काठमाडौं ।
बहुदलीय राजनीतिमा लोकतन्त्रको नाममा वर्षौं राज गरे पनि दलभित्रको यथार्थ भने झन्झन् नाङ्गिँदो अवस्थातर्फ उन्मुख हुँदै गएको छ ।
पछिल्लो समय नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एस), नेकपा (एमाले) र नेपाली कांग्रेसलगायत ठूला दलहरूभित्र नेताहरूको आलोचना गर्नेलाई सिध्याउने रणनीति देखिन थालेको छ । लोकतन्त्रको मूल मर्म–विचार, बहस, मतभेद र आलोचनाको अधिकारलाई संस्थागत गर्नुपर्नेमा अहिले त्यो अधिकार ‘अपराध’रूपमा परिभाषित हुन थालेको छ ।
१० वर्ष जनयुद्धको नेतृत्व गरेको माओवादी केन्द्र अहिले प्रमुख प्रतिपक्षी दल हो ।
तर, जनमत घट्दै जाँदा नेताहरू सचेत हुनुपर्ने बेला उपमहासचिव जनार्दन शर्माले नेतृत्वको आलोचना गरेपछि पार्टीभित्रै हुर्मत लिने काम शुरू भएको छ । शर्माले २०६४ मा ३१ लाख मत पाएको पार्टी अहिले ११ लाखमा सीमित हुँदा नेतृत्वले आत्मालोचना गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि नेतृत्वले आत्मालोचनाको साटो आलोचकलाई नै पार्टीबाट ‘सफाया’ गर्ने तयारी थालेको छ ।
शक्तिबहादुर बस्नेत, वर्षमान पुन, हितराज पाण्डेलगायत प्रचण्डनिकट नेताहरूले शर्माको सार्वजनिक आलोचना गर्दै उहाँलाई कारबाही गर्नुपर्ने सार्वजजिक अभिव्यक्ति दिएपछि विवादले उग्र रूप लिएको छ । जनताले किन माओवादी त्यागे भन्ने प्रश्नको उत्तर दिने नैतिकता नभए पनि प्रश्न उठाउनेको आवाज थिच्ने प्रवृत्तिले माओवादी नेतृत्वमा ‘अहंकार’ बढेको देखिन्छ ।
राजसंस्थाको पुनस्र्थापनाको एजेन्डा बोकेको राप्रपा पनि भित्रभित्रै ‘नयाँ तानाशाह’को अभ्यासमा छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आलोचना गर्ने नेताहरूलाई एकपछि अर्को गर्दै ‘राजनीतिक सफाया’ गर्न थाल्नुभएको छ । महासचिव धवलशमशेर राणासँगको मतभेद उत्कर्षमा पुगेको छ । राणालाई कारबाही गर्ने चेतावनीपछि पार्टीका केही नेताहरूले विद्रोहको घोषणा गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग पनि लिङ्देनको सम्बन्धमा चिसोपन छ । मिश्रले पार्टीभित्र बहसको संस्कार विकास गर्न खोज्दा उल्टै आन्तरिक लफडामा फस्नुपरेको छ । यस्तो अवस्थामा छिन्नभिन्न रहेका पूर्वपञ्चहरू एकता गरेर बनेको राप्रपा फेरि गुटबन्दी र फुटको संघारतर्फ अघि बढेको छ ।
नेकपा (एस) भित्र अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच सार्वजनिक आलोचना–प्रत्यालोचनाले पार्टीको अस्तित्वमाथि नै प्रश्न उठेको छ । एकले अर्कोलाई पार्टी छोड्न सुझाव दिइरहेका छन् भने कार्यकर्ताहरू द्विविधामा छन् ।
त्यस्तै, कार्यकर्ता तहमा निराशा व्याप्त हुँदै गएको छ । राष्ट्रिय राजनीतिमा वैकल्पिक सोच र संगठनको खाँचो भएको बेला आन्तरिक झगडाले नेकपा (एस) को ‘संशोधित प्रयोग’ असफल हुने संकेत देखा पर्न थालेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) पनि आन्तरिक गुटबन्दीको रोगले गाँजिएका छन् । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला समूहबीच खुला प्रतिस्पर्धामात्र होइन, आरोप–प्रत्यारोपको राजनीति हाबी हुन थालेको छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारवादी प्रवृत्तिको आलोचना गर्नेलाई केन्द्रीय समितिमै अपमानित गर्न थालिएको छ । विद्या भण्डारी अहिले ओलीको शिकार बन्न पुग्नुभएको छ । अहिले भण्डारीको राजनीति सिध्याउन ओलीले पार्टीका महासचिव शंकर पोखरेलदेखि विष्णु रिमालसम्मको प्रयोग गर्नुभएको छ ।











प्रतिक्रिया