स्वास्थ्यमा खतरा पुर्‍याउने चाउचाउ : उद्योग दोषी ठहर


काठमाडौं ।

मोरङको कटहरीस्थित विपिन काबराको क्वालिटी थाई फुड प्रा.लि.ले उत्पादन गरेको ‘बुलेट’ चाउचाउमा मापदण्डभन्दा धेरै विषाक्त तत्व भेटिएको छ। नुवाकोटबाट संकलित नमुनाको परीक्षणमा एक्स्ट्रयाक्टेड फ्याट एसिड ७.५ र पेरोक्साइड भ्यालु ३४.९ पाइएको थियो, जुन स्वीकृत सीमाभन्दा धेरै माथि हो।

खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरको उजुरीपछि जिल्ला प्रशासन कार्यालय मोरङले क्वालिटी कन्ट्रोल म्यानेजर पुजन कोइरालालाई दोषी ठहर गर्दै रु. ५,००० जरिवाना गरेको छ। यसअघि पनि काबरा समूहद्वारा उत्पादन गरिएको सूर्यमुखी तेल गुणस्तरहीन भेटिएको थियो।

विराटनगर खाद्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै १० वटा उद्योगमाथि गुणस्तरहीन उत्पादनको अभियोगमा मुद्दा दायर गरिएको छ।