नेपालमा लोकतन्त्रको आगमनसँगै नेपाली शब्दकोशमा रहेको सौन्दर्यीकरणको अर्थ एवं परिभाषामा पनि फेरबदल गर्नुपर्ने भएको छ । हुन त भाषा आयोग नै विवादित बनेको छ, अहिले ।
सरकारी संयन्त्रहरुको व्यापक फेरबदल त पहिले नै भएको हो । कोशी प्रदेशले देखाएको लोकतन्त्रको सौन्दर्यीकरण हिजोआज वाग्मती प्रदेशमा सरेको छ । विगत ३ वर्षमा यहाँ कतिवटा सरकार बने, कतिजना मन्त्रीहरु बने ? त्यसको लिखत राख्न नेपालीहरुले भ्याएका छैनन्, बरु महँगो पासपोर्ट किनेर खाडी जान भ्याएका छन् । धान दिवस मनाउँदा चामल आयात गर्ने र कोदो दिवस मनाइरहँदा कोदो आयात गर्ने हाम्रो लोकतन्त्रको सौन्दर्यीकरण भनेको वस्तु होइन, मानिस निर्यात गर्ने भएको छ ।
संसद्मा ज्येष्ठ नागरिकहरु निदाउँछन्, नयाँ पुस्ता हल्ला गरेर थर्काउँछन् र लोकतन्त्रले ती नयाँ पुस्तालाई भन्छ– यो लोकतन्त्रप्रतिको आक्रमण हो । नागरिकता विधेयक, गिट्टी–ढुंगा विधेयक तुरुन्तै पास हुने र चुरे दोहनलाई सुरक्षित राख्ने लोकतन्त्रले एक दशकसम्म निजामती सेवा विधेयक ल्याएन र शिक्षा विधेयकको अन्तिम असार १५ पनि गइसक्यो, सुरसार नै छैन । स्थायी सरकार सञ्चालन गर्ने निजामती सेवा विधेयक देशले आवश्यकता महसुस गरेन र नेतृत्व सधैँ अस्थायी नै भइरह्यो । पछिल्लो समय सबै विषयमा लामो बहस हुन पाउनु लोकतन्त्रको आदर्श भएको छ, निचोड आउने भनेको अर्को बैठक गर्ने गरी सहमति हुनु नै हो । विगत साढे तीन दशकमा लोकतन्त्रको उपलब्धि हरेक विषयमा काण्डहरु देखा पर्नु र सहमतिको प्रयास गर्नु नै ठूलो उपलब्धि हुने भएको छ ।
अध्यागमनमा समेत करार वा अस्थायी कर्मचारी खटाई देशकै बदनाम हुने गरी एयरपोर्ट काण्डहरु हुनु लोकतन्त्रको सौन्दर्यीकरण भएको छ भने विदेशीसामु ग्रे लिस्ट अर्को सौन्दर्य भएको छ । जानाजान निजामती विधेयकमा कुलिङ पिरियड राखेर दुनियाँलाई बहस गराउनु र ‘आयो–आयो अब त आयो’ भन्दै बजार तताएकै भरमा संसद् र सरकार चलिरहनु लोकतन्त्रको गतिलो र खाइलाग्दो आदर्श भएको छ ।
