काठमाडौं ।
लामो समयदेखि विवादमा अल्झिँदै आएको नागरिक उन्मुक्ति पार्टीमा फेरि एकपटक नाटकीय मोड लिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउँदै संस्थापक नेता रेशम चौधरीले आफ्ना पिता लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्षको जिम्मेवारी दिनुभएको छ । यससँगै पार्टीभित्रको आन्तरिक कलह, शक्ति संघर्ष र पारिवारिककरणको आरोप पुनः चुलिएको छ ।
पूर्वसांसद तथा थरुहट आन्दोलनका मुख्य अभियान्ता रेशम चौधरीद्वारा स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टीले छोटो समयमै नेपालको राष्ट्रिय राजनीतिमा पृथक् पहिचान बनाएको थियो । तर, पार्टी स्थापनाको दुई वर्ष नपुग्दै आन्तरिक शक्ति संघर्ष, आर्थिक अनियमितता र नेतृत्वको असन्तुलनको आरोपसँगै अहिले नेतृत्व नै फेरिएको छ ।
रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउँदै आफ्नै बुबा लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाउनुभएको छ । अध्यक्ष परिवर्तनको निर्णयसँगै पार्टी विवाद झन् चर्किएको छ । पार्टीभित्र दुई गुट बनेको खुलेरै देखिन थालेको छ ।
पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठमाथि पोखराको लिचीबारी जग्गा घोटाला प्रकरणमा संलग्न भएको आरोप लागेपछि रेशम चौधरीले उहाँलाई हटाउने निर्णय गर्नुभएको थियो । सो प्रकरणमा श्रेष्ठमाथि घुस लेनदेन र जग्गा कारोबारमा अवैध संलग्नताजस्ता आरोप सार्वजनिक भएसँगै चौधरीले पार्टीको नेतृत्व परिवर्तन गर्नुभएको थियो ।
यद्यपि, श्रेष्ठले आफ्नो पक्षमा स्पष्ट वक्तव्य नदिए पनि उहाँलाई पक्षपोषण गर्ने पार्टीका केही नेताहरूले यो निर्णय एकलौटी भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार रेशम चौधरीले कुनै प्रक्रिया नअपनाईकन स्वेच्छाचारी ढंगले आफ्नै बुबालाई अध्यक्ष नियुक्त गर्नुले पार्टीको लोकतान्त्रिक मूल्यमा गम्भीर प्रहार पुगेको छ ।
पार्टीभित्र बढ्दो द्वन्द्व
पार्टीभित्र विगत केही समयदेखि एक अर्कालाई निलम्बन गर्ने, कारबाही गर्ने निर्णयहरू सार्वजनिक हुँदै आएका छन् । रञ्जिता श्रेष्ठ पक्षधरहरूले रेशम चौधरीमाथि नै पार्टी विधान उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । अर्कोतर्फ, रेशम पक्षले श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै उनीमाथि कारबाहीको तयारी गरिरहेको बताइएको छ ।
हाल पार्टी दुई खेमामा बाँडिएको छ । रञ्जिता समर्थक, यो नेतृत्व परिवर्तनलाई अन्याय ठानेको छ भने रेशम–लालवीर समूहले पार्टीलाई सफा गर्न यो कदम आवश्यक भएको दाबी गरेका छन् ।
राजनीतिक विश्लेषक डा. भेषराज अधिकारीले यो निर्णय नागरिक उन्मुक्तिलाई पारिवारिक संस्थानमा रूपान्तरण गर्ने संकेत भएको बताउनुभएको छ । लोकतान्त्रिक पार्टीको रूपमा अघि बढ्ने घोषणासँगै गठन भएको यो पार्टी अहिले परिवारको घेरामा सीमित हुन थालेको छ ।
उहाँले भन्नुभयो– ‘नैतिक आधारमा अध्यक्ष परिवर्तन हुनु अस्वाभाविक होइन । तर, प्रक्रिया र पारदर्शिताको ख्याल राख्नुपर्ने हो । रेशम चौधरीले परिवार र पार्टीलाई अलग राख्न नसकेकाले अहिले पार्टी संकटमा पर्न थालेको छ ।’
अध्यक्ष परिवर्तन प्रक्रिया विवादास्पद भएको भन्दै केही पार्टी सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् । यसबीचमा, पोखराको लिचीबारी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रारम्भिक अध्ययन थालेको बताइएको छ । यदि, त्यसमा रञ्जिता श्रेष्ठ संलग्नता देखियो भने त्यसले पार्टीको छविमा गम्भीर धक्का पुग्ने देखिन्छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम र मधेसमा ठूलो समर्थन लिएर उदाएको थियो । तर, संगठनभित्र चलिरहेको अविश्वास, नातावाद र एकल नेतृत्वका कारण पार्टी अब अस्तित्व संकटतर्फ उन्मुख भएको देखिन्छ । आगामी निर्वाचनसम्म पार्टीभित्र एकता सम्भव नहुने हो भने नाउपाको राजनैतिक भविष्य अन्योलमा पर्न सक्ने देखिन्छ ।
रेशम चौधरीले पत्नीलाई हटाएर बुबालाई अध्यक्ष बनाउनु पार्टी सुदृढीकरणको प्रयास हो कि, आफ्नै नियन्त्रणमा ल्याउने चालमात्रै भएको आरोप लागेको छ । यथार्थ यत्ति हो कि नागरिक उन्मुक्तिमा अहिले नेतृत्वभन्दा पनि अस्तित्वको संकट गहिरिँदै गएको छ ।











प्रतिक्रिया