हेपिएको रैथाने बाली कोदो अहिले बजारको भान्छामा नियमित पाक्छ । स्वस्थकर ढिँडो अहिले चलनचल्तीको खाना बनेको छ । त्यसैले रैथाने बाली कोदो संरक्षण गर्नेतर्फ कास्कीका सर्वसाधारण उन्मुख भएका छन् । कोदोबालीलाई सरकारले नै संरक्षण गर्ने पहलकदमी शुरु गरेकोले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन थालिएको छ ।
पोखरामा असार १५ लाई धान रोपाइँ महोत्सवको रुपमा मनाइँदै आएको छ । खास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यो महोत्सव आयोजना गर्ने गरिएको छ । साउन १६ लाई पनि कास्कीमा कोदो रोपाइँ महोत्सव गरी मनाइएको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–४, लाहाचोकमा कोदो रोपाइँ महोत्सव गरिएको छ । कोदो उत्पादनमा जोड दिन र प्रवद्र्धन गर्न साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने क्रममा कोदो रोपाइ महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशले आयोजना गरेको कोदो रोपाइँ महोत्सवमा कोदोको फाइदा, यसबाट बन्ने परिकार र यसको बजारीकरणबारे स्थानीयहरुलाई जानकारी गराइएको थियो ।
माछापुच्छ्र«े गाउँपालिकाको लाहाचोक कोदो खेतीको लागि उपयुक्त मानिन्छ । तर पछिल्लो समय गाउँमा युवाशक्तिको अभाव, परिवारको संख्या घट्दो क्रमले कोदो रोप्ने क्रम बिस्तारै घट्दै गएको छ । यस परिस्थितिमा सरकारले यो वर्षबाट कोदो दिवस मनाउन थालेको र अभियान नै सञ्चालन गरेकोमा गाउँलेहरु हर्षित भएका छन् ।
स्थानीय दुर्गाबहादुर रानाभाटका अनुसार बहुउपयोगी, पोषणयुक्त र स्थानीय खाद्यान्न कोदोको प्रवद्र्धन एवं संरक्षण गर्नुका साथै स्वस्थ्यकर जीवन जिउने उद्देश्यले कोदोको प्रयोग गर्न सुझाव दिनुहुन्छ । कोदोबाट ढिँडो, मःमः, तावा–रोटी, पुवा, सेलरोटी, कोदो–चिउरा, हलुवा, बिस्कुट बनाउन सकिने उहाँले बताउनुभयो । कोदोमा प्रशस्त फाइबर हुन्छ भने पौष्टिकताले पूर्ण हुन्छ । सिंचाइविना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई महत्वपूर्णरुपमा लिइनुपर्ने उहाँको भनाइ थियो ।
पछिल्लो समय कोदोभन्दा धान खेती नै गर्ने बढेका छन् । त्यसैले रैथाने बाली जोगाइराख्न, यसको फाइदाबारे सबैलाई जानकारी दिन र कोदोको बजारीकरण गर्न पनि गाउँ–गाउँमा कोदो रोप्ने अभियान सञ्चालनका लागि कोदो रोपाइँ महोत्सव आयोजना गरेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला बताउनुहुन्छ । नेपालमा अहिले कोदो उत्पादनभन्दा खपत बढी छ । नेपाल उत्पादन हुने क्षेत्र धेरै भए पनि उत्पादन हुन नसकेको उहाँको भनाइ छ ।
नेपालमा हाल कोदोको मूल्य प्रतिकिलो ७० देखि ७५ रुपियाँ छ । कोदोको परिकारभन्दा पनि रक्सी बनाउन कोदोको माग बढ्दो छ । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा वार्षिक करिब ७६ करोड मूल्य बराबरको १९ हजार मेट्रिक टन कोदो आयात हुन्छ भने करिब १ करोडको कोदो निर्यात हुने गरेको छ । वार्षिक कोदोबाट मात्रै पौने अर्बको व्यापार घाटा छ ।
देशका विभिन्न स्थानीय तह, प्रदेश सरकारले कोदोको रक्सीको बजारीकरणमा चासो देखाएका छन् । नेपालमा २ लाख २५ हजार हेक्टर जमिन कोदोको लागि खेतीयोग्य छ भने अघिल्लो आर्थिक वर्षमा मात्र ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो । यसको खेतीमा स्थानीयदेखि संघीय सरकारले समेत किसानहरुलाई आकर्षण गर्नुपर्ने देखिन्छ ।











प्रतिक्रिया