समाजमा शिक्षित भनिएका पुरुषहरूमार्फत महिलामाथि भइरहेका हिंसाका घटनाहरूले एउटा गम्भीर प्रश्न उठाउँछ– के शिक्षा मात्रै पर्याप्त छ मानिसलाई सभ्य बनाउन ? यतिखेर विश्वविद्यालयमा पढेका र समाजमा प्रतिष्ठित मानिने व्यक्तिहरू नै महिलामाथि मानसिक, शारीरिक र यौनजन्य हिंसामा उत्रिएका देखिन्छन् । त्यसैले अब हाम्रो शिक्षा प्रणाली, सामाजिक संरचना र पितृसत्तात्मक सोचमा गहिरो पुनरवलोकन गर्नु जरुरी छ ।
नेपालमा महिलामाथिको घरेलु हिंसा अझै पनि गहिरो सामाजिक समस्याको रूपमा जटिल हुँदै गएको छ । शहरीकरण, शिक्षाको वृद्धि र कानुनी संरचनाहरूको विकास भए तापनि महिलाहरू आफ्नै घरभित्र असुरक्षित छन् । दुःखद पक्ष के छ भने– शिक्षित, प्रतिष्ठित र आर्थिकरूपले सक्षम पुरुषहरूसमेत आफ्नी श्रीमती वा परिवारका अन्य महिलामाथि हिंसा गर्न संलग्न छन् । सामान्यतया हिंसा गरिरहेका पुरुषहरूलाई अशिक्षित वा रुढिवादी सोच भएका मानिन्छ ।
पछिल्ला वर्षमा शिक्षित, विदेशमा अध्ययन गरेका, कर्पोरेट क्षेत्रमा कार्यरत वा समाजमा प्रतिष्ठा बनाएका पुरुषहरू पनि घरेलु हिंसामा संलग्न भएको तथ्यांक र अनुसन्धानहरूले देखाएका छन् । कतिपय शिक्षित पुरुषहरू आफ्नी पत्नीको स्वतन्त्रता सहन सक्दैनन् । आर्थिक निर्भरता सिर्जना गरी नियन्त्रणमा राख्ने प्रवृत्ति देखिन्छ ।
वर्तमान विश्वमा महिला र पुरुष बराबरीको अधिकार लिएर अगाडि बढिरहेका छन् । महिलाहरूले शिक्षा, रोजगार, राजनीति, व्यवसायजस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका पनि छन् । अहिले त धेरै महिलाले पुरुषभन्दा बढी काम गर्न सक्ने क्षमता देखाइसकेका छन् । तर एउटा लुकेको सत्य के हो भने, अझै पनि प्रायः नेपाली समाजमा केही यस्ता सोच भएको पुरुष छन्, जहाँ उनीहरूले महिलाको सफलता सहजरूपमा स्वीकार्न सक्दैनन् ।
यस्ता सोचका कारण थुप्रै घटना र समस्या समाजमा भएका छन् । महिलालाई गाली गर्ने, अपमान गर्ने, आत्मबल गिराउने जस्ता मानसिक हिंसा भएका छन् । त्यस्तै जबर्जस्ती यौनजन्य क्रियाकलाप, कुटपिटजस्ता हिंसात्मक कार्य पुरुषहरुबाट हुने गरेको पाइन्छ । महिलालाई दबाउने कुरा एउटा मात्र सजिलो बाटो भएको छ हिंसाको ।
हामी शिक्षित त भयौँ तर हाम्रो सोचमा परिवर्तन भएन । हामी विदेशमा पनि त छौँ, जहाँ कस्ता–कस्ता विकास भएका छन् । धेरै कुरामा नेपालभन्दा अघि छ । तर पनि विदेशमा समेत नेपालीहरुबाट महिलामाथि हिंसा हुने गरेको देखिन्छ । विदेश पुगे पनि हामीले हाम्रो सोच बदल्न सकेका छैनौँ । पितृसत्ताको अवशेष अझै छ भन्ने कुरा यस्तो घटनाहरुले देखाउँछन् । त्यसैले अब समय आएको छ कि हामी सबैले महिलाको क्षमता र योगदानलाई खुलेर स्वीकार गर्नुपर्छ अनि समानतामा विश्वास राख्नुपर्छ ।
शिक्षासँगै अन्त्य नभएको सोच :
शिक्षाले ज्ञान दिन सक्छ र दिएको पनि छ । तर सोच परिवर्तन गर्न अझै कठिन भएको छ । किनकि त्यो सोच पुस्तौँदेखि जरा गाडेर बसेको छ । शिक्षित पुरुषले महिलालाई बराबरीको नजरले हेर्नुपर्नेमा उनीहरूलाई अझ नियन्त्रणको वस्तु ठान्ने सोच आज पनि कायम छ । महिला स्वतन्त्रता, उनीहरुको निर्णय क्षमता, करियर र सामाजिक सहभागितामा अड्चन उत्पन्न गराउने पुरुषहरुको मानसिकता नै हिंसाको मूल जरो हो ।
हामी सोच्ने गर्छौं कि शिक्षा भएपछि सोच बदलिन्छ । तर शिक्षा मात्रै काफी छैन, जबसम्म सोच र संस्कारमा परिवर्तन हुन सक्दैन । त्यसैले उच्च शिक्षित पुरुषहरू पनि हिंसात्मक व्यवहार गर्छन् र सामाजिक प्रतिष्ठाका कारण उनीहरुको जघन्य अपराध पनि लुकाइन्छ ।
कानुन छ तर कार्यान्वयन कमजोर :
नेपालमा घरेलु हिंसा (निवारण) ऐन २०६६, महिला हिंसाविरुद्धका कानुनहरू, महिला आयोग, प्रहरीको महिला सहायता कक्षलगायतका कानुनी संरचना एवं सुरक्षात्मक प्रणली छन् तर पीडित महिलाहरूले अझै पनि सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । विशेषतः जब हिंसा गर्ने व्यक्ति ‘शिक्षित’ र ‘पावरफुल’ हुन्छ, पीडित महिलाको आवाज थुनिन्छ ।
निष्कर्ष :
महिलामाथिको हिंसा शिक्षा, जात, वर्ग वा भूगोलको सीमाभन्दा परको समस्या हो । शिक्षित पुरुषहरूको संलग्नता अझै खतरनाक छ । किनभने त्यो हिंसा लुकेको, रणनीतिक र सामाजिकरूपमा स्वीकार्यजस्तो बनाइन्छ । हिंसा जहाँबाट भए पनि र जसले गरे पनि त्यसको भण्डाफोर गरी महिला सम्मान, आत्मसम्मान एवं सुरक्षाको प्रत्याभूति गर्नु कुनै उपकार होइन, महिलाहरुको अधिकार हो ।
महिलामाथिको हिंसा कुनै वर्ग, शिक्षा वा सामाजिक हैसियतले गरिएको विषय होइन । यो हिंसा सोचमा छ, संस्कारमा छ र पितृसत्ताको गहिरो जरोमा छ । शिक्षालाई मूल्य, संवेदनशीलता र लैंगिक समानताको आधारमा परिमार्जन नगरी हिंसा अन्त्य हुन सक्दैन । अब समय आएको छ, शिक्षित वर्गभित्रैबाट पितृसत्तात्मक सोचको विरोध होस्, बराबरीको आवाज उठोस् र महिलाको अस्तित्वलाई आत्मसम्मानका साथ स्वीकार गरियोस् ।











प्रतिक्रिया