तेस्रोलिंगीले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष खुलाउँदै फिल्म गुन्यु चोलो : द ड्रेसको ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा आफूभित्रको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरा र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई समेटिएको छ। सानैदेखि महिलाको पहिरन मन पराउने छोरालाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबबाट कसरी ऊ बाहिर निस्किन्छ भन्ने ट्रेलरमा देखाइएको छ।
आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र बुवाआमासंगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवहार र दिने तनावलाई ट्रेलरले प्रष्ट पारेको छ। ट्रेलरमा फिल्मका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई प्रस्तुत गरिएको छ।
आगामी भदौ १३ गते रिलिज हुने समुन्द्र भट्ट निर्देशित फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्ममा उनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन्। नाजिरसंगै सञ्चिता लुईंटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको फिल्म नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा बनेको हो।
एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिर गरिएको छ। फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। लिजाले हलिउड फिल्म ग्ल्याडिएटर– २ मा स्वर दिएकी थिइन्। आकाश बुढाथोकी र भि–भन्से जानुबोनद्वारा निर्मित फिल्ममा लेखु सहयात्रीको गीत रचना र आलोक शुक्लाको छायांकन रहेको छ।











प्रतिक्रिया