काठमाडौँ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत नेपालमा थालिएको वृक्षारोपण कार्यले अन्तर्राष्ट्रिय जगतलाई नै सन्देश दिएको बताएका छन् ।
सोमबार तराई विकास तथा सञ्चार केन्द्रद्वारा पवित्र पशुपति क्षेत्रको भण्डारखालमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्य सचिव अर्यालले वृक्षारोपण जस्तो पवित्र कार्यले वातावरणीय र पर्यावरणीय सन्तुलन कायम गर्दै जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मुख्य सचिव अर्यालले यो अभियानमा सबै क्षेत्रका नागरिकहरु एकजुट भएर लाग्नुपर्ने र विश्वस्तरमा नै निरन्तर सन्देश फैलाउनुपर्ने आवश्यकता औँल्याए । ‘अब केक काटेर जन्मदिन मनाउनुभन्दा रुख रोपेर जन्म दिन मनाउन सक्यौ भने त्यही नै ठुलो सेवा हुनेछ, अब हामीसबैजना यो महान् अभियानमा समाहित हुनुपर्छ । ’मुख्य सचिव अर्यालले भने । मुख्य सचिव अर्यालले हामी नेपालीको यो अभियानले विश्वका सम्पूर्ण मानवजगत्लाई प्रेरणा दिन सक्ने बताए । उनले जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गतको वृक्षारोपण कार्यक्रमलाई विश्वव्यापीकरण बनाउनुपर्ने र त्यसका लागि नेपाल सरकारद्धारा अभियानलाई पुर्ण सहयोग गरिने प्रतिबद्धता जनाए । उनले सम्पूर्ण नेपालीलाई रुख रोपेर जन्मदिन मनाउन पनि आग्रह गरे ।

वृक्षारोपण कार्यक्रममा सरिक हुँदै अन्तर्राष्ट्रिय स्तरकी नेपाली वाचिका देवी प्रतिभाले जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गतको वृक्षारोपण कार्यले सम्पूर्ण मानव र विश्वजगत्को हित गर्ने भएकाले यसलाई अब विश्वव्यापी अभियानकै रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइन् । देवी प्रतिभाले जन्मदिनको अवसरमा वृक्षारोपण गर्ने नेपालको अभियानले विश्वस्तरमा राम्रो सन्देश दिनु सुखद भएको बताइन् । उनले जन्मदिनको अवसरमा सबैजनाले आ आफ्नो वरपर वृक्षारोपण गरी मानव सेवामा समर्पित हुन आग्रह गरिन् । सो वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु, सञ्चारकर्मी लगायत सयौको सहभागिता रहेको थियो ।
कार्यक्रममा सरिक भएका सबैजसोले वृक्षारोपण कार्यक्रम र यो अभियानले आफूहरूलाई उत्प्रेरणा जगाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

रौतहट सिन्दूरेघारी चादिखोला छेउबाट पहिलोपटक अभियानको रुपमा सुरुवात गरिएको जन्मदिनलाई सत्कर्ममा जोडौँ अन्तर्गतको वृक्षारोपण कार्यक्रममा हाल सम्म नेपाल भरमा ८ हजार भन्दा बढी वृक्षहरु रोपिएको अभियानका सर्जक वरिष्ठ पत्रकार तथा समाजसेवी गोविन्द चौलागाइले जानकारी दिए । चौलागाईले आफूहरु यो अभियानलाई अझै शसक्त र प्रभावकारी बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै सबैजनाबाट सहयोगको अपेक्षा गरिएको बताए ।











प्रतिक्रिया