पुस्तक चर्चा ,समर्पण र आदर्शको प्रतिविम्ब : ‘करुणा’

846
Shares

‘करुणा’ राधिका शाक्यको रुचि, काम र स्वभावको प्रतिविम्ब हो । उहाँको आदर्श, मानवीय अभियान र सत्य, निष्ठा तथा आफ्नाप्रतिको समर्पणभाव नै ‘करुणा’ हो, अर्थात् एउटा असल मानव र कुशल लेखकको प्रतिविम्ब हो ।
उहाँसँग भेटघाट छैन, फेरि पनि परिचित छु म उहाँको दैनिकीसँग । किनभने उहाँको प्रतिविम्ब अर्थात् ‘करुणा’ पढेको छु ।
परिचयको डोरी सम्मानित नेता (प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष) केपी सरप्रति उहाँको समर्पणभावबाट शुरु भएको हो ।

त्यो समर्पणभाव उहाँहरुबीचको पहिलो भेटबाट शुरु भई अनवरत निश्चलतापूर्वक अघि बढिरहेको छ, शान्त समुद्रको नीलो पानी जसरी । समुद्रमा यदाकदा सुनामी आउँछ तर उहाँहरुको सम्बन्धमा सानो छाल पनि आएको छैन ।
‘मेरो नाम केपी ओली, ज्यान यही हो । मसँग सम्पत्तिको नाममा केही पनि छैन । मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिन । मैले तिमीलाई समय पनि दिन सक्दिन ।’

विवाहको लागि केटी हेर्न जाँदा केपी सरको परिचय दिने शैली अनौठो थियो । शायद केटी पक्षलाई केपी सरको परिचय तीतो थियो तर सत्य थियो । पारिवारिक शालीनतामा हुर्किनुभएकी राधिका शाक्यको लागि केपी सरको त्यही तीतो सत्य समर्पणभावको अनुपम अवसर बनिदिएको हुनुपर्छ ।
राधिका शाक्यले विवाहको लागि तत्काल जवाफ दिनुभएन तर केपी सरको सत्य मुस्कानले उहाँको मनमा प्रेमको अङ्कुरण पलाइसकेको थियो । उहाँले सत्यलाई स्वीकार गर्नुभयो । संघर्षलाई अँगाल्नुभयो । र, योद्धालाई साथ दिनुभयो ।
भाग्य आफैँले बनाउने हो तर परिवेश कहिलेकाहीँ फरक पनि हुँदो रहेछ । राधिका शाक्यले केपी सरको भाग्य बनाइदिनुभयो भन्छु म । योग्यता, क्षमता, सक्रियताले मात्र भाग्य निर्धारण गर्दैन । त्यसको लागि वातावरण र प्रेमिल साथ पनि आवश्यक हुन्छ । केपी सरको योग्यता, क्षमता र सक्रियतामा कसैले पनि प्रश्न गर्ने ठाँउ छैन । फेरि पनि केपी सरको भाग्य निर्धारणमा राधिका शाक्यको निःस्वार्थ समर्पणभावको मुख्य भूमिका छ ।

राधिका शाक्यमा अहंता छैन । सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी अध्यक्षकी धर्मपत्नी हुनुको अहंता छैन, नेपालको सफल प्रधानमन्त्रीकी धर्मपत्नी हुनुको अहंता छैन । न राष्ट्र बैंकको अधिकृतबाट सेवानिवृत्त भएको अहंता नै छ । अहंता मानिसको स्वभाव हो । राधिका शाक्यको शालीनतामा अहंतालाई जस्केलाबाट समेत चिहाउने छुट छैन ।

मैले ‘करुणा’का सबै शीर्षकहरु पढेँ । स्कुललाई जीवनको दृढ सङ्कल्प मानेर अध्ययनमा पौडिरहेको राधिका शाक्यको चेतनाले सफलताको चुचुरामात्र देखेको थियो । आर्थिक अभावले पढाइमा ब्रेक नलागोस् भनेर उहाँले स्कुलपछिको समय साथीभाइसँग रमाउने वा अतिरिक्त कक्षा लिने कुरामा खर्चनुभएन । त्यो समय क्युरिओमा काम गरेर खर्च जुटाउने अभियानमा व्यतीत गर्नुभयो ।

