सडक यातायात र हवाई यातायात दुवैको सहजताले मुगुको रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेपछि राराको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । देशकै ठूलो तालका रूपमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो ताललाई राराकी अप्सरा र महेन्द्र तालको उपमाले समेत चिनिने भए पनि यातायात सहजता नभएका बेला पर्यटकहरूको पर्खाइमा थियो ।
१२–१५ वर्षअगाडिबाट हवाई र सडक यातायातले मुगु जिल्ला जोडिएपछि अहिले यो तालको पर्यटन प्रवद्र्धनमा केही प्रचार–प्रसार हुन गई स्वदेशी तथा विदेशी पर्यटकहरू रारा पुग्न थालेपछि राराको पर्यटन क्षेत्र बामे सर्न थालेको हो ।
यातायात नहुँदा र राराको प्रचारप्रसार नभएकाले आजभन्दा १५ वर्षअगाडि रारा पुग्नका लागि नेपालगन्जबाट हवाईजहाजमा जुम्ला र बाजुराको विमानस्थल भई त्यहाँँबाट दुई दिन लगाएर रारा पुग्नुपर्ने बाध्यता थियो । २०५९ बाट मुगुको रारा विमानस्थल र २०६९ मा नाग्म–गमगढी सडकबाट यातायात सुचारुले गर्दा रारा पुग्न केही सहजता भएकै कारणले रारामा अहिले बर्सेनि हजारौं आन्तरिक पर्यटक र सयौंको संख्यामा विभिन्न देशबाट विदेशी पर्यटकहरू पुग्ने गरेका छन् ।
गत आर्थिक वर्षको साउनदेखि झन्डै एक वर्षको बीचमा स्वदेशी तथा विदेशी पर्यटकहरू १० हजारजना रारा पुगेको रारा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । मुगुको रारा ताल पुग्नका लागि सडक तथा हवाई यातायातले केही सहजता भएपछि पाँच वर्षयताको तथ्यांक हर्दा एक लाखभन्दा बढी पर्यटक त्यहाँ पुगिसकेका छन् । अझै राराको पर्यटन प्रवद्र्धनमा सबैतिरबाट ध्यान पुर्याउने हो भने वार्षिक एक लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू रारा पुग्ने आँकलन पर्यटन व्यवसायीको छ । सबैभन्दा पहिला कम खर्चमा रारा पुग्नका लागि सडक यातायात भएकाले सुर्खेतदेखि नाग्मासम्मको सडक स्तरोन्नतिका साथै नाग्मा–गमगढी सडकखण्डको पिच गर्नुका साथै नेपालगन्जबाट उडान हुने जहाजहरूको नियमित उडान गरिए मात्र रारामा आउने पर्यटकको संख्या वृद्धि हुन्छ ।
यातायात सहज भएपछि रारातालको किनारमा केही होटल स्थापना भए । रारा क्षेत्रको सल्लेरीमा पनि केही सुविधा सम्पन्न होटलसहित साना मझौला एक दर्जन जति र माझ घट्ट मुर्मा टपमा त्यस्तै खालका एक दर्जन जति होटलहरू सञ्चालनमा रहेका छन् । यी होटलहरूमा रारा आउने विदेशी तथा स्वदेशी पर्यटकहरू बास बसेकै कारणले स्थानीयले रोजगारी पाउनुका साथै व्यापार व्यवसायमा सर्वसाधारण आकर्षित भएका छन् ।
रारा आउने पर्यटकहरूको संख्या दिनहुँ वृद्धि हुन थालेको भए पनि स्थानीय युवाहरूले कुनै लाभ नपाएको भन्दै धेरै विदेश जान तयार थिए । यहाँ पुग्ने पर्यटकहरूको रोजाइ घोडा सफारी हुन थालेपछि पासपोर्ट बनाएर विदेश जान तयारी युवाहरू रोकिए । यहीँ व्यवसाय गर्न थाले ।
जिल्लामा सडक यातायात पुगेसँगै हराउँदै गएको घोडापालन व्यवसाय फस्टाउँदा रारा आउने पर्यटकका लागि आकर्षण र सहज गन्तव्यको माध्यम बनेको छ घोडा । जिल्लामा सडक यातायात सहज भएपछि घोडापालन व्यवसाय गर्दै आएका कृषकहरूका घोडा २० हजारमा पनि बिक्री हुन नसक्दा यो व्यवसाय नै छोड्नुपर्ने बाध्यता भएको थियो । तर अहिले रारा आउने पर्यटकको संख्या वृद्धि हुँदा पुनः घोडा व्यवसाय गर्ने कृषक खुशी भएका छन् । अहिले उनीहरूको एउटा घोडा १ लाखदेखि १ लाख ५० हजार मूल्यमा बिक्री हुने गरेको छ ।
