सम्पदा र संस्कृतिमाथि काठमाडौं महानगरको प्रहार

स्थानीयबासी आक्रोशित, आन्दोलनको चेतावनी


–दरबार क्षेत्रमा सिमेन्ट प्रयोग गरी ढुंगा छापिएकोमा विरोध

काठमाडौैं ।

विश्वसम्पदा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं महानगरपालिकाले सिमेन्ट प्रयोग गरेर ढुंगा छापेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

पुरातात्विक महत्व बोकेको सम्पदा क्षेत्रमा सम्पदामैत्री संरचना बनाउने नाउँमा महानगरपालिकाले शुरू गरेको सो कार्यले यहाँको सम्पदामैत्री वातावरणमा प्रतिकूल असर पुर्‍याउने भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् । ‘हामीले पटक–पटक दरबार क्षेत्रको संरचना सम्पदामैत्री बनाउनुपर्ने माग राख्दै आएका थियौं । तर, महानगरले जमिनमुनि रहेको पहिलाको पिचसमेत हटाउन बेवास्ता गर्दै सीधै सिमेन्ट हालेर ढुंगा छापेको छ । यसले जमिनमुनिको पानी रिचार्ज हुने प्रक्रिया नै बन्द गरिदिनेछ’ –स्थानीय अगुवा गणपतिलाल श्रेष्ठले भन्नुभयो ।

स्थानीयका अनुसार महानगरले योजनाअनुसार पिचको तह हटाएर माटो राखी पानी पुनः रिचार्ज हुने प्रकृतिसँग मिल्दो संरचना बनाउने भनेको थियो । तर, व्यवहारमा त्यसको ठीकविपरीत सिमेन्टको प्रयोग गरी हाल ढुंगा बिच्छयाउँदै आएको छ । यो कार्यले सम्पदाको स्वरूपमात्र होइन, वातावरणीय सन्तुलनमा समेत असर पार्ने खतरा बढेको स्थानीयको मत रहेको छ । ‘हाम्रै कर तिरेको पैसाले सम्पदामैत्री बनाउने भनेर सम्पदामै नोक्सान पु¥याइँदै छ । यो हामी सहन सक्दैनौं’ – अगुवा श्रेष्ठले भन्नुभयो ।
महानगरको सार्वजनिक निर्माण शाखाले सडक मर्मतसँगै केबुल व्यवस्थापन, ढल सुधार र पानीको पुनः रिचार्जजस्ता पक्षलाई ध्यानमा राखेर काम भइरहेको दाबी गरे पनि स्थानीयले प्रत्यक्ष रूपमा देखिएको प्रविधि र सामग्रीले त्यसको ठाडो खण्डन गरेको जिकिर गरेका छन् ।

पर्यटनको मुख्य केन्द्रबिन्दु रहेको हनुमानढोका दरबार क्षेत्र विगत केही महिनादेखि पुरानो ढुंगा उप्काएर अस्तव्यस्त बनाएर राखिरहेको थियो । तर, अहिले एक्कासि सिमेन्ट हालेर ढुंगा छाप्ने काम शुरू गरेपछि स्थानीयको आक्रोश चुलिएको हो । उनीहरूले काम तत्काल रोक्न माग गरेका छन् ।

केशव स्थापित मेयर हुँदा राखिएको महँगो ढुंगा हटाएर अहिले महानगरपालिकाले नयाँ ढुंगा बिच्छयाएको थियो । पानी पुनः रिचार्ज हुने गरी जमिनमुनि रहेको कंक्रिट पिच र केबुल लाइनहरू हटाउने सर्तमा पुरानो ढुंगा उप्काउन स्थानीयले सहमति दिएको भन्दै अगुवा श्रेष्ठले भन्नुभयो– ‘अहिले त्यो कुनै पनि काम नगरी महानगरपालिकाले सिमेन्ट प्रयोग गरी ढुंगा बिच्छयाएको छ । यसलाई रोक्न माग गर्दछौं ।’

‘नयाँ ढुंगा बिच्छ्याउनुको साटो बरु पुरानै संरचना नै ठीक थियो’, स्थानीयवासीले भने– ‘देखावटी काम गरेर सम्पदा र वातावरण प्रतिकूल हुने निर्माण गर्ने हो भने हामी चुप लाग्ने बस्ने छैनौं ।’ हनुमानढोकाजस्तो ऐतिहासिक स्थलमा गरिने प्रत्येक निर्माणले स्थानीय भावना, ऐतिहासिक र वातावरणीय पक्षका ख्याल गर्नुपर्नेमा स्थानीयको जोड छ ।