हृदयेन्द्रको जुम्ला भ्लगले तर्सिएको गणतन्त्र

साँच्चै गणतन्त्र कमजोर भएकै हो त ?

3.38k
Shares



काठमाडौं ।

‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिनँ
कति कमजोर रहेछ रहर तिम्रो आँशु पुच्छ सकिनँ… ।’

तीसको दशकको अन्त्यतिर युबान तुलाधरको शब्द तथा दीप श्रेष्ठको स्वरमा सजिएको कालजयी उक्त गीतलाई चरितार्थ पार्ने गरी गणतन्त्रवादीहरूले पीडा अभिव्यक्त गर्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको जुम्ला भ्रमणपछि गणतन्त्रवादीहरूको पीडा मिश्रित कुण्ठा पोखिन थालेको छ । जुम्ला यात्रासम्बन्धी हृदयेन्द्र शाहको भ्लग प्रसारण भएपछि त यो क्रमले अझ व्यापकता पाएको छ ।

हृदयेन्द्र शाहको जुम्ला यात्रा विगतमा ज्ञानेन्द्र शाहको देशावरले भन्दा बढी चर्चा पाएको मात्रै होइन । संघीय लोकतान्त्रिक गणतन्त्रको अस्तित्वमाथि नै धावा बोलेको जस्तै गरी यसका पक्ष र विपक्षमा प्रतिक्रिया आउन थालेका छन् । सामाजिक सञ्जालका भित्ता यसैमा रंगिएका छन् । सँगसँगै मुख्य राजनीतिक दलका नेताहरूसमेत सदन र सञ्चारमाध्यममा बहसमा उएिका छन् । हृदयेन्द्र शाहले जुम्लाबाट राजतन्त्र पुनस्र्थापना गर्दै शासन सत्ता आफ्नो बागडोरमा लिएको घोषणा गरेको जस्तै गरी गणतन्त्रवादीहरूको रोदन सुनिन थालेको छ । उनीहरूको रोदनले गणतन्त्रको जग कमजोर रहेको भन्ने संकेत गर्दछ । कुनै पूर्वराजाका सन्तान खोपीबाट बाहिर निस्किँदैमा गणतन्त्रको हलिन्छ भन्ने त्रास भएको आभाष दिलाउँछ ।

जनआन्दोलन र जनयुद्धका क्रममा कयौंको बलिदानीको बलबाट स्थापित भएको गणतान्त्रिक व्यवस्थाको जग २० वर्षकै अवधिमा २३ वर्षे एउटा ठिटोको गाउँ घुम्न निस्कँदा हल्लिन सक्छ भन्ने त्रास बसेको छ । जसले उल्लिखित गीतलाई चरितार्थ बनाएको हो ।

त्यसो त हृदयेन्द्र शाहको जुम्ला यात्रा आकस्मिक वा संयोगवश गरिएको भने पक्कै होइन । यो कुरा शुक्रवार प्रशासित उनको भ्लगले नै पुष्टि गर्दछ । केही दिनअघि राप्रपाका सांसद ज्ञानबहादुर शाहीको तारतम्यतामा उनको गृह जिल्ला जुम्लामा हृदयेन्द्र शाह र उनकी आमा हिमानी शाहसहित दरबारियाहरूको भ्रमण भएको थियो । हिमानी ट्रस्टका नाममा हुने गतिविधि विगतमा सामान्य नै थिए । तर, पछिल्ला दिनमा राजतन्त्रवादीहरू सल्बाउँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको सक्रियता पनि बढ्दो नै छ ।

त्यसैको प्रतिबिम्बस्वरूप हृदयेन्द्र शाहको जुम्ला यात्रा पनि एक हो । पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारस शाहको धमिलो छवि, तिनेकुनेबाट राजालाई फर्काउँछौं भन्नेहरूको लथालिङ्ग अवस्था, दुर्गा प्रसाईंको जेल यात्रा जस्ता एकपछि अर्को धक्काका कारण यतिबेला राजतन्त्र पक्षहरू यतिबेला बिलखबन्दको अवस्थामा रहँदा राजतन्त्रका निम्ति एउटा ‘ब्रान्ड’को आवश्यकता छ । त्यही ब्रान्ड खोज्न हृदयेन्द्र शाहलाई ‘लन्च’ गर्ने प्रयासस्वरूप उनको जुम्ला यात्रा भएको देखिन्छ ।

हृदयेन्द्रको जुम्ला यात्रा र त्यसपछिका गतिविधि हेर्दा राजतन्त्रवादीहरूको तयारी र प्रस्तुति फितलोमात्रै होइन अपरिपक्क पनि देखिन्छ । देशको राजनीतिक वृत्तमा ‘मिसन ८४’ को एउटा भूत सवार छ । त्यो भूत धेरै नेता तथा दलमा चढेका कारण विभिन्न स्वरूप धारण गर्ने क्रम बढ्दै गएको छ । अहिलेसम्मका सबै प्रयासले हावा खाएर तीन लोक चौध भुवनको ठक्कर खाएर पछारिएका राजतन्त्रवादीहरू हृदयेन्द्र शाहलाई ब्रान्ड बनाएर व्यापार गर्न खोजिएरहेका छन् । उनको उमेरमा उनका पिता पुर्खाहरू नेपालको राजगद्दीमा बसेर शासन सत्ता सम्हालेको दन्त्य कथा सुनाउँदै उनलाई पनि देश देशावरको यात्रामा निकालेर प्रजासँग घुलमिल गराउने तथा राजकाज सिकाउने उद्देश्य हुन सक्ला ।