किसानले मल आयो–आयो भन्दै खेतमा बाली होइन ताली बजाउने, धानका बालाहरुले गलामा सजिने मौका पाउने, व्यापारघाटा र ऋणको चुली सगरमाथा चुचुरो पुग्ने पनि लोकतन्त्रको आदर्श रहेको छ । हरेक महिना नेपालीहरु निर्यात गरेर विप्रेषणको अंक बढ्ने, पेट्रोलियम पदार्थ उच्च दरमा आयात गरेर भन्सार राजस्व वृद्धि गर्ने, कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य घट्दा यहाँ अटोमेसनका नाममा आधा पनि नघटी प्रतिमहिना सरकारलाई उच्च अंकको रकम बुझाएर पनि महिनैपिच्छे अर्ब बढी नाफा कमाउने आयल निगम र सधैँ घाटामा रहने वायु सेवा निगम पनि हाम्रो लोकतन्त्रको सौन्दर्य नै हो ।
कुलिङ पिरियड भन्दै संसद्लाई रोजगारी दिइरहने र परिणाम शून्य आउने, भत्ता भुक्तानी भइरहने लोकतन्त्रले नयाँ इस्यु छरेको छ, छानबिन समिति बन्ने र त्यहीउपर अर्को छानबिन बनाउँदैमा दिनहरु ढल्ने गरेको छ । अहिले भाषा आयोगको नियुक्ति, एक नियुक्ति लिन कति जुत्ता फटाउनुपर्ने र खल्तीबाट टिपेको नियुक्ति कति सहज हुने लोकतन्त्रको सौन्दर्य भइरहँदा अहिले एकै नामको भन्दै निर्णय एक नियुक्ति अर्कै भएको विषय पनि छताछुल्ल भएको छ । तीनपुस्ते हुन्छ, फोटो हुन्छ ! कति प्रक्रिया पूरा गरेपछि मात्र नियुक्ति दिइन्छ ।
पदबहाली गर्दा कत्रो तामझाम हुन्छ ! बैँकमा सही मिलेन भने चेक फिर्ता हुन्छ, यत्रो नियुक्ति त्यो पनि संवैधानिक आयोग कति कामको फेहरिस्त र विवरण बुझाएर नियुक्ति वा बहाली पाइने हुन्छ, यी यावत् प्रक्रिया के भए ? अचम्मका कुराहरु देखियो । हुन त सर्वोच्चकै पत्र पनि नक्कली आएको हो केही समयअघि । सरकारी संयन्त्र कति र कस्तो तयार गरेछ लोकतन्त्रले भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ । सुशासन नै भनौँ यसलाई, एक व्यक्ति जानुपर्ने सिटमा अर्को व्यक्ति पुगेछन्, पसलमा किनमेल गर्दाको जस्तो । राम्रो भयो, जो जानुपर्ने उनी व्यस्त रहेछन्, अर्कोले पायो, उपकार त भयो नै भन्ने मान्नुप¥यो ।
करिब एक साताअघि एक सार्वजनिक कार्यक्रममा भाषा आयोगको नेतृत्वबाट रिटायर्ड एक कर्मचारी पङ्क्तिकारको भेटमा भन्दै थिए, ‘जे कामको लागि गएँ, जे गरेँ, गर्न नसकेकोमा पश्चाताप छ, बनाउनुभन्दा बढी बिगारेँ मैले ।’ उनको अभिव्यक्तिलाई समर्थन गर्दै समूहले भन्यो– ‘सत्य बोल्नुभएकोमा तपाईंलाई धन्यवाद ! त्यो तपाईंको महानता हो ।’ यति भन्दै सार्वजनिक कार्यक्रममा उनलाई प्रशंसा गरियो । यसौ भनौँ, लोकतन्त्रको आदर्श बनाउने भन्दा बिगार्ने बढी हो । प्रशासन संयन्त्र करिब पंगु बन्यो । उद्योग–कलकारखाना कसरी ध्वस्त भए ? पूर्वाधारहरुको निर्माण समय र प्राइमरी कस्टको तेब्बर–चौबर किन बन्यो ?
