पाठक पत्र : जताबाट पनि नागरिकको ज्यान जोखिम


केही समययता मानिसहरु बिरामी हुने क्रम बढेको छ । कोही बिरामी भएर अस्पतालमा उपचाररत छन् भने कोही घरमै थला परेका छन् । यसरी बिरामी बढ्दै जानुमा जार तथा बोतलका पानी प्रमुख कारण रहेको पाइएको छ । जार र बोतलका पानी प्रशोधित भनिए पनि त्यो पानीले नै रोग निम्त्याइरहेको छ । खोला, नदी, जमिनमुनिको फोहोर पानी निकालिन्छ । अनि केमिकल मिसाएर प्रशोधित भन्दै बेचिन्छ । बजारमा एक जार पानीको ६० रुपियाँदेखि सय रुपियाँसम्म पर्छ । यस्तै, मिनिरल वाटरको ठाउँअनुसार २० रुपियाँदेखि डेढ सय रुपियाँसम्म असुलिन्छ । बाहिर घुमफिर गर्न निस्किँदा मानिसहरु मिनिरल वाटर किनेर पिउँछन् ।

यति महँगोमा पानी किने पनि गुणस्तरहीन हुन्छ । त्यही पानी पिउँदा कतिपयलाई झाडापखाला, हैजासम्म हुने गर्छ । काठमाडौंमा खानेपानीको अभाव छ । घरघरमा जारका पानीको प्रयोग गरिन्छ । जारको पानी प्रशोधित भनिए पनि त्यसमा केमिकल मिसाएर मात्र सफा र राम्रो देखाउने गरिएको छ । अनि त्यही पानीले मानिसहरुलाई रोगी बनाइरहेको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाकै अनुगमन र परीक्षणबाट जार र बोतलका पानी गुणस्तरहीन भेटिएको छ । जारका पानीमा अखाद्य वस्तु पाइएको छ । जसले मानिसलाई रोगी बनाउने काम गरिरहेको छ । यता, होटल, रेस्टुरेन्टु, मिठाई पसलहरु बाहिरबाट देख्दा निकै आकर्षित देखिन्छन् । तर त्यहाँ गएर खाएकै खानेकुराले पनि रोग फैलाइरहेको छ ।

होटल, रेस्टुरेन्ट, मिठाई पसलहरुमा बाहिर ताजा र राम्रो खानेकुरा देखाइन्छ अनि अर्डर गर्दा वा खान जाँदाचाहिँ घण्टौँदेखि केही दिनसम्मको बासी दिइन्छ । बाहिर भएकै दिएको होला भनेर ग्राहकले खानेकुरा त खान्छन् । त्यो खाएपछि उनीहरु अस्पताल भर्ना हुनुपरेको छ । हुन त यहाँ मानिस आफैंंले आफू र अरुलाई समेत रोगी बनाइरहेका छन् ।

मानिसहरु कोही भोको भएमा एक पोका बिस्कुट किनेर दिँदैनन् तर चुरोट, रक्सी खान र खुवाउन चाहिँ उनीहरु सक्छन् । पछिल्लो समय नेपालीहरुमा विशेष गरी तीनवटा रोग देखिएको छ । पहिलो क्यान्सर, दोस्रो मिर्गौला र तेस्रो कलेजो, मुटु तथा फोक्सोका पीडित । गाउँदेखि शहरसम्म यी रोगी भेटिन्छन् । अस्पतालमा यो रोगका बिरामीको चाप थेगिनसक्नु हुन थालेको पाइन्छ ।

हामीले पिइरहेको पानीदेखि कोक, फन्टा, जुसलगायतमा केमिकल मिसाइएको छ । हरेक खानेकुरामा केमिकल मिसाइएको छ । मिठाई देख्दा मुखबाट पानी निस्किन्छ तर त्यही मिठाईले मानिसलाई मृत्युको मुखसम्म पु¥याइरहेको छ । किनकि मिठाईमा विभिन्न अखाद्य रंगहरु प्रयोग गरिएको हुन्छ । यतिसम्म कि यहाँ त दूध, दहीसमेत नक्कली पाइन्छ । पाउडरको दूध बनाइन्छ । दहीलाई राम्रो बनाउन केमिकल मिसाइन्छ ।

देख्दा राम्रो देखिन्छ तर त्यो खाएपछि कति असर गर्छ भन्ने कुरा थाहा हुँदैन ।सिल प्याक मदिरामा पनि केमिकल मिसाइएको हुन्छ । घरेलु मदिरा त देशी मल, भैंसीको हड्डी, पुरानो कपडा तथा जुत्ता, सख्खरलगायतको बनाइन्छ भन्ने सुन्नमा आएको छ । यो मदिरा पिएपछि कलेजो, फोक्सो, मिर्गौला सजिलै सिद्धिन्छ । चुरोट, खैनी, गुट्खाजस्ता सुर्तीजन्य पदार्थले पनि मानव शरीरको निकै महत्त्वपूर्ण र संवेदनशील अंगलाई गम्भीर असर पु¥याउँछ । यसको असर शुरुमै नदेखिए पनि यसले बिस्तारै–बिस्तारै मानिसको ज्यान नै समेत लिन्छ ।

सुपारी अधिकांशलाई मन पर्छ । धेरैजसो मानिसले सुपारी चपाउँछन् । तर सुपारीले मानिसको स्वास्थ्यसँगै दाँतमा समेत असर पु¥याउँछ । सुपारी खाने मानिसको चाँडै दाँत सिद्धिन्छ । दाँत दुखेपछि मानिसहरु डेन्टल अस्पताल वा क्लिनिकमा पुग्छन् । त्यहाँ मानिसको स्वास्थ्यमा कमाउ धन्दा चलाइन्छ । सामान्य सफा गरेर पुग्ने दाँतलाई समेत कामै नलाग्ने भएको भन्दै निकाल्न लगाइन्छ ।

किनकि नयाँ दाँत हालेपछि डेन्टल क्लिनिकलाई फाइदा हुन्छ । एउटै नक्कली दाँत पाँच हजारदेखि दुई लाख रुपियाँसम्म पर्छ । जति महँगो, उत्तिकै राम्रो भन्दै प्रसार गरिन्छ । बिरामीले पनि होला त भनेर लाखौं खर्चिएर दाँत हाल्छन् । तर दाँत हालेकै केही दिनमा निस्किन्छ भने त्यो दाँत हाल्दा र निकाल्दा अरु दाँतमा समेत असर पुग्छ ।

नहल्लिएको दाँत भने हलिन्छ भने पहिले निकालेको दाँत सफाइ गर्दा अरु दाँतको आधा भाग नै सकिएको हुन्छ । जसले गर्दा पहिला एउटा दाँतमा मात्र समस्या थियो भने डेन्टल क्लिनिकमा पुगेपछि अधिकांश दाँत उपचार गर्नुपर्ने अवस्था आउँछ ।
यस्तै गरी पछिल्लो समय ट्याटु खोप्नेहरु बढ्दा छन् । भर्खरका युवायुवतीले शरीरभरि ट्याटु खोपेका छन् । ट्याटु खोपेपछि विदेश जान र सरकारी जागिर खान त पाइँदैन नै, सँगै क्यान्सरसमेत निम्त्याउँछ । ट्याटु खोपेका अधिकांशमा क्यान्सर देखिन थालेको छ । यो मात्र होइन, कपाल राम्रो देखाउन अनेक रंग पनि हालिन्छ । त्यसले पनि मानिसको स्वास्थ्यमाथि असर पुगिरहेको छ । रंगमा केमिकल मिसाइएको हुन्छ । यसले क्यान्सरसमेत निम्तिन सक्छ ।

महिला तथा युवतीहरु राम्री बन्न विभिन्न महँगा क्रिमको प्रयोग गर्छन् । मुखमा भएका दाग तथा डण्डीफोर मेसिनको प्रयोग गरेर हटाइन्छ । यसरी बाहिरीरुपमा त राम्री देखिन्छ तर भित्रभित्रै त्यसले निम्त्याएको रोगले मानिसको ज्यान नै समेत जान्छ । यस्तै पछिल्लो समय बजारमा आयुर्वेद पसलहरु छ्यापछ्याप्ती भेटिन्छन् । तर आयुर्वेद व्यापारीहरुले आफ्नो फाइदाका लागि रोग नलागेको व्यक्तिलाई समेत रोग लागेको भन्दै आफ्नो औषधि खुवाएर रोगी बनाउने गरेका छन् ।

अस्पतालमा पनि केही समययता यस्तै ठगीधन्दा मौलाएको छ । कतिपय अस्पतालले चेकजाँच गर्न आएका व्यक्तिलाई रोग नै नभए पनि विभिन्न रोग रहेको बताएर आफ्नो औषधि बेच्छन् । अनि निरोगीसमेत रोगी बन्न पुग्छन् । आयुर्वेद र अस्पतालले त ठगे नै, सँगै माता, धामी झाँक्रीका नाममा ठग्ने क्रम अझै रोकिएको छैन । अन्धविश्वासमा परेर मानिसहरु बिरामी हुँदा माताकहाँ पुग्छन् । त्यहाँ पुग्नेहरुले आफ्नो धनसम्पत्ति उपचार गर्दागर्दै वा मातालाई दिएरै सिध्याउँछन् ।

व्यापारीहरुले आफ्नो फाइदाका निम्ति जनतालाई रोगी बनाए । जनता पनि सचेत भएनन् । यसैले मानिसले आफ्नो स्वास्थ्यको आफैं ध्यान राख्नुपर्छ । सरकारले पनि जनतालाई सचेत गराइदिनुप¥यो । मदिरा, सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउनुपर्छ । साथै, अभिभावकहरुले पनि आफ्ना छोराछोरीलाई बाहिरी खानेकुरा खान दिनुहुन्न ।

पहिला–पहिला मानिस गरिब हुन्थे । च्यातिएको कपडा लगाउँथे । अहिले ठ्याक्कै उल्टो छ । अहिले बाहिरबाट मानिस राम्रो र धनी देखिन्छन् तर भित्र रोग नै रोग छ । अनि मानिस जतिसुकै शिक्षित भएर के गर्नु, जब उसले आफ्नै ज्यानको समेत ख्याल गर्न सक्दैन ।

– रुषा थापा, भक्तपुर ।