काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गरे ५ सय रुपियाँ जरिवाना गर्ने भएको छ । कामपाले यो नियम भदौ १ गतेबाट लागू गर्न लागेको हो । कामपा प्रहरीले नियम लागू गर्नुअघि राजधानीका सबै क्षेत्रमा प्लेकार्डसहित माइकिङ शुरू गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले साउन महिनाभर प्रचारप्रसारसहित जनचेतना अभियान सञ्चालन गर्ने र भदौ १ गतेबाट कारबाही थाल्ने भएको छ ।
‘शुरूमा सार्वजनिकस्थलमा धूम्रपानजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यववस्था गरेका थियौं, अब सार्वजनिक स्थलमा बेच्नमात्र होइन खानसमेत नपाइने व्यवस्था गर्न लागेका हौं’–प्रहरी बल प्रमुख पाण्डेले भन्नुभयो । उहाँका अनुसार सार्वजनिक स्थलको सय मिटर वरपर बेच्न नपाइने व्यवस्थालाई यथावत राखी त्यसबाहेकको क्षेत्रमा सेवन गर्न नपाइने व्यवस्था गर्ने निर्णय गरेको हो ।
महानगरले विद्यालय, अस्पताल, पार्कलगायतका स्थलमा धूम्रपान सेवन गर्न पूर्ण निषेध गरेका जानकारी दिँदै पाण्डेले भन्नुभयो– ‘नेपाल प्रहरीको सहयोगमा व्यापक जनचेतना शुरू गरिरहेका छांै, अब पूर्ण रूपमा धूम्रपान निषेध स्थल बनाउने तयारी गरिरहेका छौं ।’
पाण्डेका अनुसार साउन ३२ गतेसम्म सार्वजनिक क्षेत्रमा धूम्रपान गर्नेलाई सम्झाई बुझाई गर्ने र भदौ १ बाट कारबाही शुरू गरिने छ । कामपाले यसअघि २०७९ साल असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको थियो । सो व्यवस्था कार्यान्वयन हुन नसकेको जिकिर गर्दै प्रहरी प्रमुख पाण्डेले अब कडाइका साथ निर्णय कार्यान्वयन गरिने दाबी गर्नुभयो ।
कामपाको नगरसभाको ११ औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूम्रपान गर्नेमाथि कारबाही गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ ।
प्रचलित कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन काठमाडौं महानगरपालिकाबाट सूचना जारी गरिएकोले यो सूचनाको उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा जरिवाना हुने जनाएको छ ।
प्रहरीका अनुसार हरेक रेस्टुराँले छुट्टै धुम्रपान स्थल राख्नुपर्ने गरी व्यवस्था गर्न लागेको जनाएको छ । विशेषगरी बढी भिडभाड हुने ठमेल, रत्नपार्क, सपिङमल, फुटपाथ, अस्पताल परिसर, विद्यालय, खेलमैदानलगायत क्षेत्रमा निगरानी बढाउने भएको छ । प्रहरीले त्यस्ता स्थानमा पहिलो पटक धूम्रपान गरेमा ५ सय जरिवाना गरी रेकर्ड राख्ने भएको छ ।
प्रहरीले विशेषगरी ठमेलमा बढी निगरानी राख्ने भएको छ । प्रमुख जिल्ला अधिकारीको सहयोगमा २४ सै घण्टा खुुला हुने ठमेल क्षेत्रमा राती १० बजेपछि बाटोको छेउछाउ र सार्वजनिक क्षेत्रमा धुम्रपान र मध्यपान बिक्री वितरण निषेध गर्ने तयारी भइरहेको छ । कामपा प्रहरी बल प्रमुख पाण्डेका अनुसार मध्यरातमा युवा युवतीहरूले बाटोमै मादक पदार्थ सेवन गरी अश्लीलता देखाउन थालेपछि राती १० बजेपछि धूम्रपान र मध्यपान बिक्री वितरणमा रोक लगाउने तयारी गरेको हो । उहाँले यस विषयमा सरोकारवालासँग कुराकानी भइरहेको र चाँडै नै यो विषयमा निर्णय हुने जानकारी दिनुभयो ।
यसअघि २०७६ सालमा सरकारले सार्वजनिक स्थानमा धूम्रपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई पत्र लेख्दै सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ निषेधलाई कार्यान्वयन गराउन निर्देशन दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रहको आधारमा मन्त्रालयले सरकारी वा सार्वजनिक कार्यालय, विद्यालय, कलकारखाना, मठमन्दिर, डिपार्टमेन्ट स्टोर, रंगशालालगायत धेरे मान्छे भेला हुने ठाउँमा धूम्रपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न निर्देशन दिएको थियो । यद्यपि, उक्त निर्देशन हालसम्म कार्यान्वयन हुन सकेको छैन । फेरि कामपाले सोही निर्णय कार्यान्वयन गर्न खोजेको छ ।
मन्त्रालयको निर्देशनअनुसार अब स्थानीय तहहरूले आ–आफ्ना नगरपालिका र गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको र अवज्ञा गरेमा गरिने कारबाहीको जानकारी दिन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ ।
उक्त सूचनामा स्थानीय तहले सर्वसाधारणलाई जानकारी हुनेगरी आ–आफ्नो कार्यालय र स्थलमा धूम्रपान र सुर्तीजन्य निषेधसम्बन्धी सूचना स्पष्टसँग देखिनेगरी राख्नुपर्नेछ ।











प्रतिक्रिया