कक्षा १२ को नतिजामा सुधार


६१.१७ प्रतिशत उत्तीर्ण, ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड
–ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार प्रकाशित गरेको छ । बोर्डले प्रकाशित गरेको नतिजाअनुसार यसपटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । यसपटक गत वर्षभन्दा ९ प्रतिशत बढीले विद्यार्थी उत्तीर्ण भएकाले नतिजामा सुधार भएको बोर्डले जनाएको छ ।

यो वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ९५ हजार नियमित तथा १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए । परीक्षामा ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् । अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी ननग्रेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

प्रकाशित परिणामअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना रहेका छन् ।

बोर्डका अध्यक्ष शर्माले विद्यार्थीको मिहिनेत र शिक्षाप्रति अभिभावक गम्भीर र संवेदशनशील भएका कारण गत वर्षभन्दा यो वर्ष नतिजामा ९ प्रतिशतले वृद्धि हुन सकेको बताउनुभयो । बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा हुनेछ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।