काभ्रे, रयाले
छोरी किरियामा बस्नु हुँदैन भन्ने समाजको मान्यतालाई तोड्दै काभ्रे जिल्ला बनेपा नगरपालिका रयालेमा तीन जना छोरीहरुले बुबाको किरिया बसेका छन् ।
छोराले मात्र दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै समाजको चेतावनीका बाबजुद विमला सापकोटा, निर्मला सापकोटा र राधिका सापकोटाले दिवंगत बुबा हरिप्रसाद सापकोटाको किरिया बसेका हुन् ।
हरिप्रसादका साइली छोरी विमला बनेपा नगरपालिकाकी उपप्रमुख हुन्। काइली छोरी निर्मला शिक्षिका र कान्छी छोरी राधिका नेकपा एमाले धादिङकी सचिव हुन् । जेठी छोरी सुन्तली घिमिरे ‘सापकोटा’ र माइली छोरी कमला तिमल्सिना ‘सापकोटा’ शारिरीक अस्वस्थताका कारण किरिया बसेका छैनन् ।

दिवंगत हरिप्रसादको छोरा छैनन् । पाँच बहिनी छोरी मात्र छन् । सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजक्रिया बस्न नहुने भन्दै विरोध गरेका थिए । उनीहरूले छोरीहरू काजक्रियामा बसे बहिस्कारसम्मको धम्की दिएको हरिप्रसादका छोरीहरुले प्रतिक्रिया दिएका छन् । छोरीको पनि छोरासरह कर्तव्य हुने भएकाले किरियामा बसेको उनीहरुको भनाई छ ।
१९९३ साल असोज ३ गते रयालेमा जन्मिएका हरिप्रसादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको थियो । सामाजिक रुपमा रहेको कुसंस्कारलाई परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन पनि आफूहरुले नै दागवत्ती दिएको र किरिया बसेको राधिकाले प्रतिक्रिया दिएकी छन् ।
नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । छोरीले बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजक्रिया गर्न बराबर अधिकार राख्छिन् । तर, व्यवहारमा अझै पनि छोरीमाथि विभेद रोकिएको छैन । सानैमा आमा गुमाएका उनीहरूले विभेद र अन्यायविरुद्ध लड्न सिकाउने बुबाको काजक्रियामै अन्याय खेप्नुपरेपछि महिला आन्दोलनका नेतृत्व गरिरहेका उनीहरुले सामाजिक संजालमा आक्रोस समेत पोखेका छन् ।
आफूहरु किरियामा बस्दै गर्दा बहिस्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् । ‘महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? आफ्नो बुबाको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरू कसैको बंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौँ ।’ काभ्रे बनेपा नगरपालिकाकी उपमेयरसमेत रहेकी विमलाले आफ्नो सामाजिक संजालमा लेखेकी छन् ।
अर्की छोरी राधिकाले बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै लेखेकी छिन्–‘बुबा तपाईले सानैदेखि विभेद र अन्यायको विरूद्ध लड्न सिकाउनु भयो । कहिलै झुक्न दिनु भएन, आज यो समाज तपाईंको काजक्रियामा हामीलाई झुकाउने प्रयत्न गर्दैछ । याद गर हामी तिमीहरूले पटक पटक गरेको विभेद र अन्याय भोग्दाभोग्दा चट्टान बनिसकेका छौँ । हिजोजस्तो हरिप्रसादका कमजोर छोरीहरू छन् भन्ने नसम्झ ।’
हजारौं छोरीमाथि न्यायका लागि बहिस्कृत हुनसमेत तयार रहेर अघि बढेको उनीहरुको प्रतिक्रिया छ । ‘ख्याल गर, तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोक । हाल हामी बहिस्कार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजक्रिया गर्न देउ, पीडा नदेउ’ अधिवक्तासमेत रहेकी राधिकाले भनिन् ।
सानैमा आमा गुमाएकी छोरीलाई बुवाले आमाको माया र अभिभावकत्व दिँदै हुर्काएका थिए । छोरा नभएकै कारण हरिप्रसादले समाजको तिरस्कार भोग्नु परेको थियो । मृत्यु पश्चात पनि काजक्रियाको विषयलाई लिएर समाजले बहस चलाएकोप्रति परिवारजनले दुःख व्यक्त गरेका छन् ।

छोरीहरुको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।
सापकोटा दिदिबहिनीहरु किरियामा बसेको र उनीहरुलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदिबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौं पोष्टहरु शेयर भएका छन् ।











प्रतिक्रिया