तर, पूर्वनियोजित भेला गराइएका समर्थकको वाहवाही र अरूले लेखेको ‘डायलग’ बोल्दैमा राजतन्त्र फिर्ता हुन्छ भन्ने कल्पना गर्नु पनि राजतन्त्रवादीहरूको भ्रम हो ।हृदयेन्द्र शाहका बाजेले ज्ञानेन्द्र शाहले २०५९–६० तिर देश भ्रमण निकिँदा पाएको जय जयकार र जनगुनासो ‘बुझेँ’ मै सीमित भएको थियो । अहिले पनि हृदयेन्द्र शाहको जुम्ला यात्रा सोही पथमा लागेको देखिन्छ । फितलो पटकथामा तयार गरिएको कमसल चलचित्रजस्तै हृदयन्द्रको भ्लग छ, त्यहाँ प्रस्तुत गरिएका पात्र र कथामा कुनै वास्तविकता छैन ।

नियोजित तरिकाबाट भेट गराइएका पात्रहरूको बखानमा हृदयेन्द्र पनि मख्ख छन् । त्यस किसिमका गतिविधिबाट जनताका भावना बुझ्न सकिँदैन भन्ने कुरा उनका सुसारेहरूले बुझेको देखिँदैन । हृदयेन्द्रका ठूला बाजे वीरेन्द्रले जसरी युवा अवस्थामा देश यात्रा गरी जनतासँग राजाको छोरा हुँ भन्ने आभाष नदिई घुलमिल भएको इतिहास उनलाई पढाइएको छैन । सिंहको छाला ओढाउँदैमा केही समय केहीलाई झुक्याउन सम्भव होला । तर, कालान्तरमा त्यसको पर्दाफास हुन्छ ।


‘बेबी किङ’को पुरानो प्रसङ्ग सम्झाउने हृदयेन्द्रको जुम्ला भ्लग

झण्डै दुई दशकअघि नेपालको राजनीतिक वातावरण ‘बेबी किङ’को चर्चाले तातिएको थियो । राजा वीरेन्द्रको वंश विनाशपछि शाह वंश निरन्तरताका लागि गद्दी उत्तराधिकारीको विषयमा बहस चर्किएको थियो । २०६२÷६३ को आन्दोलनताका कुनै बेला नेपाली कांग्रेसलगायतका दलहरूसमेत ‘बेबी किङ’ स्वीकार्न तयार देखिएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रलाई राजा स्वीकार्न नसक्ने कांग्रेसलगायतका दलहरू विकल्पमा बेबी किङ भन्दै हृदयन्द्रलाई स्वीकार्न सकिने बताएका थिए । त्यति बेला हृदयेन्द्र २–३ वर्षका मात्रै थिए ।

तर, तत्कालीन राजा ज्ञानेन्द्रले बेबी किङको सो प्रस्ताव अस्वीकार गर्नुभयो । त्यो इन्कारको राजनीतिक मूल्य उहाँले राजतन्त्र गुमाएर चुकाउनुभयो । आज फेरि त्यो इतिहासलाई स्मरण गराउने गरी तिनै बेबी किङको प्रस्ताव गरिएका हृदयेन्द्र चर्चामा छन् । सो भ्लगमा हृदयेन्द्रको प्रस्तुतिमा ‘शालीनता’, ‘विनम्रता’ र ‘युवामन’ झल्किन्छ । उनको बोलीमा राजनीतिक आकांक्षा प्रत्यक्ष छैन, तर व्यावहारिक कूटनीतिकता देखिन्छ । सामान्य युवाका जस्ता अभिव्यक्ति दिने शैली, विकट भूगोल रोज्ने भ्रमण र त्यसको भिजुअल प्रस्तुति धेरैका लागि योजनाअनुसारको पुनरागमन रणनीति हो कि भन्ने प्रश्न उब्जिएको छ ।

पूर्वराजाको परिवार राजनीतिक रूपमा निष्क्रियजस्तै देखिए पनि राजसंस्थावादी शक्तिहरू हृदयेन्द्रको नाममा भविष्यको कार्ड खेल्न चाहिरहेका संकेतहरू देखिएको विश्लेषकहरूको अनुमान छ । त्यति बेला ‘बेबी किङ’ राख्ने सोचलाई अस्वीकार गर्दा राजसंस्थाले अवसर गुमायो । अहिले तिनै बेबी किङ अर्थात् हृदयेन्द्र विभिन्न माध्यमबाट ‘पब्लिक सिम्पेथी र ‘युवा अनुहार’को रूपमा पुनः उभिन खोजिरहेको जस्तो देखिन्छ । यो सामान्य भ्रमणमात्रै हो कि कुनै योजनाबद्ध ‘सफ्ट रि–इन्ट्री’ ? चारैतिर यस्ता प्रश्नहरू उब्जिन थालेका छन् ।