कर्णाली विकास बैंक घोटालामा १११ जनाविरुद्ध मुद्दा, ३ अर्ब २० करोडको बिगो


काठमाडौं ।

कर्णाली विकास बैंक घोटालामा संलग्न ठहरिएका १११ जनाविरुद्ध भ्रष्टाचार र कर्जा अपचलन सम्बन्धी मुद्दा दायर गर्न लागिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि बाँकेको नेपालगन्जस्थित उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेले बुधबार अभियोगपत्र दर्ता गर्न लागेको हो।

घोटालामा संलग्नमध्ये धेरैजसो बैंकका सञ्चालक, कर्मचारी तथा गैरकानुनी रूपमा कर्जा उपयोग गर्नेहरू रहेका छन्। बाँके जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीका अनुसार दोषी ठहरिएकामध्ये चार जना पक्राउ परिसकेका छन् भने १०७ जना अझै फरार छन्।

३ अर्ब २० करोड बराबरको अपचलन

सीआईबीको अनुसन्धान प्रतिवेदनअनुसार कर्णाली विकास बैंकमार्फत ३ अर्ब २० करोड ११ लाख रुपैयाँ बराबरको कर्जा अपचलन भएको छ। पक्राउ परेकामध्ये प्रमुख अभियुक्तहरूमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य तथा पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत, र बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी अनुसन्धान गरिएको थियो। अनुसन्धान सकिएपछि सीआईबीले केही दिनअघि प्रतिवेदन बुझाएको हो।

राजनीतिक जालो : एमाले नेताहरू घोटालामा

घोटालामा संलग्न भनिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि समेत चासोको विषय बनेको छ। पूर्वअध्यक्ष मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट उम्मेदवारी दिएका मिश्र पराजित भएका थिए।

त्यस्तै, अर्का अभियुक्त राजेन्द्रवीर राय पनि एमालेकै उम्मेदवार थिए। शाहीका अनुसार सबै प्रतिवादीहरूको विस्तृत विवरणसहित अभियोगपत्र तयार पारिएको छ, जसलाई आज अदालतमा पेस गरिनेछ।