहिष्णुताको भावना एकथोपो पनि रहेनछ । उनले गरेका खराब कामको विरोध गर्नेजति सबै उनका नजरमा शत्रु ठहर्दा रहेछन् ? यस्ता केटौले मात्र होइन कि पँधेर्नी ग्रामीण, अपठित महिलाले दिन सुहाउने अभिव्यक्ति अनि सोही अभिव्यक्ति बमोजिमको साँघुरो सोचाइका भरमा चलाएको शासन कसरी सुशासन हुन सक्ला त ?
हाम्रा प्रधानमन्त्रीलाई आउँदो अधिवेशनमा नेकपा एमाले पार्टीको अध्यक्ष बन्नको लागि सत्तरी बर्से उमेर हदले पनि रोक्न सकेन । किनभने उनी स्वयं सत्तरी बर्से हद पार गर्दै भए पनि १४ वर्ष आफूले जेल जीवन बिताएकाले सत्तरी वर्षमा १४ वर्ष घटाउनुपर्ने र बाँकी वर्षले सत्तरी वर्ष नकटेको भन्ने अभिव्यक्ति सुन्दा अर्को आश्चर्यजनक कुरा सुन्न पाएको अनुभूत हुन्छ । उनी १४ वर्ष जेल जीवन बिताएका भए पनि देश र जनताका लागि जेलजीवन बिताएका होइन रहेछन् भन्ने कुरा बच्चाले समेत जान्ने कुरा हो । यदि देश र जनताका लागि जेलजीवन बिताएका हुन्थे भने उनको दिमागको सोचाइ, आम मान्छेलाई हेर्ने दृष्टिकोण निकै फराकिलो हुने थियो । दिमागको सोचाइ अलि फराकिलो भइदिएको भए आज उनका नजरमा चार शत्रु र अरु मित्रु भन्ने क्षुद्र सोचाइको छाया पनि देखिने थिएन । आफ्नै मातहतमा भएको, उसनकै सेवा र सुरक्षामा खट्ने सेना र प्रहरीको शक्ति उपभोग गर्न पाउने सम्पूर्ण अधिकार हातमा लिएर बसेको व्यक्ति त्यति झीना–मसिना विषयबाट डराउँछ भने त्यस्तो डरछेरुवा व्यक्ति कसरी शासक बन्न सक्छ ?
असल काम गरेर लोकप्रियता कमाउन नसक्ने अनि जनतामा बलजफत कुशासन लाद्न खोज्ने शासकका सफा आत्मा भएका सच्चा मित्र कोही पनि हुँदैनन् । जसलाई शासकले सच्चा मित्रको रुपमा हेरेको वा ठानेको हुन्छ, ती सबै अनुकूल समयको ताकलाई कुरेर बसेका स्वार्थी वा लम्पट मान्छेको भीडमात्र हो । समय अनुकूल आएपछि र आ–आफ्ना स्वार्थ पूर्ण भएपछि शासकलाई फगत एक्लो छोडेर जानेवाला हुन्छन् । हालको नेपाल अधिराज्यको शासनको भार सम्हालेर बसेका केपी ओलीको हालत पनि सोही अवस्थाबाट गुजे्रर गइरहेको छ । शासकले दैनिकजसो कुनै न कुनै नाटक मञ्चन नगरेको क्षण नै छैन । हाल पूर्वराष्ट्रपति विद्या भण्डारी अनि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिका नायक पात्र बनेर नाटक मञ्चन गरिरहेका छन् । सञ्चारमाध्यमले राम्रै विषयवस्तु फैलाउन अनि विश्लेषण गर्न थालेका छन् । तर यी कुनै पनि विषयवस्तु नेपाल देश अनि आम नेपाली जनतालाई सुख दिन, शान्ति स्थापनार्थ, देशको उन्नतिका लागि गरिएका वा भएका नाटक हुँदै होइनन् । बरु यसको उल्टो कुन षड्यन्त्र लगाएर कताबाट कसरी देश लुट्ने ? कुन घुमाउरो तरिका अपनाएर नेपाली जनतालाई दुःख दिने ? भन्ने नाटकको केवल तयारी अभ्यासबाहेक केही होइन । देश र जनताका लागि बनेको शासक कहिल्यै पनि तानाशाह बन्न सक्दैन, कहिल्यै अरुलाई निषेध गरेर आफैँमात्र शासन चलाऊँ भन्ने दिमागको हुनै सक्दैन । यी कुरालाई दक्षिण अफ्रिकाका महान् राजनेता नेल्सन मण्डेलाले प्रमाणित गरिसकेकै छन् ।











प्रतिक्रिया