मोहरको आक्रामक बक्स अफिस यात्रा


गत शुक्रबार रिलिजमा आएको फिल्म मोहरले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। पहिलो दिन शुक्रबार औसत ओपनिङ पाए पनि शनिबारदेखि दर्शकको भीड उल्लेखनीय रूपमा बढेको छ।

शनिबार बिहानका शोज औसत देखिए पनि मध्यान्हपछि हलमा दर्शकको लहर देखा प¥यो। काठमाडौं बाहिरका शहरमा समेत बेलुकीसम्मको शोमा उच्च चाप रह्यो। नेपालगञ्जका हलले हिन्दी फिल्मको शो घटाएर मोहरको शो थप्नुपरेको थियो। पोखरा, बुटवल र चितवनमा पनि फिल्मले सुखद कमाइ गरिरहेको छ।

काठमाडौंको अष्टनारायण हलमा दर्शकको भिडका बीच नायक पल शाहले उपस्थित दर्शकलाई धन्यवाद ज्ञापन गरे। नायिकाद्वय बेनिशा हमाल र नीति शाहले दर्शकको उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरू उत्साहित भएको बताए। आइतबार पनि फिल्मले राम्रो व्यापार कायम राखेको छ। काठमाडौं र बाहिरका हलमा दिनभरको अकुपेन्सी उच्च देखिएको छ। मोहर फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बनजंग शाहीले निर्माण गरेका हुन् भने निर्देशन ओम प्रतीकले गरेका छन्।