शहरिया सम्भ्रान्तहरुको तीज र सांस्कृतिक बीभत्सीकरण

564
Shares

यही साउन १० गते । काठमाडौंका एकजना प्रबुद्ध साथीकोमा गएको थिएँ । घर कम्पाउन्ड ठूलो थियो । तीजको भव्य कार्यक्रम चलिरहेको देखेँ । यस वर्षको तीज भदौ ९–१० गते पर्छ । कार्यक्रम त एक महिनाअगाडिबाटै चलेको छ त ? बेमौसमको बर्सात्जस्तो ! प्रश्न मनमै रह्यो । साथीसित छिट्टै कुरा सकेर आफ्नो मुकामतिर फर्कें । मन ‘इति ह आस‘ तिर दगु¥यो । हिन्दीको ‘बुहारना’बाट नेपालीमा ‘बुहारी’ बनेछ, ‘बुहार्तन’ बनेछ । नेपाली शब्दकोशले जे भनोस्, कामको प्रकृतिले यही भन्छ ।

परम्परागत बुहारीहरु घर, पिँडी तथा आँगनसमेतको बढारकुँढार, लिपपोत, सफासुग्घरका साथै परिवारका लागि खाना पकाउने, पस्कने, बाँड्ने, खानापछि भाँडाकुँडा सफा गर्ने, परिजन सबैका लुगा धुने, जंगलबाट घाँस–दाउरा ल्याउने, पँधेराबाट पानी खेप्ने, गाईभैँसीलाई घाँस–पानी दिने, बेलुका भान्छाको तमाम काम सकेर घरभरिका मान्यवर महिलाहरुका गोडा मिच्ने, कोपरा व्यवस्थित गर्ने र अन्त्यमा श्रीमान्का गोडा मिचेर सन्तुष्ट पारेपछि बिहान साढे ३ बजेतिर उठ्नका लागि मनको ‘अलार्म’ ठीक पारेर सुत्ने गर्थे । सासू र नन्द–आमाजूका दृष्टिमा बुहारी भनेका फलामका मान्छे हुन्थे, तिनले यी यावत् काम जसरी पनि भ्याउनै पथ्र्यो, भ्याउँथे पनि । गाउँ समाजमा बुहारीमाथिको यो कार्यभारलाई बुहार्तन भन्ने चलन थियो ।

कोलमा र हलोमा नारिने गोरुले समय–समयमा बिदा पाउँथे, घरकाजमा नारिने बुहारीले कुनै समय बिदा पाउँदैनथे । उनीहरुले पाउने बिदा वर्षभरिमा तीजका दुई दिनमात्र हुन्थे । यस बिदामा चेलीहरु हुत्तिँदै–बत्तिँदै माइत पुग्थे । त्यो पनि माइतीमा आमा हुनुहुन्थ्यो भने । माइतीमा व्रतका अघिल्ला दिन खाइने अलि दह्रो खानालाई दर भनिन्थ्यो । जसका घरमा जे छ त्यसैलाई अलि विशेष गरी पकाएर राति दर खान्थे । आमाका हातले दिएका कोदाका रोटी र नुन–खुर्सानी पनि छोरीलाई अमृत लाग्थ्यो । व्रतका दिन छरछिमेक, साथीसङ्गाती, दिदीबहिनी जुटेर नजिकैको मन्दिर जान्थे । नाच्थे, गाउँथे । आ–आफ्ना मनका बह पोख्थे ।

यो अस्तिदेखि हिजोसम्मको तीजको कथा हो । गाउँमा गाउँ हुँदाको कथा हो । परम्परागत घैँटाहरुमा घाम नलाग्दाका बेलाको कथा पनि हो । समय हाम फालेर आज अर्कै परिवेशमा आइपुगेको छ । आज गाउँहरुले गाउँ छोडिसकेका छन् । कतै शहर स्वयं खोच्याउँदै गाउँ पस्दो छ । कतै गाउँहरु घस्रँदै शहर पसिरहेछन् । कतै त उभिएर हर्दा पनि को कता पसेको, छुट्याउन गाह्रो छ । काँठहरु त शहरसँग डराएर यत्रतत्र भागी नै सके ।

