कार्टुनिस्ट क्लब अफ नेपालले कार्टुन विधामा लामो समयदेखि सक्रिय ५ जना श्रष्टालाई सम्मान गरेको छ।
कार्टुनिस्ट बलराम थापा (बराथा) को नाममा स्थापित सो सम्मान २०७७ सालदेखि ०८१ सम्म गरि ५ वर्षको एकै पटक प्रदान गरिएको हो। जसअन्र्तगत लोकप्रिय कार्टुनिस्ट अशोकमान सिंलाई २०७७, जीवन राजोपाध्यायलाई २०७८, रविन सायमीलाई २०७९, राजेश केसीलाई २०८० र अविन श्रेष्ठ लाई २०८१ का लागि बराथा स्मृति सम्मानबाट सम्मान गरियो। सोमवार ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रतिष्ठानका कुलपति नारणमणि हार्तम्छालीले सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा कुलपति हार्तम्छालीले क्लबको यस प्रकारको कार्यले कलाकारमा उर्जा थप्ने चर्चा गर्दै कार्टुन विधालाई प्रतिष्ठानले पनि कलाको एक उपविधाका रूपमा स्थान दि“दै कार्यक्रम गर्दै आएको बताए। सम्मानित वरिष्ठ कार्टुनिस्ट अशोकमान सिंहले आफ्नो ५० वर्षको कला यात्रामा यो सम्मान महत्वपूर्ण रहेको भन्दै कार्टुन विधाको उन्नयनका लागि अझ लागि पर्न उर्जा मिलेको बताए।
जीवन राजोपाध्यायले कार्टुन विधामा धेरै अघिदेखि लागि परेको तर बीचमा कलाको अन्य विधामा लागिरहे पनि क्लबको कार्यक्रमले भने सधैं कार्टुन विधासँग नजिक बनाउन मद्दत मिलेको बताए। अर्का कार्टुनिस्ट रविन सायमीले सम्मानले नयाँ उर्जा मिलेको बताए। अविन श्रेष्ठले आफ्नो कार्यकालबाट अग्रजलाई सम्मान गर्नुपर्छ भनेर शुरू गरिएको परम्पराको हिस्सा बन्न पाउँदा गौरव अनुभुति भएको बताए।
कार्यक्रममा छनौट समितिका सदस्य केशवराज खनालले १२ वर्षदेखि क्लबले सम्मान प्रदान गर्दै आएको जानकारी गराए। क्लबका अध्यक्ष बासु क्षितिजले अग्रजलाई सम्मान गर्दा आफू सम्मानित भएको अनुभव सुनाउँदै नेपाली कार्टुन विधालाई प्रत्यक्ष र परोक्ष रूपमा लामो समयदेखि योगदान दिएका अग्रजको सम्मानले नयाँ पुस्तालाई अझ अघि बढ्न मार्गनिर्देश गर्ने बताए।











प्रतिक्रिया