यहाँ चर्चा गरिन लागेको कुरा एकदमै फरक छ । कसैले कुनै कुराको चर्चा गर्छ, कसैले कुनै । कसैले इतिहासको कुरा गर्छ त कसैले त्यो जमानामा यस्तो–यस्तो भएको थियो भनेर कुरा गर्छ । कसैले यतिपछिको कुरा गर्दछ कि जुन बेला तपाईँ यस संसारबाट जानुहुनेछ, त्यति बेला तपाईँको साथमा के हुनेछ ! भनिन्छ नि– ‘तपाईँले यस्तो गर्नुभयो भने यस्तो हुनेछ, तपाईँले यस्तो कर्म गर्नुभयो भने स्वर्ग जानुहुनेछ ।’ तपाईँले के गर्नुहुन्छ र के गर्नुहुँदैन, यी विभिन्न कुराहरू गरिन्छ ।
वर्षौंअगाडि, सय वर्ष या हजार वर्षपहिला के भयो– यस्ता कुराको चर्चा गर्नेहरू पनि धेरै छन् । मानिसहरूले यस्तो कुराको पनि चर्चा गर्दछन्— ‘यस्ता–यस्ता महापुरुष आउनुभयो । उहाँहरूले यस्तो–यस्तो गर्नुभएको थियो ।’ अनि मानिसहरूले उहाँहरूको कुरा सुनी कति राम्रो कुरा भनेर पनि भन्ने गर्छन् । तर अहिलेको समयका बारेमा कुरा गर्ने एकदमै कम छन् । म कुरा गर्छु– ‘अहिलेको’ । तपाईँँ र हाम्रो जीवनमा यो जुन अहिलेको समय छ, यो इतिहासको कुरा होइन, ‘अब’ को कुरा हो !
यदि कोही भोको छ र उसले तपाईँकहाँ आएर ‘मलाई खानेकुरा दिनुहोस्, म भोको छु’ भन्यो अनि तपाईँचाहिँ उसलाई सम्झाउन थाल्नुहोस्– ‘फलानो–फलानो ठाउँमा दुई हजार सालपहिले एकदमै मीठा–मीठा परिकार बनाउने गर्दथे । यदि तपाईँ त्यो समयमा जीवित नै हुनुभएको भए, ती मिष्ठान्न खाँदा तपाईँलाई निकै आनन्द आउने थियो ।’ अथवा, उसलाई कसैले सम्झाउन थालोस्– ‘तपाईँको यहाँ बस्ने समय पू्रा भएपछि, यदि तपाईँले जीवनमा सबथोक राम्रो गर्नुभएको छ र तपाईँ स्वर्गमा जानुभयो भने त्यहाँ तपाईँले खानका लागि लड्डु पाउनुहुनेछ, पुरी पाउनुहुनेछ– धेरै थरीका पक्वान्नहरू पाउनुहुनेछ ।
’ तपाईँलाई राम्ररी थाहा छ, त्यो मानिसले के गर्नेछ । त्यो मानिसले तपाईँलाई छोडेर अर्को मानिससँग सहायता माग्नेछ र भन्नेछ– ‘मलाई भोक लाग्यो । के तपाईँसँग खानेकुरा छ ?’ यदि फेरि त्यो अर्को मानिसले पनि त्यसै गरी भाषण सुनायो भने ऊ तेस्रो व्यक्तिकहाँ जानेछ । ऊ कहिलेसम्म गइरहनेछ ? जहिलेसम्म उसको भोक मेटिँदैन ।
भोकको निवारण गर्नु, भोक मेटाउनु भनेकोे भाषाको विषय होइन । किनभने उसलाई सम्झाउनेहरू त यस्ता पनि होलान्, जसले भन्नेछन्– ‘वास्तवमा भन्ने हो भने त तपाईँलाई भोक नै लागेको छैन । तपाईँ किन आपूmलाई भोको ठान्नुहुन्छ ? यो त तपाईँको कर्मको फल हो । तपाईँले पूर्वजन्ममा कुनै न कुनै गलत काम गर्नुभएको थियो होला । त्यसै कारणले अहिले तपाईँ यस्तो दुःख भोगिरहनुभएको छ । तपाईँले खाना त पाउनुभएको छैन ।
