रसुवा नाकाको पुल बगेसँगै रोकियो मानसरोवर यात्रा

1.5k
Shares

गएको असार २४ गते बिहान चीनको लेन्देखोलामा आएको लेदोसहितको बाढीले रसुवागढी तहसनहस बनाएपछि यो नाका भएर मानसरोवर जान नसकिने भएको छ । पहिले गइसकेकाहरू अन्य नाका र हवाईमार्गबाट सरकारको सहयोगमा फर्किइसके । बाढीले नेपाल–चीन जोड्ने सडक मार्गको मितेरी पुल बगाएपछि दुईतर्फी यातायात बन्द भएको छ । २०७६ साल जेठबाट सञ्चालनमा आएको उक्त पुल भत्किँदा कैलाश मानसरोवरको धार्मिक भ्रमणमा जाने बाटो बन्द भएपछि अहिले रसुवा नाकामा पूरै सन्नाटा छाएको छ ।

कोभिड–१९ पछि अन्तर्राष्ट्रिय सीमासम्बन्धी रोक हटेपछि चीन सरकारले रसुवागढी नाकामार्फत भारतीय नागरिकलाई समेत कैलाश मानसरोवर जाने अनुमति दिएको थियो । यो अनुमति पाएपछि २०८१ साल असार १२ गतेदेखि यस नाकाबाट दैनिक १ सयको हाराहारीमा भारतीय नागरिक कैलाश तीर्थयात्रामा प्रस्थान गरिरहेका थिए । रसुवा हुँदै आउजाउ गर्दा कम्तीमा १ लाख सस्तो पर्ने भन्दै भारतीय पर्यटक काठमाडौंसम्म जहाजमा आएर रसुवागढी हुँदै जाने गरेका थिए । यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो । बाढीले नका तहसनहस भएपछि अहिले आउजाउमा सहज छैन ।

कतिपय पर्यटन व्यवसायीले रसुवा हुँदै आउजाउ रोकिएको यो बेला वैकल्पिक मार्ग रोज्न थालेका छन् । असार २३ गतेसम्म २५ सयभन्दा बढी भारतीय तीर्थयात्री नेपाल हुँदै मानसरोवर पुगेको टिमुरेस्थित अध्यागमन कार्यालय रसुवाले जनाएको छ । रसुवागढी नाका कैलाश यात्राको लागि चल्तीको नाकाको रूपमा विकास हुँदै गर्दा बाढीले सडकमार्ग, पुल बगाएपछि अहिले बेवारिसे बनेको छ । कैलाश यात्रा सामान्य १० देखि ११ दिनको हुने गर्छ ।

यात्राको लागत ट्राभल्स कम्पनीको सेवाअनुसार फरक पर्छ । जसमा प्रतिव्यक्ति करिव १ लाख १९ हजारदेखि १ लाख ६० हजार रुपियाँसम्म खर्च लाग्ने गर्छ । यो यात्रामा ६० हजार बराबरको चिनियाँ मुद्रा (येन) पनि आवश्यक हुन्छ । समग्रमा यात्राको खर्च करिब २ लाख रुपियाँसम्म पुग्छ ।

यात्रा काठमाडौंबाट टिमुरे, केरूङ, साँगा हुँदै मानसरोवर र दार्चेनसम्म बस तथा पैदल यात्रा गरिन्छ । दार्जेनबाट कैलाश पर्वतको परिक्रमा प्रारम्भ हुन्छ । यात्रा सबैभन्दा कठिन मानिने डोल्मापास (५६३० मिटर उचाइ) पार गर्नुपर्छ । जहाँ अक्सिजनको कमीका कारण स्वास्थ्य जोखिम उच्च हुन्छ । त्यही भएर करिब १० प्रतिशत मात्र यात्रुले पूरै परिक्रमा गर्न सफल हुन्छन् ।

धार्मिक महत्व :
कैलाश पर्वतलाई हिन्दुधर्म मा भगवान् शिव र पार्वतीको बासस्थान मानिन्छ । यस पर्वतको चारैतिरको दृश्य अत्यन्तै पवित्र र रहस्यमयी मानिन्छ । यसको परिक्रमा गर्नाले पाप नाश, पुण्य लाभ र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कैलाशबाट सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदी उद्गम भएको मानिन्छ ।

जैन, बौद्ध, सिख धर्मावलम्बीका लागि पनि यो पवित्र स्थल हो । मानसरोवर ताललाई भगवान् विष्णुको बासस्थान मानिन्छ भने यसको उत्पत्ति ब्रह्माको ध्यानबाट भएको मानिन्छ । ४ हजार ५ सय ९० मिटरको उचाइमा रहेको यो ताल ३ सय २० वर्गकिलोमिटरमा फैलिएको छ । यस तालमा स्नान गर्नाले ७ जन्मको पाप नाश हुने विश्वास छ । रातको समयमा माता पार्वती तारारूपमा प्रकट हुने धार्मिक कथन रहेको छ । मानसरोवरछेउमा रहेको राक्षस तालमा रावणले तपस्या गरेका थिए भन्ने जनश्रुति रहेको छ । यो ताल अशुद्ध मानिन्छ र यसका जलधारा कर्णालीमा मिसिएपछि त्यस नदीको पूजा नगर्ने परम्परा चलिआएको छ ।

यात्रामार्ग, दृश्यावलोकन र कठिनाइ :

कैलाश मानसरोवरको यात्रा प्राकृतिक सुन्दरता, हिमाली संस्कृति र धार्मिक आस्थाको संगम हो । काठमाडौंदेखि टिमुरे, केरुङ, साँगा हुँदै मानसरोवरसम्म यात्रा गर्दा हरियाली जंगल, झरना, याक, चौँरीको बथान, हिमाल, पहाड, ब्रह्मपुत्र नदी र विभिन्न मठमन्दिरको अवलोकन गर्न पाइन्छ । दार्चेनबाट ५० किलोमिटर पश्चिम तीर्थपुरी नामक स्थानमा पुग्न सकिन्छ, जहाँ भगवान् शिवले भष्मासुरलाई भस्म पारेको किंवदन्ती रहेको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङदेखि दार्चेनसम्मको बाटो राम्रो अवस्थामा रहेको छ । फराकिलो र सहज यात्रा हुने बताइएको छ । तर नेपालतर्फ रसुवागढी नाकादेखि धुन्चेसम्मको बाटो साँघुरो, कच्ची र जोखिमपूर्ण भएकाले यात्रीहरूले निकै कष्ट खेप्नुपरेको छ । कैलाश मानसरोवर यात्रा केवल धार्मिक यात्रामात्रै नभई साहस, श्रद्वा र आत्मअनुसाशनको परीक्षात्मक यात्रा हो भन्दा पनि हुन्छ । त्यही पनि रसुवा नाकाको मितेरी पुल बाढीले बगाएपछि सो बाटो भएर जाने मानसरोवर यात्रा अनिश्चित कालका लागि बन्द भएको छ ।