पछिल्लो समय रारामा सबैभन्दा फस्टाएको घोडा सफारी व्यवसाय हो । यो व्यवसायमा मुर्मा, झयारी, टोप्ला र सिगाडी गाउँका युवायुवती संलग्न छन् । घोडा सफारीबाटै राम्रो आम्दानी हुने देखेपछि रोजगारीकै लागि राहदानी बनाएर विदेशिन तयार भएका युवाहरू राहदानी थन्क्याएर यो व्यवसायमा लागेको मुर्मा गाउँका सर्वसाधारणको कथन छ ।
सिजनमा यो व्यवसायबाट मासिक आम्दानी ५० देखि एक लाखसम्म पुग्छ । आफ्नो काम भनेकै रारा पुगेका आन्तरिक पर्यटकलाई माथिल्लो मिलीदेखि हुटुमा रहेको डाँफे, हिरिटेज रिसोर्ट र माझ घट्टमा रहेका होटलसम्म घोडा सफारी गराउनु हो । पर्यटकले चाहे घोडा खोजेमा होटलबाट मुर्मा टप र पुनः माथिल्लो मिली हुँदै सल्लेरीसम्म पु¥याउनुपर्छ । यहीँबाट सिजनमा मासिक ५० हजारभन्दा बढी कमाइ हुन्छ । गाउँघरमा रोजगारी नहुँदा विदेशिने सोच बनाएर पासपोर्ट बनाएका थिए । रारा आउने पर्यटकहरूको रोजाइमा घोडा सफारी पर्न थालेपछि आफू यो व्यवसायमा संलग्न भएको र आफूजस्ता १ सय ५० भन्दा बढी युवाहरूले घोडा सफारी व्यवसाय अँगालेको घोडा व्यवसायीको तर्क छ ।
ऊ बेला नेपालगन्जबाट हवाईजहाजमा जुम्ला र बाजुराको विमानस्थल हुँदै त्यहाँँबाट पनि दुई दिन लगाएर रारा पुग्नुपर्ने बाध्यता थियो । अहिले गाडीमै आरामसँग पुगिन्छ । सडक यातायात नहुँदा र राराको प्रचारप्रसार नभएकाले आजभन्दा १५ वर्षअगाडि रारा पुग्नका लागि नेपालगन्जबाट हवाईजहाजमा जुम्ला र बाजुराको विमानस्थल भई त्यहाँँबाट दुई दिन लगाएर रारा पुग्नुपर्ने बाध्यता थियो ।
२०५९ बाट मुगुको रारा विमानस्थल र २०६९ मा नाग्म–गमगढी सडकबाट यातायात सुचारुले गर्दा रारा पुग्न केही सहजता भएकै कारणले रारामा अहिले बर्सेनि हजारौं आन्तरिक पर्यटक र सयौंको संख्यामा विभिन्न देशबाट विदेशी पर्यटकहरू पुग्ने गरेका छन् रारा आउने पर्यटकहरूका लागि सुविधा सम्पन्न होटलहरू नहुँदा पर्यटकले सास्ती भोग्नुपर्ने बाध्यताबीच राराको मुर्मा टपमा विदेशमा रहेको नेपालीहरूको लगानीमा चारतारे रिसोर्ट निर्माण कार्य शुरु भएको छ । कर्णाली प्रदेशमा तीनतारेसम्मका होटलहरू सञ्चालन भएका भए पनि रारा पुग्ने पर्यटकका लागि एनआरएन अस्टे«लियाको लगानीमा कर्णालीकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण शुरु गरिएको छ ।
गतवर्ष काठमाडौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेकविक्रम शाहलगायतको टोलीले ड्रिम प्रोजेक्टका रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धतासहित नेपाल सरकारसँग रारा होल्डिङ्स रिसोर्टले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेअनुसार काम अगाडि बढाउन थालिएको छ ।
कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने यो रिसोर्टको पहिलो फेजमा कुल लागत एक अर्बमा निर्माण हुनेछ । पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुविधा सम्पन्न कोठामा ९८ शय्या हुनेछन् । दैनिक एक सयजना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने यो रिसोर्टको लक्ष्य रहेको छ । रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधासम्पन्न होटल नभएका कारण दुःखेसो पोख्दै आएका बेला सिन्जा भ्याली, रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो रिसोर्ट निर्माण गरिन लागेको रारा होल्डिङ्स रिसोर्टका परियोजना प्रबन्धक अरुण चन्दले जानकारी दिए ।