जो बाँकी गाउँमा पनि आज गाउँहरु छैनन् । कति त विदेश पुगिसकेका छन् । मानव बेचबिखनको हुरीले गाउँको यौवन सिनित्तै पारेर उडाइसकेकोे छ । बूढाबूढी बाँकी छन् । तिनले के दर खान्छन्, के तीज मान्छन् ? आपसमा बसेर आफ्ना बेलाका दगुरादगुरका कथा हाल्छन्, समय काट्छन् । विदेश गएका छोराछोरी जीवित नफर्केका बूढी आमाहरुका नाक–कान बुच्चिएजस्तै हिजोआज गाउँबस्ती हुँदो चाडबाड पनि बुच्चिँदै गएको छ ।

यता राजधानीलगायतका शहरका कैरन बेग्लै छन् । शहरबजारमा तिथिमितिभन्दा एक–डेढ महिनाअगाडिबाटै तीज आउन थालेको छ । आयो भनेपछि हुनेखाने घरपरिवारका फुर्सदिला महिलाहरुका तनमनमा रमझम र छमछम शुरु हुन्छ । होटल, रिसोर्ट र पार्टी प्यालेसहरुमा नाचगान र खानपानका रंगीन कार्यक्रमहरु चल्छन् । एउटै जमातका पनि कार्यक्रम महिनौँ चल्छन् । आजका यी शहरिया दरहरुमा निर्धारित तिथिको चिरप्रतीक्षित रात छैन । समानमर्मी दिदीबहिनी र आमाको साथ छैन । गाउँका पुराना खीर, रोटी, चाम्रे छैनन् । दही–दूध छैन । गरिब घरमा तेलकै भए पनि भुटुन राखेर पकाएको कोदोको रोटी त झनै छैन । यहाँ त किसिम–किसिमका नाम र दामका ननभेज स्न्याक्सहरु छन् । देशी–विदेशी महँगा पेयपदार्थहरु छन् । चौरासी व्यञ्जनसहितका मूल्यवान् भोज्यसामग्रीहरु छन् । जुट्नेमा यहाँ आमाहरु छैनन्, साथीहरु छन् ।

समान हैसियतका नातेदारहरु छन् । बजारले के निर्देश गर्छ, त्यसअनुसारका अलंकार एवं परिधानहरुका पहिरनमा सजिसजाउ रानीसाहब, मैयाँसाहब र राजकुमारीहरु छन् । आपसमै अघोषित प्रदर्शन छ, प्रतियोगिता छ । उद्दाम, उत्तेजक नाच–गीतले वातावरण घन्केको छ । गीतमा गाउँघर र बुहार्तनका कथा छैनन् मात्र हैन, कर्कशा सासू र भाङ्भुत्ते लोग्नेका पीडा–कथा छैनन् मात्र पनि हैन, नेपालको धर्तीमै उपे्रmर गाइएका गीत छन् र पनि यिनमा नेपाल नै छैन, छ त केवल भुइँफुट्टा भाव छ । भ्रष्ट र नवधनाढ्य परिवारका भुइँफुट्टा नवनायिकाहरुबाट जन्मेर हुर्कन थालेको भुइँफुट्टा संस्कृतिको अपरिमित उन्माद छ ।
हाकिम महिला, हाकिमका पत्नी महिला सरकारी गाडीमा सवार हुन्छन् ।

विभिन्न बिचौलिया र बेचबिखन कम्पनीका महिला आ–आफ्ना अफिसका गाडीमा सवार हुन्छन् । अब त नेता, नेतृ, नेताका श्रीमती, छोरी, बुहारी र प्रेमिकाका पनि आफ्नै गाडी छन् । गाडी भएपछि होटल, रिसोर्टहरु टाढा भए पनि टाढा लाग्दैनन् । कार्यक्रममा सधैँ महिला मात्र हुन्छन् भन्ने पनि छैन, यदाकदा तिनका पुरुष पनि सम्मिलित हुन्छन् । पुरुष मित्र पनि सम्मिलित हुन्छन् । भदौको घामजस्तै समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको टन्टलापुर प्रताप अहोरात्र व्यापक छ त यहाँ उहाँहरुलाई बाधा के छ ?