‘करुणा’मा उहाँको क्युरियो काम– अभियान पढेपछि मलाई गाँउघरका बालबालिकाहरुको याद आएको छ । हाम्रो देशका धेरै ग्रामीण क्षेत्रका बालबालिकाहरुले अहिले पनि राधिका शाक्यकै जस्तो पीडा भोगिरहेका छन् । पढाइ खर्चको जगेर्ना गर्नकै लागि अहिले पनि धेरै बालबालिका बिदाको समयमा साथीभाइसँग भाँडाकुटी र आसपास खेल्दैनन्, बरु सिजनअनुसार ऐँसेलु, काफल, गुँरासजस्ता जङ्गली फल टिपेर बजारमा बेच्न तल्लीन हुन्छन् । आफन्त–अभिभावकको पछि लागेर जोखिम मजदुरी गर्न अभ्यस्त हुन्छन् ।

नीति र विधिमा बालश्रमको कुरा भए पनि व्यवहारमा त्यसले काम गरेको देखिँदैन । गरिबी र विपन्नताले उजाडिएका धेरै बस्तीका बालबालिकाहरु अध्ययनको लागि आफैँ जोखिम मोलेर पैसा जम्मा गर्नुपर्ने बाध्यतासँग अचेटिएका छन् ।
‘करुणा’ विक्रीबाट उठेका पैसा तिनै ग्रामीण बालबालिकाको शैक्षिक सुधारमा खर्च गरियो भने कति सुन्दर संयोग हुन्थ्यो होला ‘करुणा’ र राधिका शाक्यको जीवन संघर्षको कथाबीचमा !

मृत्युलाई परास्त गरेर अध्ययनमा अघि बढेको राधिका शाक्यको दैनिकी, अभाव र अत्याचारसँग पौँठेजोरी खेल्दै उत्कृष्टताको उचाइमा पुगेको हो । राजनीतिक चेतसँग अघि बढेको सत्य, निष्ठा र समर्पणसहितको उहाँका पाइलाहरु अन्याय र अत्याचारलाई कुल्चँदै तङ्ग्रिएको थियो । त्यसैले उहाँलाई बेतुकका बिझाइहरुले तर्साउँदैन थियो ।


त्यस कारण उहाँलाई केपी सरको समय चाहिँदैन थियो । धागोको धरोको आश थिएन । केपी सरको सत्य र दृढ सङ्कल्पित आत्मबलले समाजमा व्याप्त असमानता, अत्याचार र गरिबी अन्त्य गर्न सक्छ भन्ने विश्वासका साथ उहाँले केपी सरसँग विवाह गरेर अनवरत प्रेमील साथ दिने निर्णय गर्नुभएको थियो । साँच्चै उहाँले केपी सरको समय र आर्थिक सहयोग कहिल्यै अपेक्षा गर्नुपरेन । राष्ट्र बैङ्कको जागिरबाट उहाँले केपी सरको समेत खर्च थेग्नुभयो । रोगले थलिएको बेला उहाँले चाहिँ पूरै समय केपी सरलाई दिनुभयो । तर विवाहपछिको प्रेमील उत्कर्षमा पनि उहाँले केपी सरसँग समयको अपेक्षा गर्नुभएन ।

राजनीतिक परिवेशबाट हुर्किएको र राष्ट्र बैङ्कको अधिकृतबाट निवृत्त बन्नुभएको राधिका शाक्यले चाहनुहुन्थ्यो भने पार्टी कमिटी वा कतै उपयुक्त नियुक्ति लिएर रवाफ देखाउन सक्नुहुन्थ्यो । तर उहाँलाई त्यसो गर्न पारिवारिक संस्कार, आफूभित्र हुर्किएको समर्पणभाव र केपी सरको राजनीतिक त्यागले पनि दिएन ।

उहाँको एउटै ध्येय थियो– सामाजिक परिवर्तनको लागि केपी सरको सफलताको सारथी बन्नु । राधिका शाक्य सफल बन्नुभएको छ, आफ्नो उद्देश्यमा । किनभने केपी सरको सफलतामा कोही असली हकदार छन् भने त्यो राधिका शाक्य नै हुनुहुन्छ । ‘करुणा’मा केपी सरले मीमांसा लेख्नुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको प्रसंग–

