२५ करोड तस्करीका मालिक पौडेलका व्यावसायिक साझेदार को को हुन् ?

किन हुँदैन खोजी ?


–त्यही गिरोह फेरि सुन तस्करीमा संलग्न भएको हुनसक्ने आशंका
–सुटुक्क अदालत आए, खुसुक्क छुटे
–फेरि धन्दा चलाएको आशंका
–हङकङमा करोडौं डलर तस्करी

काठमाडौं ।

गत चैत्रमा राजस्व अनुसन्धान विभागले सुन तस्करीका लागि लैजाँदै गरिएको २५ करोड रुपियाँ तस्करीमा संलग्नहरूको खोजतलास गर्दा त्यसका मालिक पहिचान गरे पनि पक्राउ गर्न सकेन । प्रहरीबाट सहयोग नपाएपछि राजस्व अनुसन्धान विभागले ती मालिकलाई फरार रहेकै अवस्थामा काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । विभागका अनुसन्धान अधिकृतको दुई सातासम्मको सूक्ष्म अनुसन्धानले सो रकमको मालिक सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका–१० महादेवटार बस्दै आइरहेका नारायण पौडेल रहेको तथ्य फेला पारेको थियो ।

विभागले उनलाई पक्राउ गर्न नसकेपछि फरार रहेकै अवस्थामा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पनि पौडेल भने केही दिन अघिमात्रै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर सुटुक्क धरौटीमा छुटेका छन् । तर, पौडेलमाथि थप अनुसन्धान हुन नसक्दा उनीसँग व्यावसायिक साझेदार रहेका माथिल्लो तहका व्यक्तिहरू उम्कन सफल भएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले गत २०८१ साल चैत्र ४ गते काठमाडौंको उत्तरी भेगमा पर्ने टोखा नगरपालिका–२ झोरमा २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपियाँ बराबरको डलर र युरो बरामद गरेको थियो । प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकमा राखेर लैजान लागिएको सो रकम बरामद गर्नुका साथै रकम लिएर जान लागेका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भएका ४३ वर्षीय लामालाई पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरीले बरामद भएको रकम, ट्रक र चालकलाई गत चैत ५ गते नै थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । त्यसलगत्तै विभागका तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरेले विभिन्न अनुसन्धान टोलीहरू बनाएर घटनाको विस्तृत अनुसन्धान थालेपछि सो तस्करीको पैसाको मालिक पौडेल रहेको र उनीसँग केही उच्च राजनीतिक व्यक्तिहरूको समेत ‘कनेक्सन’ रहेको हुन सक्ने औंल्याउनुभएको थियो ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार त्यतिबेला पौडेललाई पक्राउ गरी उनीसँग जोडिएका व्यक्तिहरूको बारेमा समेत छानबिन गर्ने तयारी गरिएको थियो तर पौडेललाई पक्राउ गर्न प्रहरीबाट असहयोग भएपछि विभाग असफल भएको थियो । विभागका एक अधिकारीका अनुसार पौडेलसँग ठूलै राजनीतिक ‘नेक्सस’ रहेको र केही व्यक्तिहरू उनीसँगको व्यावसायिक साझेदार रहेको हुन सक्ने भए पनि पौडेललाई पक्राउ गर्न नसक्दा ती साझेदार व्यक्तिहरू उम्कन सफल भएका हुन् ।

‘पौडेललाई नियन्त्रणमा लिएर उनको मोबाइलमार्फत सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्ने योजना बनाएका थियांै तर प्रहरीको असहयोगले उनी पक्राउ पर्न सकेनन् ।’ राजस्व अनुसन्धान विभागका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । ती अधिकारीले पौडेलसँग व्यावसायिक साझेदार रहेकाहरूले आफू पनि उनीसँगै कारबाहीमा पर्न सक्ने भयले उनलाई भारतमा लगेर लुकाएको हुन सक्ने दाबी गरे । पछि पौडेल एकै दिनमा अदालतमा उपस्थित भई सोही दिन नै धरौटीमा छुट्न सफल भएका थिए ।