यो तपाईँको कर्मको फल हो ।’ उसलाई जतिसुकै भाषण सुनाऊँ, उसलाई जतिसुकै सम्झाऊँ तर उसको भोकलाई मेटाउनु भनेको खानेकुराकै विषय हो । जब त्यो मानिसले खानेकुरा पाउँछ र उसले खानेछ– खाना पाउने मात्रै कुरा होइन, खानै पर्ने कुरा पनि हो । खानेकुरालाई अगाडि राख्दैमा मात्र ऊ सन्तुष्ट हुन सक्दैन । जब खानेकुरा पाउनेछ अनि त्यसलाई खानेछ, तबमात्र उसको भोक मेटिनेछ । उसको भोक मेटिएपछि मात्र उसले समस्याबाट छुटकारा पाउनेछ । अनि ऊ सन्तुष्ट हुन सक्छ ।
हामीभित्र पनि एउटा भोक छ ।
हामी के ठान्दछौँ भने, त्यो विभिन्न कुराहरूको भोक होला । कोही ठान्दछ, छोराको भोक हो । कोही ठान्दछ, धनको भोक हो । भनिन्छ– अपबल, तपबल र बाहुबल अनि चौथो बल हो दामको । यसको अर्थ के हो ? यस संसारमा केही मानिसले के ठान्दछन् भने, ‘अपबल’ ठूलो कुरा हो । मानिसले यस कुरामाथि गर्व गर्छ । मैले त यस्तो यो गरेँ, मैले त्यो गरेँ । म त्यहाँ गएँ । म त त्यहाँ पनि पुगेर आएको छु– यो हो ‘अपबल’ । ‘तपबल’– मैले त यो गरिदिएँ । मैले त त्यो गरिदिएँ, मैले दान गरेको छु । अनि बाहुबल, यो पनि त बल हो । मानिसहरू ठान्दछन्, म त हट्टाकट्टा छु । चौथो बल हो दाम अर्थात् रुपियाँ । मानिसहरूलाई यसमा पनि घमण्ड छ ।
यो दुनियाँको सङ्घर्षमा हामी झगडा गरिरहेका छौँ । यो युद्धमा पहिला हामी सोच्दछौँ– यदि मसँग ‘अपबल’ भयो भने मैले जित्नेछु । ‘तपबल’ भयो भने मैले जित्नेछु । ‘बाहुबल’ भयो भने मैले जित्नेछु । जब सबै कोशिश गरेर मानिस हार्दछ । जब पैसाले पनि काम गर्दैन । आफ्नो बलले पनि काम गर्दैन । तपस्याको, परिश्रमको बलले पनि काम गर्दैन । पाखुरीको बलले पनि काम गर्दैन । जब हार्दछ अनि हृदयमा शान्तिको तिर्खा लाग्छ ।
यो तिर्खा सबै मानिसको हृदयमा लाग्दछ । पहिला तिर्खा दिमागमा लाग्छ अनि मानिस यताउता जान्छ । भौँतारिन्छ र भन्दछ– ‘म त किताब पढ्नेछु ।’ उसले किताब पढ्छ र किताब पढेपछि के पाउँछ ? जुन कुरालाई हामीले विचारले, सोचाइले बुझ्न सक्दैनौँ, यदि हामीले त्यसलाई कल्पना गरेर प्राप्त गर्ने कोशिश ग¥यौँ भने पनि हामीले जे प्राप्त गर्छाैँ ती सबै निरर्थक हुनेछन्, किनकि त्यो चिज कल्पनाभन्दा बाहिरको हो ।