‘फर्क, फर्क हे जाऊ समाऊ
मानिसहरुको पाउ,
मलम लगाऊ आर्तहरुको
चह¥याइरहेको घाउ’….लाई केपी सरले राधिका शाक्यको जीवन दर्शनको रुपमा व्याख्या गर्नुभएको छ । केपी सरले लेख्नुभएको छ–

‘मानिसहरुको दुःख देख्न नसक्ने ‘करुणा’को भाव उनमा अत्यन्तै प्रबल छ । कसैको अलिकति दुःख देख्यो भने आफैँ भावुक हुने, आफैँ रुन थाल्ने । के गर्न सकिन्छ, त्यसमा लागिरहने सहयोगी मन र भावना उनीमा छ । खालि भावनाले दुःख मान्नेमात्र होइन, त्यो दुःखलाई कसरी न्यून गर्न सकिन्छ भन्नेमा आफ्ना तर्फबाट लागिहाल्ने स्वभाव पनि छ उनीमा ।’
केपी सरको मीमांसामा उल्लेख भएका शाब्दिक व्याख्याले राधिका शाक्यको ‘करुणा’ भावको पुष्टि गरेको छ ।

राधिका शाक्यको ‘करुणा’को पुष्टि ‘केपी ओली ट्र«स्ट’ले पनि गर्छ । आफ्नो जीवनभरिको कमाइले सिञ्चिएको बालकोटको घरलाई साक्षी राखेर राधिका शाक्यले ‘केपी ओली ट्रस्ट’ बनाउनुभएको छ । राधिका शाक्यकै संरक्षकत्वमा अघि बढेको ‘केपी ओली ट्रस्ट’ले पाटन महापालको गल्लीमा चुहिने छानोसहितको पूरै संसारको सानो घरलाई उपेक्षा गर्ने आँट गर्दैन । उति बेला पाटन महापालको जस्तै नियतिमा गुजुल्टिएका गाउँले घरका छानाले पानी थेग्ने र धुवाँ उड्ने सपना देख्नेछ ‘केपी ओली ट्रस्ट’को सिरानीमा निदाएर ।

अन्त्यमा भन्नुपर्दा ‘करुणा’ राधिका शाक्यको अनुभूति, भोगाइ, त्याग, समर्पणको दस्तावेज हो । केपी सरले मीमांसामा पनि उल्लेख गर्नुभएको छ– ‘पुस्तकमा औपन्यासिकता भर्न वा रोचकता थप्नका लागि अनावश्यक विषय वा प्रसंग तानतुन गरेर जोडिएको छैन । दृष्टि, भोगाइ र अनुभूति अभिव्यक्त छन् तर कल्पनाप्रधान कुनै कथा बुनिएको छैन, कथानक थपिएको छैन ।’

हो, ‘करुणा’ले समाजको सत्य बोलेको छ । भोगाइको तथ्य पस्केको छ । समर्पण, आदर्श, आस्था र त्यागको सन्देश दिएको छ ।
राधिका शाक्यले पाटन महापालमा चुहिएको छाना भएको घरबाट शुरु गरेको विद्रोह र विवेकको संघर्ष बालकोट वा बालुवाटारमा पुग्दा पनि निरन्तर रहेको सत्यकथा उधिनेको ‘करुणा’ले शालीनताले सफलता निम्त्याउने तथ्य ओकलेको पनि छ ।

त्यसैले ‘करुणा’ फगत अनुभव संग्रहको पुस्तकमात्र हैन, ‘करुणा’ साक्षी हो समयको, दस्तावेज हो विगतको र मार्गदर्शन हो भविष्यको ।
‘करुणा’ पुस्कत हैन पुस्ता हो समयको ! ‘करुणा’ पढेर समाज बुझ्नुपर्छ, समर्पण सिक्नुपर्छ र आदर्श बाँच्नुपर्छ । किनभने ‘करुणा’ समर्पण र आदर्शको प्रतिविम्ब हो । ‘करुणा’ राधिका शाक्यको प्रतिविम्ब हो ।