सर्लाही ।
उखुको मूल्यमा वृद्धि नभएपछि सर्लाहीमा यस वर्ष २० प्रतिशतले उखु खेती घटेको छ। सरकारले उखु किसानलाई उपलब्ध गराउने अनुदानको रकम समयमा भुक्तानी नगर्दा र लगानीअनुसारको मूल्य समायोजन नभएकाले उखु खेती घटेको हो।
सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानमुखी नभई उद्योगमुखी भएर गर्छ,सिँचाइ सुविधा भएको जग्गामा उखु खेतीभन्दा धान र मकै खेतीबाट नै फाइदा हुन्छ,´हरिवनका किसान रामशरण उप्रेती भन्नुहुन्छ “उखु खेतीमा उधारोमा कारोबार हुन्छ, अन्य खेती गर्दा भनेको बेलामा पैसा आउँछ। लगानीअनुसारको मूल्य पनि छैन। यही अवस्था रह्यो भने तराईमा उखु खेती गर्ने किसान हुदैनन् । पाँच वर्षदेखि किसानले पुरानै मूल्यमा उखु बेच्न बाध्य भएको छ,खेतीमा लगानी बढ्दै गए पनि त्यसको अनुपातमा मूल्य बढ्दैन।”
“उखु बेचेर घर खर्च चलाउन र छोराछोरी पढाउन सकिँदैन,सरकारले किसानलाई दिने अनुदानको रकम पनि समयमा भुक्तानी गर्दैन, नगदे बाली भनेर उधारोमा उखु बेच्नुपर्छ, बरहथवा–९ का किसान महेश्वर कार्की भन्नुहुन्छ – `उखु खेतीमा लगानी महँगो छ,खेतबाट उखु काटेपछि बल्ल भाउ तोक्छ, मूल्यबिनाको खेती किन गर्नु ?
सर्लाहीमा उत्पादन भएको उखु यहाँका तीनवटा चिनी कारखानाले क्रसिङ गर्दै आएका छन्। केही वर्षदेखि उखु खेती घट्दै गएकाले चिनी कारखानाहरू क्रसिङ सिजनमै बन्द हुने गरेका छन्। यस वर्ष धनकौलको अन्नपूर्ण सुगरमिलले ९ लाख क्विन्टल उखु क्रसिङ गरेर माघको पहिलो साता बन्द भएको थियो। त्यसैगरी बगदहको महालक्ष्मी सुगर मिल १३ लाख ८० हजार क्विन्टल र हरिवनको इन्दुशङ्कर चिनी कारखाना ३० लाख ५२ हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द भएका थिए।
हरिवनमा रहेको इन्दुशङ्कर चिनी कारखानाले ३५ देखि ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखे पनि उखु अभावका कारण लक्ष्यअनुसार क्रसिङ गर्न नसकी बन्द भएको थियो। महालक्ष्मी सुगर मिलले पनि २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकोमा १९ लाख क्विन्टल क्रसङ गरेर बन्द भयो । यसरी उखु खेती घट्दै जाँदा चिनी उद्योगको सञ्चालनमा समेत ठूलो चुनौती थपिएको छ।
सरकारले यस वर्ष उखु किसानलाई दिने अनुदान घटाएपछि किसानहरू थप चिन्तित भएका छन्। सरकारले दिँदै आएको उखुको अनुदान प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर यस वर्ष ३५ रुपैयाँमा झारेको छ। उद्योग र सरकारले समयमै किसानलाई उखु खेतीप्रति आकर्षित गर्न नसके धेरै किसानले उखु खेती छाड्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ।
यहाँ उत्पादन भएको उखु जिल्लाका तीनवटै चिनी कारखाना र महोत्तरीको एभरेस्ट सुगर मिलले पनि क्रसिङ गर्दै आएका छन्। तराईमा उत्पादन हुने उखु १० प्रतिशत सखर बनाउन स्थानीय खाडसरी ( क्रसर) मा बिक्री हुने गरेको छ।











प्रतिक्रिया