शहरमा तीज आज हाँसो–ठट्टाको महिनाव्यापी चाड बनेको छ । संयुक्त मधुपानको चाड बनेको छ । नाचगानको चाड बनेको छ । पोशाक र गहना प्रदर्शनको चाड बनेको छ । दिउँसैदेखि कार्यक्रम हुन्छ । मस्तीमा झुम्दै राति घर फर्कन्छन् । तदारुकताका साथ काम सम्पन्न गरेर असार मसान्तमा बिल पछ्र्यौट गर्ने गरी सरकारी कोषबाट असार १५ गते साइट–साइटमै विकास बजेट पुग्दा विकासे मालिकहरुका ब्याङ्कखाता दंग परेजस्तै साउन लागेपछि शहरका पार्टीप्यालेस, होटल, रिसोर्टहरु पनि दंग परेका छन् । सधैँ नाचगान, सधैँ भोज । प्रसरणशील लुतोजस्तो छ नयाँ संस्कृति, जति कन्यायो उति मज्जा ।
मारा त मारा नै हो । वनमा वनमारा संस्कृति पसेको छ । रैथाने वन–बोटहरु लखेटिँदै छन् । गाउँ–शहरमा तरमारा संस्कृति पसेको छ । देशभक्ति र इमान–जमानको संस्कृति लखेटिँदो छ । चित्रबहादुरजीका उखानजस्तै ‘कुराजस्तो कुरा गरौँ भने चित्त फाट्ने, नाचजस्तो नाच गराँँै भने घाँघर फाट्ने !’ कुरा त रमाइलो छ ।

आँखा उघारेर हेर्दा यहाँ, त्यहाँ, जहाँ पनि देखिन्छ । विगत केही दशकबाट हाम्रो नेपालमा सांस्कृतिक अतिक्रमण व्यापक बन्दै छ । संस्कृतिको बीभत्सीकरण त्यत्तिकै छ । दासयुग र सामन्त युगका कतिपय भारी बिसाएर विधिवत् पापमोचन गर्न बाँकी नै रहेको हाम्रो संस्कृति उत्कृष्ट नभए पनि निकृष्ट पनि होइन । यसमा भुक्तभोगी नेपाली जनजीवनमा व्यवहारतः माझिँदै आएको सरलता, स्वाभाकिकता र मिलनसारिता छ । मात्तिन, पात्तिन छेक्ने लज्जाचेत छ ।

आफ्नो देश र समाजप्रति मायाको भाव छ । बाटो हेरेर पाइला राख्नुपर्छ, घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने समझदारी छ । दुश्मनसँगका युद्धमा अपलायन एवं विजयगामी बहादुरी छ । देशभक्तिले ओतप्रोत बहादुरी । अनुपम बहादुरी । यति हुनु केही पनि नहुनु होइन । यिनै सोचसमझले हाम्रा समाजलाई चाडपर्व, विवाह, व्रतबन्ध आदि सामाजिक कामकाजहरुमा समेत आवश्यक पथप्रदर्शन गरिआएका हुन् । समाजपरक संस्कृति एक किसिमले सामाजिक अनुशासन पनि हो । नेपाली समाजमा अनुशासनको अभाव थिएन । यसैले नेपाललाई जोगाएको थियो भन्न पनि मिल्छ ।

विगत केही दशकभित्र मुलुकको राज्यसत्तामा प्रत्यायोजित धमिराहरु पुगेपछि र यत्रतत्र तिनका दरबार ठडिएपछि रैथाने स्थापत्यहरु रोगाएका छन् । जताततै अतिक्रमणका ढोका खुलेका छन् । भूगोलमा अतिक्रमण छ । भाषामा अतिक्रमण छ । धर्म–संस्कृतिमा अतिक्रमण छ । नेपालको भाग्य भविष्यमाथि नै व्यापक अतिक्रमण छ । अतिक्रमणको स्वागत र प्रवर्तनमा सबै रङ्गढङ्गका धमिराहरु तँछाडमछाड गर्दै लागिपरेका देखिन्छन् । जीउभरि धमिरा सल्किसक्दा पनि हामी रैथाने नेपाली जनताले अझैं चेतेका छैनौँ । उदेक लाग्छ ।