हामीमा सोच्ने, विचार गर्ने जुन शक्ति छ त्यो सानोतिनो होइन, एकदमै ठूलो छ । कसरी ? यदि मैले नेपालबाट अमेरिका जाने कोशिश गरेँ भने हवाईजहाजमा एक–दुई दिन लाग्न सक्छ । तर म कल्पना गरेर नेपाल फर्किन चाहेँ भने कतिबेर लाग्छ र ? मैले त यहाँबाट हल्लिनु पनि पर्दैन । केवल कल्पना ग¥यो, कल्पनाद्वारा, विचारद्वारा म तुरुन्तै नेपालमा आइपुग्छु ।
त्यस कारण सोच्ने कुरा छ । शरीरद्वारा होइन । कल्पनाद्वारा मानिस कहाँबाट कहाँ पुग्न सक्छ । यो कल्पना शक्ति हो । खानेकुराका बारेमा, पक्वान्नका बारेमा वर्णन गरेर पुग्दैन । धेरै पटक के भएको छ भने, म वर्णन गर्न थाल्छु अनि मानिसहरूको मुखमा पानी आउन थाल्दछ । अर्थात् कल्पनामा नै यति शक्ति भयो कि हाम्रो मुखमा पानी पनि आउन थाल्यो । त्यस कारण विचारले, शब्दहरूले हामी चिजहरूको व्याख्या गर्न सक्छौँ । शब्दद्वारा हामी एक–अर्कोलाई थुप्रै कुरा भन्न सक्छौँ ।
यहीँनेर मानिसहरूको कमजोरी हुन्छ । वर्णनमा नै उनीहरूलाई यति आनन्द आउन थाल्दछ कि उनीहरू वर्णनमै अड्किन्छन् । त्योभन्दा बाहिर निस्किँदै निस्किँदैनन् । कतिपय मानिसहरू त यस्ता पनि छन्– पुस्तक पढ्न थाले भने पुस्तक नै पढिरहन्छन्, पढिरहन्छन् । एउटा होइन, त्यसपछि दोस्रो पनि पढ्छन् । त्यसपछि तेस्रो पनि पढ्छन् । यदि उनीहरूसँग त्यसमा लेखिएको कुरा पाउनुभयो भनेर सोध्नुभयो भने भन्दछन्, ‘अहँ पाएनौँ हजुर पाएनौँ । तर त्यसको वर्णनलाई पढ्दा रमाइलो लाग्यो ।’ जुन कुराको खोजी छ यदि त्यो पाउनुभएन भने त्यसलाई पढ्नु, उच्चारण गर्नु, त्यसको वर्णन गर्नुको अर्थ के भयो र ? त्यसको के फाइदा भयो र ?
मानिसलाई प्रत्यक्षीकरणको आवश्यकता छ । प्रत्यक्ष ! जसलाई उसले अनुभव गर्न सकोस् । महसुस गर्न सकोस् । सिद्धान्तका कुरा होइन । भोकोलाई सिद्धान्तको आवश्यकता पर्दैन । तिर्खालुलाई सिद्धान्तको आवश्यकता पर्दैन । प्यासीलाई चाहिन्छ पानी । भोकोलाई चाहिन्छ भोजन । त्यस्तै गरेर हृदयको तिर्खा तब मेटिनेछ, हृदयको तिर्खा तब तृप्त हुन्छ जब उसले त्यो वास्तविक चिजलाई पाउँछ । त्योभन्दा पहिला होइन । यो कुराको अनुभव मानिस स्वयंले गर्नुपर्छ । ठीक छ, अब मलाई शान्ति भयो भनी मनले मानेर हुँदैन । पहिले शान्तिको अनुभूति हुनुपर्दछ, जुन शान्तिको खोजी मानिसलाई छ, त्यो ऊभित्रै छ ।
