माग्ने बुढाद्वारा क्यान्सरसँग जुधिरहेकी एमस नेपाल इन्टरनेसनल सीतालाई सहयोग


लोकप्रिय हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा)ले गम्भीर स्वास्थ्य समस्या भोगिरहेकी एमस नेपाल इन्टरनेसनल २०२३ की विजेता सीता सुवेदीलाई आर्थिक सहयोग गरेका छन्। उनले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन्।

हास्य कलाकार घिमिरेले केही अघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेसनल सुवेदीलाई ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका थिए। फोक्सोको क्यान्सरबाट पीडित सुवेदीको उपचार भइरहेको शुद्धिग्राम आयुर्वेदिक अस्पतालमै पुगेर माग्ने बुढाले उनलाई सहयोग रकम प्रदान गरेका थिए।

‘सीताजस्तो प्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व कठिन परिस्थितिमा परेको देख्दा म स्तब्ध भएँ’ एमस नेपाल इन्टरनेसनलका आयोजक निशुकान्त झाका साथ अस्पताल पुगेर सहयोग रकम प्रदान गरेका घिमिरेले भने ‘यस्तो दुखद् घडीमा सानो भए पनि साथ दिनु मानव धर्म हो।’ साथै उनले सबैलाई यथासम्भव सहयोग गर्न पनि सार्वजनिक रूपमा आग्रह गरे। आयोजक झाले यस्तो कठिन समयमा कलाकार घिमिरेले देखाएको सद्भाव, सहानुभूति र सक्रिय सहयोगले ठूलो प्रेरणा दिएको बताए।

विगत वर्ष एमस नेपाल इन्टरनेसनलको उपाधि जितेपछि सीता सुवेदी विभिन्न सामाजिक गतिविधिमा सक्रिय रह“दै आएकी थिइन्। उनले महिला सशक्तीकरण र बालबालिकासम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै आएकी थिइन्।

सीताको परिवारले घिमिरेको सहयोग र प्रत्यक्ष भेटले नयाँ ऊर्जा र आशा पैदा भएको जनाएको छ। माग्ने बुढा विभिन्न समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेका कलाकार हुन्।

विपद् पीडितदेखि लिएर बिरामी बालबालिकासम्मलाई सहयोग गर्दै आएका उनी सामाजिक रूपमै सक्रिय कलाकारको उदाहरण बनेका छन्।सीता सुवेदीको उपचार जारी रहेको र क्रमिकरूपमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ,। उनलाई थप सहयोग आवश्यक पर्ने बताइएको छ।