हामीकहाँ धर्म, संस्कार, संस्कृतिका आफ्नै रीतिस्थितिहरु थिए । माटो र बाटो अनुकूल थिए, आ–आफ्ना लिकमा थिए । आज विवाह, व्रतबन्ध, न्वारान, पास्नी, जन्मोत्सवलगायत कुनै पनि चाडपर्व परम्परागत लिकमा छैनन् । आवश्यकता अनुभूत हुँदा परम्परागत लिकमै टेकेर सुधार र परिवर्तन गर्दा स्वाभाविक हुन्थ्यो । मौलिकता र पहिचान जोगिन्थ्यो । अतिक्रमणलाई स्वागत गर्ने हतारोमा त्यतातिर सोच्नुपर्नेले पनि सोच्न भ्याएनन् । आज स्वदेशदेखि विदेशसम्म कतै पनि परम्परागत लिकमा गुडेको छैन नेपालको सांस्कृतिक यान । उदाहणका रुपमा विवाह समारोहलाई लिऊँ, युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिका जताततै नेपालीहरुको विवाह समारोह सांस्कृतिक ‘ताम्रचूडपुच्छ’ बन्दो छ ।

कल्चरल ‘ककटेल’ बन्दो छ । त्यहाँ जन्ती, घरगाउँले हरेक पक्षको प्रस्तुति र सांस्कृतिक त्रियाकलापहरुमा नेपाली परम्पराले नचिनेका पद्धति र प्रकारहरु उपस्थित देखिन्छन् । ती न त्यहाँका, न यहाँका । भावना र विवेकभन्दा माथिका वैभव प्रदर्शन । त्यहाँ पुगेपछि यहाँका पुरेतले पनि त्यहाँका पादरीलाई उछिनेका छन् । यहाँ यति डलर राख, त्यहाँ त्यति डलर राख, गौदान यति डलर, दक्षिणा यति डलर । टीका–प्रसाद थाप, डलर । डोरो बाँध, डलर । नयाँ–नयाँ पारा झिकेर ठग्न लागिपरेका देखिन्छन् । विदेशमा गएर नेपालको धर्म–संस्कृतिलाई ठगीधन्धाका रुपमा प्रस्तुत गरेर गरिमा गुमाउँदै छौँ भन्ने चेत यी बिचरा पुरेतहरुमा छैन । पुरेत पुगेजस्तै नेपालका परम्परागत वाद्यवादक पनि त्यहाँ पुगेका छन् ।

खाँडो जगाउने पनि पुगेका छन् । कल्छ्यौली, लोकन्ती र डोले नहोलान् । बाँकी सबै छन् । किसिम–किसिमका नेपाली गीत बज्न पुगेका छन् । यति हुँदा पनि नेपालीपनको मन त्यहाँ अलमलमा छ, असजिलोमा छ । स्वाहा भन्दै चरु होम पनि गरिएको छ, आहा भन्दै केक पनि काटिएको छ । माहुर पनि खुवाइएको छ, केक पनि टोकाइएको छ । घुम्टी पनि छ, चुम्बन, आलिंगन पनि छ । युगल नाच त छँदै छ ।

नेपाली बा–आमालाई नेपाल आएपछि छिमेकीहरुका खालमा बसेर गफ दिन सामग्री असमेल बन्छ । बडो मीठो गरी सुनाउँछन् छोराछोरीका विवाहका कथा । सुन्नेलाई न ढिँडो, न हलुवा । तैपनि चासो लिएर सुनिदिन्छन् । विदेशमा सहवाससहितको सहजीवनको बर्सौँपछि अनुकूल समय मिलाएर नेपाल आउने र नेपाली आफन्तहरुका बीच विशेष साधन सम्पन्नता प्रदर्शनका साथ विवाह गर्न रमाइलो मान्ने युवायुवतीहरुको पनि कमी छैन । तिनका विवाहमा पनि ककटेल संस्कृतिको निर्लज्ज नाच चलेको देख्न पाइन्छ । खडकुल्लामाथि खुट्टा पसारेर बूढा बा–आमालाई पखाल्न र जल पिउन लगाउन किञ्चित लज्जाबोध नगर्ने यी देश–विदेश खाएका शिक्षित, दीक्षित, नवयुगीन युवायुवतीहरु चेतनशील दर्शकका आँखामा कम विस्मयबोधक हुँदैनन् ।