उत्तर सजिलो छ दिन । मेलम्चीलगायतमा ओभर पोलिटिक्स कति भयो ? विमानस्थल बनाएर, नेपालीजति विदेश उडाएर लोकतन्त्रले आप्mनो इज्जत बचाएको छ । देशमा युवाबाहेक वृद्धमात्रै राख्दा यसको साख बढेको छ र बाँकीहरु सबैले दलकै झोला बोक्दा पनि । पियोर नेपालीभन्दा दल–दलका कार्यकर्ताहरु बढाएर रोजगारी दिने लोकतन्त्रमा पहिले धेरै अख्तियारको नजरमा कर्मचारी थिए, अब त जननिर्वाचितहरु नसमातेको साता नै छैन भन्दा हुन्छ । व्यापारीहरुलाई पनि राजनीतिमा ल्याउनु लोकतन्त्रको अर्को आदर्श भएको छ । अब देशमा उद्यमशीलताभन्दा सामान आयात गर्ने व्यापारी, उच्च मूल्यमा आपूर्ति गर्दै कर–भन्सार छलीलगायतमा कुरो मिलाएर राजनीतिक नियुक्ति लिन खप्पिस छन्् । गुणस्तर छैन सामानमा, उपभोक्ता अदालत छ ।
बिजुली बक्यौता, एनसेल, क्विन्टल सुन, भिजिट भिसा, लाउडा, बाँसबारी, बालमन्दिर, सेरा दरबार, पतञ्जलि जग्गा, भुटानी शरणार्थी, ललिता निवास, गिरीबन्धु टी, टीकापुरलगायतका काण्डहरुलाई उपहारस्वरुप मानेको लोकतन्त्रले माटो छोप्ने र असारे, डोजरे विकास पनि गरेको छ । गाउँमा मलामी र जन्ती नपाउने अवस्था छ । गाउँघरको साँझको बत्ती बाल्ने संस्कृति पनि अदृश्य भएको छ । वैदिक सनातन परापूर्वकालदेखि चलिआएको समाजलाई सधैँ नैतिकता सिकाउने धर्मप्रतिको अस्पृश्यता पनि लोकतन्त्रको उपहार भएको छ । जग्गाजमिन प्लटिङमा राख्ने, उत्पादन यहाँ नभएको विदेशी भटमास र सन फ्लावरको कच्चा तेल आयात गरी भन्सार सुविधामा छिमेकीलाई तेल निर्यात गरी उच्च निर्यात अंक देखाउने अनि प्रगति भयो भन्नु पनि हाम्रो लोकतन्त्रको मौलिक विशेषता नै हो ।
अढाइ शतकदेखि रहेको पुरानो संस्थालाई निमिट्यान्न पारी आपूm तोतेबोलीमै रहेको बेला सात सालको परिवर्तनपछि उही संस्थालाई ल्याउनु नै अभिशाप हो भन्दै एकीकरणलगायतका इतिहासप्रति हिलो छ्यापेर देशकै प्रतिष्ठा बढाउन खोज्ने लोकतन्त्र पनि हाम्रो सोन्दर्य बनेको छ । विकासको नाममा पुँजीगत खर्चले रोजगारी सिर्जना नगर्ने र ढोका–ढोका पिच गर्न जाने संयन्त्र तयार गरेको लोकतन्त्रले उच्च बेरुजु र उच्च चालू खर्च पनि उसको सौन्दर्यको रुपमा बोकेको छ । प्रशासकीय अधिकृतहरुले ताला फोरी आफनाे सिट कब्जा गर्नुपर्ने, नियमले तोकेको बेलामा सयौँ स्थानीयहरुले बजेट ल्याउन नसक्ने, भागशान्ति कुरो नमिलेसम्म कुनै कार्य अवरोध भइरहने र पारिवारिक संयन्त्र तयार गरी संविधानले नचिनेका व्यक्तिहरुलाई नियुक्ति दिएर गरिएको खर्चमा महालेखाले पटक–पटक कुरो उठाए पनि ‘मौनं सम्मति लक्षणम्’मै बसिरहने हाम्रो लोकतन्त्रले बर्सैपिच्छे देखाउने गाईजात्रा मात्र होइन, देशमा हरेक दिन गाईजात्रा देखाइरहेको छ ।
