लोपोन्मुख सुरेल जातिको विगत र वर्तमान झल्कने फोटो पुस्तक ‘सुरेलका रङ्गहरु’ प्रकाशन भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–५, सुरीमा मात्र रहेको लोपोन्मुख सुरेल जातिसम्बन्धी फोटो पुस्तक ‘सुरेलका रङ्गहरु’को प्रकाशन गौरीशङ्कर गाँउपालिकाले गरेको हो ।
फोटो पत्रकार जीवन लामाले निकै अघिबाट अहिलेसम्म खिचेका सुरेल जातिको विभिन्न अवसरका फोटोहरु समेटिएको पुस्तक ‘सुरेलका रङ्गहरु’ भित्र साना–ठूला गरी १३३ वटा फोटो रहेका छन् । फोटो पत्रकार लामाले ११६ पेजको पुस्तकमा सुरेल जातिको इतिहास, धर्म–संस्कृति, गोत्र, भाषा, संस्कार, भेषभूषा, खानपान, पेसागत अवस्था, आर्थिक अवस्था, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित स्टोरी तथा फोटोहरु समावेश गरेका छन् ।

पुस्तक प्रकाशन गर्ने दोलखाको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की नेपाल र नेपालीले गौरव गर्ने विषय फरक पहिचान, भाषा, लिपि र संस्कार–संस्कृतिसहितको विभिन्न जातजाति भएकोले आफ्नो पालिकाभित्र पर्ने सुरीमा रहेको लोपोन्मुख सुरेल जातिसम्बन्धी पुस्तक प्रकाशन गरेको बताउँछन् । लोपोन्मुख सुरेल जातिको बासस्थान रहेको गौरीशङ्कर गाउँपालिकाको अध्यक्ष बन्न सकेकोमा आफूलाई निकै खुशी लाग्ने गरेको विश्वास कार्कीको छ ।
आफ्नो पालिकामा रहेको लोपोन्मुख सुरेल जातिको विषयमा पछिल्ला पुस्ताहरुले पनि सहजै जानकारी लिन सकून् भन्ने उद्देश्यले उनीहरुको सम्पूर्ण विषय समेटिएको फोटो पुस्तक ‘सुरेलका रङ्गहरु’ प्रकाशन गरिएको अध्यक्ष कार्की बताउँछन् ।
गौरीशङ्कर गाउँपालिकाले लोपोन्मुख सुरेल जातिको फोटो पुस्तक ‘सुरेलका रङ्गहरु’ प्रकाशन गर्नु महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष उमा लुङ्गेली मगरको भनाइ छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर–५, सुरीमा मात्र बसोबास भएका सुरेल जातिको जनसंख्या २३१ रहेको छ । सुरेलहरुको ५० घर सुरीमा, ७ घर सुम्नामा र ३ घर खारेखोलामा रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रह्लाद सुरेलले बताएका छन् ।
सुरेल जाति कसरी रहन गयो भन्ने तथ्यगत प्रमाण नभए पनि एउटा किंवदन्ती भने प्रचलनमा रहेको छ । किंवदन्तीअनुसार ससुरा ज्वाइँ बासे (ससुरा) र वीरबल (ज्वाइँ) भोटबाट सिकार खेल्दै सुरी आसपास आइपुगे । सोही समय एकजना माझीको बच्चा एउटा शेर्पाले अपहरण गरेर लगेको थियो । बासे र वीरबलले शेर्पाबाट उक्त बच्चालाई मुक्त गरी माझीको जिम्मा लगाइदिए ।
ससुरा–ज्वाइँको उक्त कार्यबाट खुशी भएका माझीहरुले ती दुईलाई सूर्यवंशी भन्दै तेरमुफ (टिम्मुर बारी) दिएर बस्ने व्यवस्था गरे । उनीहरु माझीहरुसँगै बसेकै बेला कोठामा थुनेर राखेको एउटा माझीको छोरी गर्भवती भइन् । उक्त गर्भ सूर्यवंशीहरुबाटै रहन गएको माझीहरुले आरोप लगाए । यसरी माझी र सूर्यवंशीको गर्भबाट भएको सन्तान सुरेल भए ।
सुरेल जातिको उत्थान र संरक्षणको लागि गौरीशङ्कर गाउँपालिकाले फोटो पुस्तक ‘सुरेलका रङ्गहरु’ प्रकाशनसँगै सुरेल भाषाको स्थानीय पाठ्यक्रमको अध्यापनलगायतमा समेत सहयोग गर्दै आएको अध्यक्ष विश्वास कार्कीले जानकारी दिएका छन् ।











प्रतिक्रिया