जग्गे नामको एउटा कुनातिर पुराकथाका पात्र र घटनाका पुनरावृत्तिका रुपमा क्युरियो परिधानमा स्वाहा बर्बराइरहेका बाहुनहरु, तिनका चरु डढ्दाका धुवाँ, यता कन्यादान, पासा खेल, युगल नाच, सम्पदा आदानप्रदानको प्रदर्शन, केक कटान इत्यादि सबै नै आधुनिक ककटेल संस्कृतिजन्य विवाह नाटकका रुपमा मञ्चन हुन्छ । पुराना रुढिहरु सबैजसो दोहोरिन्छन् नयाँ परिधानमा । यी सर्वसम्पन्न समारोहहरुमा राष्ट्रियताबोध र नवयुगीन शिक्षाबाट परिमार्जित सांस्कृतिक चेतनाको नयाँ ज्योतिबाहेक सबै कुरा देख्न पाइन्छ । सन्तोष र अनुभव गर्न भने सकिँँदैन ।

नेपाली युवायुवतीहरुले नेपालकै विभिन्न संस्कार, संस्कृति र चाडबाडहरुको समायोजन गरेर विदेशमा पनि नेपालकै मौलिक सम्पदाका रुपमा प्रदर्शन गर्ने र आफ्नो छुट्टै पहिचान कायम गर्ने प्रयास गर्ने हो भने यसलाई मन पराउने र अपनाउनेहरु पनि हुँदा हुन् । नयाँ पुस्तामा पनि यो जीवन्त रहँदो हो भन्नेहरु छन् । देश हराउँदै गयो, राष्ट्रिय पहिचान चाहिन्छ भन्नेहरु पनि छन् । धर्म–संस्कृतिमा विवाद, विद्वेष र फुटको विस्तृत खेती परिचालन गर्न र नेपाल अस्तव्यस्त अनि ध्वस्त बनाउन हरिया–हरिया ढ्याउ डकार्दै ज्यान दिएर लागिपर्नेहरु पनि छन् । नेपाल र नेपालीको अस्तित्व फुटानी, भैmझगडा र विभाजनमा सुरक्षित छैन । मेलमिलाप सहचिन्तन, सहकार्य र व्यापक भावनात्मक एकीकरणमा मात्र नेपालको अस्तित्व सुरक्षित छ भन्नेहरु अभैm धेरै छन् ।
संस्कृति आधारभूमि हो । संस्कृतिमा टेकेर उठेको विकास दिगो हुन्छ । हाम्रो संस्कृति नै महान् छ भन्न त मिल्दैन । संस्कृति महान् भए हामी किन विकासमा पछाडि परेको त ? प्रश्न गर्न मिल्छ । हो, हाम्रा संस्कृतिहरुमा महान् पक्षहरु धेरै छन् । हामी संस्कृतिका धनी छौँ र पनि हाम्रो संस्कृतिले विगत केही दशकबाट देशभक्त, इमानदार, दायित्वबोधपूर्ण, विलक्षण सृजेता नेताहरु दिन नसक्नुका कारण आज हामी गरिब छौँ ।

आजको यो गरिबी हाम्रो नियति होइन, विकृति र विसंगति हो । बादल फाट्छ । रातपछि प्रभात अवश्यम्भावी छ । हामी सपना देख्न सक्छौँ । हामीमा स्वाभाविकता र सरलता छ । परिमार्जनप्रियता छ । जाँगर छ । अहिले हाम्रो नेपाली समाजले विशाल हृदय र युगनिर्माण सक्षम प्रगतिबोधसहितको सांस्कृतिक पुनर्जागरण खोजेको पनि अनुभूत भएको छ । समय हो, कता भंगालो फाट्छ । समेटिँदा त भव्य र मनोहर नदी बन्छ नि ! बनिआएको छ । नदी नै त सभ्यताको सहयात्री हो ।