प्रताप मल्लले पुत्र–वियोगमा रहेकी रानीलाई हँस्यौली गराएर दिल बहलाउन गाईजात्रा निकाल्ने चलन चलाएको केही दशकदेखि हामीले त्यही दिल बहलाउने गरी सधैँ गाईजात्राको रिहर्सल गरिरहेका छौँ । सत्रै मान्छे मर्ने भएकाले अमरत्व कसैको छैन भन्दै रानीलाई चित्त बुझाउन मरेका मान्छेको प्रतीक गाई बनाई, झाँकी निकाल्ने चलन चलेको र यहाँ अहिले पनि कच्चा पूर्वाधार, कच्चा भूभि, कच्चा सवारीचालकका कारण दिनदिनै भारी मात्रामा मान्छे विदाइ भइरहेको सन्दर्भ पनि लोकतन्त्रको उपहार वा सौन्दर्य भइरहेको छ । बाढी र पहिरोले मान्छे नखाएको दिन छैन, रात छैन, हिउँद छैन, वर्षा छैन, हरेक ऋतुको सदावहार नेपाली अन्त्येष्टिको प्रक्रिया विदेशी तालहरु फुट्दा मात्रै होइन, काठमाडौँमा लगातार केही समय झरी पर्दा बाटो हराउने मात्रै नभएर मान्छे नै हराएका कैयन् घटनाहरु झल्झल्ती सदावहार आइरहेका छन् ।
अब पानीको मुहान वज्रयोगिनीमाथिको ढाप ड्याम्प फुटेर मान्छे निदाए भने पनि अन्यथा लिनुहुन्न होला । पहिले दलहरुले टायर बालेर सडक तताउँदै बाटो रोक्थे, अहिले प्रकिृतले सो कामको जिम्मा लिएको छ र बुटवल–नारायणघाटको निर्माण कार्यमा फेरि एक वर्षका लागि म्याद थप भएको छ । चक्रपथको ग्वार्को सडकपुलले जामलाई सातदोबाटो र कोटेश्वरमा सरुवा गरेको छ र यसको उद्घाटान बडो राम्ररी हुँदा दोस्रो चक्रपथ निर्माणको काम, मेट्रो, मोनोरेल मात्रै होइन, घरघरमा ग्यासको पाइपको पनि बहस टुंगिएको छैन ।
बात मार्न पाउनु नै लोकतन्त्रको सौन्दर्य हो, मानौँ लोकतन्त्रको काम बहस गर्ने हो, काम त विदेशीले गरिदिने हुन् । उनले दिएको रकमले केही काम देखाइए पनि निकट विकटमा एलडीसीबाट माथि उठेमा एलडीसीको हिसाबले पाउने सुविधा खोसिएला भन्ने चिन्ता पनि छ । ईभी गाडीहरु बजेटको अघिल्लो दिन भन्सार छिर्ने कार्यमा यसपालि परिवर्तन हुँदा रसुवागढीले धेरै ईभी गाडीलाई खाइदियो, धेरै दिन नाकामै राखेको भनेर ।
भन्ने गरिन्थ्यो– देश पशुपतिनाथले चलाएको ! अब पशुपति पनि निदाइसकेकाले ठोरीका राम देश चलाउन नआउने, यहाँका रामले अघिल्लो कार्यकालका सभामुखको सही भएको पेपरमा साइन गर्ने !
खै के भन्ने ? यहाँ राष्ट्रपति भइसकेका व्यक्तिहरु दलका कार्यकर्ता हुन फर्कने तर अमेरिकाको दुई कार्यकाल बिताएका राष्ट्रपतिले सन्तान पढाउन जागिर खाने ! गाईजात्राको सन्दर्भ पारेर यति भन्न सकिन्छ कि हाम्रो लोकतन्त्र ‘रुपं देही जयं देही जसो भन्छन् त्यसै सही’ भएको देखिन्छ । हामी राजनीति गर्दैनौँ र जान्दैनौँ पनि तर राजनीतिलाई पढ्नेचाहिँ गरेका छौँ है ।











प्रतिक्रिया