श्रावण २५ ‘बाल सहभागिता दिवस’का रूपमा मनाइँदै


काठमाडौं।

नेपालमा हरेक वर्ष श्रावण २५ गतेलाई ‘बाल सहभागिता दिवस’का रूपमा मनाउने गरिन्छ। यो दिन सन् २००१ (वि.सं. २०५८) मा सर्वोच्च अदालतले बालबालिकाले स्वतन्त्र रूपमा संगठन स्थापना गर्ने र संगठित हुने अधिकारलाई कानुनी मान्यता दिएको ऐतिहासिक निर्णयको सम्झनामा मनाइन्छ।

उक्त फैसलाको पृष्ठभूमिमा नवलपरासीको जागृति बालक्लबलाई जिल्ला प्रशासन कार्यालयले दर्ता नगरेपछि बालबालिकाले आफ्ना अधिकारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले संविधान २०४७ को धारा १२ (२)(ग) मा उल्लेखित संघसंस्था खोल्ने मौलिक हकबाट बालबालिकालाई उमेरका आधारमा वञ्चित गर्न नमिल्ने ठहर गरेको थियो।

यो निर्णयपछि नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा नियमावली २०७८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय बालबालिका नीति २०८० लगायतका कानुनी प्रावधानमा शासन र सेवा प्रवाहमा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने आधार थप सुदृढ भएको छ। हाल स्थानीय तहभित्र खोलिएका बालक्लबहरू स्थानीय तहमा दर्ता गर्न सकिने व्यवस्था समेत नियमावलीमा समावेश छ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) लगायतका संस्थाहरूले यस ऐतिहासिक दिनलाई बाल सहभागिता दिवसका रूपमा मनाउने परम्परा स्थापित गरेका छन्। सिजपका महासचिव तिलोत्तम पौडेलले बालमैत्री नेपाल निर्माण गर्न, अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र यस दिवसलाई संस्थागत बनाउन नेपाल सरकार, संवैधानिक निकाय, मन्त्रालय तथा सबै सरोकारवालालाई जोडदार माग गरेका छन्। साथै, २०८२ सालको बाल सहभागिता दिवसको अवसरमा समस्त बालबालिका तथा यस क्षेत्रमा सक्रिय व्यक्ति र संस्थालाई शुभकामना व्यक्त गरिएको छ।