लोथरमा पेट्रोलियम पाइपलाइन र भण्डारगृह निर्माण सुरु, ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य


अमलेखगञ्ज लोथर पाइपलाईनसहितको भण्डारगृह बनाउने परियोजानको फिल्ड अफिस उद्घाटन भएको छ ।

काठमाडौं ।

चितवनको लोथरमा नेपाल आयल निगमले आठ वर्षअघि किनिएको जग्गामा पाइपलाइनसहितको पेट्रोलियम भण्डारणस्थल निर्माण कार्य सुरु गरेको छ। अमलेखगञ्ज–लोथर खण्डको ६२ किलोमिटर लामो पाइपलाइनसहितको परियोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको हो। परियोजना ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

झण्डै १४ अर्ब लागतमा निर्माण हुने परियोजनामा भारतले पाँच अर्ब रुपैयाँ सहयोग गर्नेछ भने बाँकी खर्च नेपाल आयल निगमले व्यहोर्नेछ। निर्माणपछि प्रति घण्टा २७३ किलो लिटर तेल प्रवाह हुने र वार्षिक दुई करोड टन इन्धन ढुवानी सम्भव हुने बताइएको छ।

भण्डारणस्थलमा पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनका लागि ९१ हजार ९ सय किलो लिटर क्षमताका ट्याङ्क बनाइनेछन्। यसले उपत्यका बाहिर पहिलोपटक हवाई इन्धन भण्डारणको व्यवस्था गर्नेछ।