गल्छी-४ मा स्पर्श घटना : सन्तानविहीन दम्पतीको एकैदिन निधन, श्रद्धाञ्जली अर्पण


धादिङको गल्छी गाउँपालिका–४ मा एउटा दुर्लभ र भावुक घटना घटेको छ। करिब ४०–४५ वर्षदेखि सो स्थानमा बसोबास गर्दै आएका वृद्ध दम्पती हस्त बहादुर मल्ल (ठकुरी बा) र रेबती मल्ल (ठकुरी आमा)को एकैदिन निधन भएको छ। सन्तानविहीन यी दम्पतीको निधनले स्थानीय समुदायमा गहिरो समवेदना र पीडाको लहर फैलिएको छ।

स्थानीयका अनुसार, ठकुरी आमाको २०८२ साल साउन १६ गते दिउँसो २:४० बजे निधन भयो। उहाँ लामो समयदेखि बिरामी थिइन्। पत्नी बियोगको पीडा सहन नसकी त्यही रात ९:३८ बजे ठकुरी बाको पनि निधन भयो। दुःखको कुरा, उनीहरूको कुनै पनि पारिवारिक सदस्यको विवरण थाहा नभएको बताइएको छ।

सामाजिक सम्बन्धले बाँधिएको जीवन

स्थानीयहरूका अनुसार, हस्त बहादुर र रेबती मल्ल गल्छी क्षेत्रमा सबैलाई चिनेका र चिनेने पात्र थिए। परिवार नभए पनि समाजसँगको गहिरो आत्मीयताले उनीहरूको जीवन चलिरहेको थियो।
“उहाँहरू हाम्रो सामूहिक परिवारकै हिस्सा झैँ हुनुहुन्थ्यो,” एक छिमेकीले भने, “आजको घटना सबैलाई रुवाउने खालको छ।”

एकैदिन, केही घण्टाको फरकमा

ठकुरी आमाको निधन भएको करिब ७ घण्टापछि ठकुरी बाले पनि प्राण त्याग गरे। यो संयोग मात्र नभएर एकअर्काप्रति गहिरो समर्पण र आत्मीय सम्बन्धको प्रमाण हो भन्ने भावना गाउँलेहरूमा देखिएको छ।
धेरैले भने, यो जोडीले प्रेम र समर्पणको अद्भुत मिसाल छाडेर गएका छन्।

समाजको भूमिका

पारिवारिक सदस्य नभएका कारण अन्तिम संस्कारको सम्पूर्ण जिम्मेवारी स्थानिय युवाहरू, सामाजिक अगुवाहरू र टोल विकास संस्थाले मिलेर गरेका छन्।

“उहाँहरूको श्राद्ध र अन्त्येष्टि सम्मानपूर्वक सम्पन्न गर्यौं। यो हाम्रो दायित्व थियो,” गल्छीका एक युवा समाजसेवीले जानकारी दिए।

श्रद्धाञ्जली

समाजका तर्फबाट हस्त बहादुर मल्ल र रेबती मल्लप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। गाउँलेहरू, स्थानीय संघसंस्था र सामुदायिक व्यक्तित्वहरूले उहाँहरूका आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठ बासको कामना गरेका छन्।