कोशेढुंगामा सुरक्षाको मार्मिक कविता


नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने फिल्म कोशेढुंगाको निर्माण टिमले लिरिकल कविता सार्वजनिक गरेको छ, जसको वाचन फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्तले गरेकी छन्।

कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पको भाव समेटिएको छ। भिडियोमा फिल्मका केही फुटेज, स्टिल फोटो तथा मुख्य कलाकारको अभिनय झल्काइएको छ। कविताले टुट्दै गएको सपना, सम्झौतामा बाँधिएको जीवन, सम्बन्धमा गरिने विश्वास र पर्खेर बस्ने परिवारको भावनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। निर्देशक सरोज पौडेलका अनुसार यस कवितामार्फत फिल्मको केही कथावस्तुको संकेत गरिएको छ।

फिल्मको तीन पोस्टर पनि सार्वजनिक गरिएको छ। पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफले छन्। दोस्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफले र झकेन बिसी फिचर्ड छन्। अर्को पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमारको जोडी देखिन्छ, जसमा सुरक्षाले भारी बोकेकी छन् र मन्जिल कसैलाई हेरिरहेका छन्। तीनै पोस्टरमा कलाकारहरू आफना चरित्रको लुक्समा प्रस्तुत भएका छन्। फिल्म भदौ १२ गते रिलिज हुँदैछ। पूर्ण बहादुरको सारंगी निर्देशन गरेका सरोज पौडेलको यो अर्को निर्देशन भएकाले फिल्मलाई उच्च प्रतीक्षाको सूचीमा राखिएको छ।

नरदेवी फिल्म्स्को प्रस्तुति र सारंगी फिल्म्स्को ब्यानरमा प्रेविल कँडेल र किशोर अनुरागद्वारा निर्मित फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफले, लोकमणि सापकोटालगायतका कलाकारले अभिनय गरेका छन्। दिनेश खड्का कार्यकारी रहेको फिल्ममा संगीत आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेल, छायांकन बाबु श्रेष्ठ र सम्पादन नहकुल खड्काको रहेको छ।