स्रोतका अनुसार अघिल्लो वर्ष बरामद भएको साढे ६१ किलो सुन तस्करीमा संलग्न रहेका उच्च राजनीतिक व्यक्तिहरू यस प्रकरणमा पनि कुनै न कुनै रूपमा संलग्न रहेको केही प्रमाणहरू विभागले फेला पारेको थियो । तर, विभिन्न कारणले त्यतिबेला विभागले ती प्रमाणहरूका बारेमा थप अनुसन्धान अघि बढाउन सकेन् । पौडेल यसअघि रक्तचन्दन तथा विभिन्न सुन तस्करी प्रकरण, जुवा प्रकरण र हुण्डी कारोबारमा समेत जोडिएका थिए ।

उनी माओवादी केन्द्र निकट मानिन्छन् । उनलाई माओवादी केन्द्रका केही शीर्ष नेताहरूको संरक्षण रहेको स्रोतको दाबी छ । विभागले पौडेल ठूलो कारोबार गर्ने तस्कर रहेको औंल्याउँदै उनको सम्पूर्ण सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार गरेको थियो । विभागले पौडेल तथा नगदसहित पक्राउ परेका ‘फुच्चे’ भनिने चालक कुसाङ लामालाई विदेशी विनियमको अवैध ओसारपसार तथा अपचलनमा मुद्दा दायर गरेको थियो ।

चालक लामालाई काठमाडौं जिल्ला अदालतले जेल चलान गरे पनि सो रकमका मालिक पौडेललाई भने धरौटीमा छोडिदिएको हो ।यसअघि पनि पौडेल विभिन्न आपराधिक प्रकरणमा मुछिएका थिए । २०५९ मा हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा उनी राजस्व अनुसन्धान विभागबाट पक्राउ परेका थिए ।

ऊन आयातको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकबाट एलसी खोल्ने, तर ऊन आयात नगरी डलर तस्करी गर्ने उनको धन्दा त्यतिबेलै सार्वजनिक भएको थियो । सोलु र पर्साका विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर उनले यो गैरकानुनी कारोबार सञ्चालन गरेका थिए । पक्राउपछि जेल बसेका पौडेलले विभिन्न पहुँच प्रयोग गरी छुटेका थिए । पौडेलविरुद्ध २०७४ सालमा सीआईबीले सुन तस्करीमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापश्चात् उनी फरार भएका थिए । तर, माओवादीकै केही मन्त्रीहरूको सहयोगमा उनलाई बचाइएको थियो । अहिले पनि उनले बाहिर बसेर फेरि उही धन्दा चलाइरहेको हुन सक्ने आशंका गरिएको छ ।

साढे ६१ किलो सुन तस्करीको अनुसन्धान पनि दावामै गएर रोकिएको थियो

राजस्व अनुसन्धान विभागबाट योजनाबद्ध रुपमा प्रहरीको सीआईबीकहाँ पुर्‍याइएको साढे ६१ किलो सुन तस्करी छानबिन प्रकरण पनि चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङमा गएर रोकिएको थियो ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनअनुसार सीआईबीले दावासँग ‘कनेक्सन’ रहेका माथिल्लो तहका बारेमा छानबिन गर्न नसक्दा सुन तस्करीमा संलग्न रहेका उच्च राजनीतिक नेतृत्व उम्कन सफल भएका थिए । सम्भवतः हालको २५ करोड डलर प्रकरणको माथिल्लो तह र त्यतिखेरको साढे ६१ किलो सुन तस्करीको माथिल्लो तह एउटै रहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार राजनीतिक दबाब र प्रभावका कारण त्यति बेला सीआईबीले सुन तस्करी प्रकरणको विस्तृत छानबिन नगरी बीचैमा मुद्दा दायर गरेको थियो । सीआईबीले दावाको कल डिटेल्स र इलेक्ट्रिक डिभाइसका बारेमा सूक्ष्म अनुसन्धान गरी दावासँग कनेक्सन देखिएका नेपालीहरुको बारेमा छानबिन गर्न माथिको दबाब र प्रभावका कारण कुनै रुचि नदेखाएपछि माथिल्लो तह उम्कन सफल भएको थियो ।

स्रोतका अनुसार चिनियाँ, भारतीय र नेपाली गरी तीनवटा ग्याङसँग दावाको कनेक्सन देखिए पनि सीआईबीको अनुसन्धानको तारो भने चिनियाँ ग्याङमा मात्रै सीमित भएको थियो । सीआईबीले त्यति बेला दावाको कल डिटेल्सलाई निष्पक्षतापूर्वक र कुनै दबाबबिना नै अध्ययन गर्न पाएको भए केही नेपाली उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसमेत छानबिनको दायरामा आउने निश्चित जस्तै थियो ।