समुद्री सतहबाट ३५ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष १ सय २० जनाले रोजगारी पाउनेछन् भने एक हजारभन्दा बढीलाई अप्रत्यक्षरूपमा रोजगारीको सिर्जना गर्ने यो परियोजनाले विशेष गरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य रहेको उक्त रिसोर्टका प्रतिनिधि ऐटन मल्लले बताए ।
यो रिसोर्टको निर्माण शुरु गरिने भए पनि रारामा अन्य नेपालका ठूला होटलहरू लगानीका लागि जग्गा खरिद गरी कानुनी प्रक्रिया अगाडि बढाउन थालेका छन् । धेरै ठूला होटल कम्पनीहरूले मुर्माटप, सल्लेरीलगायत अन्य स्थानमा स्थानीयको जग्गा खरिद गरेर रारा होटल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाउन थालेका छन् । विश्वमा दुर्लभ मानिने असला जातका माछा पाइनुले राराको पानीको गरिमा बढेको छ ।
जुन औषधि र स्वादिलो माछा प्रजातिमा पर्दछ । रारामा लालिगुराँस, चिमालो, बुकीलगायतका फूलले समेत वातावरण सुगन्धित र रमणीय बनाएको छ । जसका कारण असोज र कार्तिक महिनामा देशी–विदेशी पर्यटकको ओइरो लाग्ने गर्दछ । देवदार, लौठसल्लो, धुपी सल्लो प्रजातिका फर्निचरयोग्य रुखहरुसमेतले नीलो रारामा हरियो पगरीले सजिएको देखिन्छ । हिमपातमा सेताम्य रारा परिसरबाहेक कान्जिरोवा र सिस्ने हिमालको छाया डुंगा चढेर नियाल्नेको संख्या पनि उत्तिनै छ । देशी तथा विदेश पर्यटक सडक यातायातबाट रारामा सररको सवार गरी स्थानीय देउडा हुडके, मागल, चम्फालगायतका मौलिक संस्कृतिको स्वाद लिनेको संख्या पनि बढी नै छ ।
यो वर्षको वैशाख १५ देखि जेठ अन्तिम सातासम्म भएको रारा महोत्सवले रारामा पूर्वाधार निर्माण छिटो गर्नुपर्ने औँल्याएको छ । यहाँ पर्यटक भित्र्याउन सके देशकै कायापलट हुने संकेत दिएको छ । सो पर्यटन मेलाले राराको मौलिक पहिचानको थप झझल्को दिएको छ । नेपालको ठूलो तालको रुपमा चिनिने रारा तालको क्षेत्रफल १०.८ वर्गकि.मि. रहेको छ । विश्वमै दुर्लभ मानिने रेड पाण्डा, डाँफे, कालिज, हिउँ भालु, कस्तुरी, मयुरलगायतका दर्जनौं पशुपन्छीको चिरिचराहट र दृश्यावलोकनले मन नै लोभ्याउँछ ।
रारा हेरेर फर्किएपछि नयाँ सृजना र सोचमा समेत परिवर्तन हुनुले पनि तनाव विर्सजन गर्न रारामा बेलाबेलामा राराले निम्तो दिएजस्तो हुन्छ । रारा पुगेर यहाँको प्यास मेटियो भन्ने कोही हुँदैन । अहिलेलाई बाइबाई फेरि छिट्टै भेटौंला रारा भन्दै रारामा असंख्य क्रियाकलापको फोटो र भिडियो खिच्नेहरु हुन्छन् । अनि यहाँ पाइने स्याउ, रातो मार्सी चामल, सिमी, तीते फापरलगायतका रैथाने परिकार बोकेर राराबाट केही दिनका लागि बिदा माग्छन् । हवाई यात्रा खर्चलो भएकाले आन्तरिक तथा बाह्य पर्यटकले स्थल मार्गबाट बस, हाइस, जिप, बाइकलगायतका साधनको प्रयोग गरी सस्तो र सुलभरुपमा रारा पुग्न सक्छन् । यसले गर्दा पर्यटकले समय र खर्चको बचत भई पूर्ण आनन्द लिने गरेका छन् ।











प्रतिक्रिया