काठमाडौं ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने तातोपानी नाका सहज बनाउने विषयमा नेपाल–चीनबीच महत्वपूर्ण छलफल भएको छ। झाङ्मुमा सम्पन्न सीमा सुरक्षा बैठकमा चीनले नाका व्यवस्थापन, सीमा अपराध नियन्त्रण, व्यापारिक गतिविधि र आपसी सम्बन्ध सुदृढीकरणमा चासो देखाएको हो।
बैठकमा नेपालतर्फका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षाकर्मी, भन्सार तथा अध्यागमन अधिकारी सहभागी थिए भने चीनबाट न्यालमका उच्च अधिकारी थिए। नेपालले विपद् व्यवस्थापन, चाडपर्वका लागि कन्टेनर बढाउने र निर्यात प्राथमिकताको माग राखेको थियो।
चीनले यसअघि रसुवाबाट २०५ नेपालीको उद्धार गरेको भन्दै नेपालले धन्यवाद ज्ञापन गरेको छ। यद्यपि तातोपानी नाकामा निर्यात भने अझै ठप्पजस्तै छ। वैशाख १८ मा केही कन्टेनरबाट सामग्री पठाइए पनि त्यसयता कुनै निर्यात हुन सकेको छैन। स्थानीय व्यापारीहरू एकतर्फी व्यापार र सुरक्षाको झन्झटपूर्ण व्यवहारबाट हैरान भएका छन्।











प्रतिक्रिया