पढ्ने अभिरुचि मानिसको एउटा आवश्यकता हो । आवश्यकता किन पनि छ भने, गुणस्तरीय जीवनयापन गर्नका लागि यसको मत्त्वपूर्ण भूमिका छ । जीवनलाई सफल पार्नका लागि हामी पढेलेखेर सफल मानिस बन्दछौँँ । तर के तपाईँले कहिल्यै आफ्नो हृदयको किताब पढ्नुभयो ? यो किताबको हरेक पानामा स्पष्ट लेखिएको छ, ‘तपाईँ एकदमै धन्य हुनुहुन्छ ।’ तर, सांसारिक किताबमा ‘तपाईँसँग के–के छैन’ भनेर लेखिएको छ । हृदयको किताबमा लेखिएको छ, ‘तपाईँसँग के–के छ ! तपाईँसँग यो श्वास छ, यो जीवन छ अनि तपाईँ धन्य हुनुहुन्छ ! तपाईँलाई मानिसको शरीर प्राप्त भएको छ ।’
यस किताबमा राम्रो–नराम्रोका बारेमा व्याख्या तथा विश्लेषण गरिएको छैन । तर, यसमा भनिएको छ, ‘जुन चिजको तपाईँलाई वास्तवमा आवश्यकता छ, त्यो पहिलादेखि नै तपाईँभित्र छ ।’ यदि त्यसलाई तपाईँले बाहिर खोज्नुभयो भने त्यहाँ तपाईँ भेट्टाउन सक्नुहुन्न । हृदयको किताबलाई पढ्नका लागि तपाईँ पढेलेखेको हुनुपर्छ भन्ने छैन । एउटा अनपढ व्यक्तिले पनि यो किताबलाई पढ्न सक्छ, किनकि यसको अक्षर अलि अचम्मको छ, जुन हाम्रो भावनासँग सम्बन्धित छ, विचारसँग होइन ।
यो हृदयको किताबको पानामा मूलरूपमा यो लेखिएको छ, ‘यो जिन्दगीलाई आनन्दसँग बिताउनु छ । शान्तिपूर्ण तरिकाले बिताउनु छ ।’ यदि तपाईँले आफ्नो जीवनलाई आनन्द र शान्तिमय ढंगले बिताउन शुरु गर्नुभयो भने तपाईँ डराउनुपर्दैन । जीवनमा भौँतारिनुपर्ने छैन । जीवनलाई सार्थक बनाउने तरिका के हो भने, तपाईँको जीवनमा यस्तो प्रकाश आओस्, जसको आगमनले अँध्यारो हटेर जाओस् ।
हरेक व्यक्तिका लागि सबैभन्दा ठूलो खुशीको खबर के हो भने, ‘जुन चिजको उसलाई खोजी छ, त्यो ऊभन्दा टाढा छैन, उसको एकदमै निकट छ ।’ त्यो वास्तविक शान्ति तपाईंको हृदयमा अवस्थित छ । यो सम्भावनालाई चिन्नुहोस् । तपाईं त्यो शान्ति र आनन्दको अनुभव गरेर आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ ।
केवल शान्ति–शान्ति भनेर शान्तिको अनुभव हुँदैन । आफ्नो जीवनमा शान्तिको अनुभूति हुनु अत्यन्तै आवश्यक छ । तसर्थ हरेक व्यक्तिले आफ्नो जीवन सचेत भएर बाँच्नु आवश्यक छ । हृदयको किताबलाई बिर्सनुहुन्न । यहाँ त केवल एक–दुई पन्नाका केही मात्र पङ्क्तिहरूको चर्चा भएको छ । यसमा हरेक चिजका बारेमा लेखिएको छ– आनन्दका बारेमा लेखिएको छ, शान्तिका बारेमा लेखिएको छ अनि यो जीवनलाई सफल बनाउने बारेमा लेखिएको छ ।
जुन दिन तपाईँ साँच्चै कति धनी हुनुहुन्छ भन्ने यथार्थ तपाईँलाई अवगत हुनेछ, तपाईँले आफूले आफैँलाई धन्य भएको महसुस गर्नुहुनेछ, तपाईँको जीवन सुखमय बन्नेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण . डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया