अष्टावक्र अद्वैत वेदान्तका महत्वपूर्ण ग्रन्थ अष्टावक्र गीताका ऋषि हुन् । अष्टावक्रको अर्थ आठ ठाउँमा टेढो हुनु हो । भनिन्छ, अष्टावक्रको शरीर आठ ठाउँमा टेढो थियो । उछालक ऋषिका छोराको नाम श्वेतकेतु थियो । उछालक ऋषिका धेरै शिष्यहरुमध्ये एक शिष्यको नाम कहोड थियो । कहोडलाई सम्पूर्ण वेदको ज्ञान दिएपछि उछालक ऋषिले उसको विवाह आफ्नै रुपवती एवं गुणवती कन्या सुजातासँग गरिदिए । केही समयपछि सुजाता गर्भवती भइन् । एकदिन कहोड वेदपाठ गरिरहेको बेलामा गर्भभित्रबाट बालकले भन्यो, ‘पिताजी तपाईंले वेदको गलत पाठ गरिरहनुभएको छ ।’
यो सुन्नेबित्तिकै कहोड रिसाएर श्राप दिए, ‘तैँले गर्भबाटै मेरो अपमान गरिरहेको छस्, यसैले तेरो आठ ठाउँमा वक्र होस् ।’
एकदिन कहोड राजा जनकको दरबारका गए । उहाँ बन्दीसँग शास्त्रार्थ गर्दा उनको हार भयो । हार हुनेबित्तिकै उनलाई पानीमा डुबाइदिए । यो घटनापछि अष्टावक्रको जन्म भयो । आफ्नो पिता नदेखेर अष्टावक्रले बाजे उछालकलाई आफ्ना पिता र मामा श्वेतकेतुलाई दाजु भन्ने सम्झिए । एकदिन जब अष्टावक्र उछालकको काखमा बसेका थिए तब श्वेतकेतुले उनलाई आफ्नो पिताको काखबाट तान्दै भने, ‘छोड्, यो त मेरो पिताको काख हो ।’ अष्टावक्रलाई धेरै नराम्रो लाग्यो । उनले आमासँग गएर पिताको बारेमा सोधे । आमाले अष्टावक्रलाई सबै यथार्थ बताइदिइन् ।
आफ्नी आमाबाट सबै यथार्थ कुरा थाहा पाइसकेपछि अष्टावक्रले मामा श्वेतकेतुलाई साथमा लिई बन्दीसँग शास्त्रार्थ गर्न राजा जनकको यज्ञशालामा पुगे । त्यहाँ द्वारपालहरुले उनलाई रोक्दै भने, ‘यज्ञशालामा वच्चाहरुलाई जाने आज्ञा छैन ।’ अष्टावक्रले भने, ‘ए द्वारपाल, केवल कपाल सेतो हुँदैमा वा अवस्था धेरै हुँदैमा कोही पनि ठूलो व्यक्ति हुँदैन । जसलाई वेदको ज्ञान छ र बुद्धि तेज छ उही वास्तवमा ठूलो हुन्छ ।’
यति भनेपछि अष्टावक्र राजा जनको सभामा गए र बन्दीलाई शास्त्रार्थका लागि लल्कारे । राजा जनकले अष्टावक्रलाई परीक्षा लिने हिसाबले सोधे, ‘त्यो पुरुष को हो ? जो तीन अवयव, बाह्र अंश, चौबीस पर्व र तीन सय साठी अक्षरहरुवाला वस्तुका ज्ञाता हुन् ?’
राजा जनकको प्रश्न सुन्नेबित्तिकै अष्टावक्रले भने, ‘राजन, चौबीस पक्षवाला, छ ऋतुवाला, बाह्र महिनावाला तथा तीन सय दिनवाला संवत्सरले तपाईंको रक्षा गरुन् ।’
अष्टावक्रको सही उत्तर सुनेर राजा जनकले फेरि प्रश्न गरे, ‘त्यो को हो ? जो खुल्लावस्थामा पनि आफ्नो आँखा बन्द गर्दैन ? जन्म लिएपछि पनि हिँडडुल गर्न को असमर्थ हुन्छ ? को हृदयविहीन हुन्छ ? र, छिटो दौडनेवाला को हो ?’
अष्टावक्रले उत्तर दिए, ‘हे जनक, सुषुप्तावस्थामा माछाले आफ्नो आँखा बन्द गर्दैन । जन्मेपछि पनि अण्डा चल्न सक्दैन । पत्थर हृदयहीन हुन्छ र वेगसँग छिटोछिटो दौडने नदी हुन्छ ।’
अष्टावक्रको उत्तर सुनेर राजा जनक प्रसन्न भए र उनलाई बन्दीसँग शास्त्रार्थ गर्न अनुमति प्रदान
गरे । तब बन्दीले अष्टावक्रलाई भने कि एक सूर्यले सारा संसारलाई प्रकाशित गर्छ । देवराज इन्द्र एकै वीर छन् तथा यमराज पनि एकै छन् । अष्टावक्रले भने, ‘इन्द्र र अग्निदेव दुई देवता छन् । नारद र पर्वत दुई देवर्षि छन्, अश्विनी कुमार पनि दुई–दुई नै छन् । रथका दुई पाङ्ग्रा हुन्छन् र पति–पत्नी दुई सहचर हुन्छन् ।’ वन्दीले भने कि संसार तीन प्रकारले जन्म धारण गर्छन् । कर्मको प्रतिपादन तीन वेदले गर्दछन् । तीन कालमा यज्ञ हुन्छ तथा तीन लोक र तीन ज्योति छन् ।

अष्टावक्रले भने, ‘आश्रम चार छन्, वर्ण चार छन्, दिशा चार छन् र ओकार, अकार, उकार तथा मकार यी वाणीका प्रकार पनि चार छन् ।’ बन्दीले भने, ‘यज्ञ पाँच प्रकारका हुन्छन्, यज्ञको अग्नि पनि पाँच छन् । ज्ञानेन्द्रिय पाँच छन्, पाँच दिशाका अप्सरा पाँच छन्, पवित्र नदी पाँच छन् तथा पंक्ति शब्दमा पाँच पद हुन्छन् ।’ अष्टावक्रले भने, ‘दक्षिणमा ६ वटा गाई दिनु उत्तम हुन्छ, ऋतुहरु पनि ६ वटा हुन्छन् ।’ तब बन्दीले भने कि पाल्तु पशु सात उत्तम हुन्छ र वन्य पशु पनि सात नै अनि छन्द पनि सात नै उत्तम मानिन्छ । सप्तर्षि सात हुन्छन् र वीणाको तार पनि सातवटै हुन्छन् ।
अष्टावक्रले भने, ‘आठ वसु हुन्छन् तथा यज्ञको स्तम्भक कोण पनि आठै हुन्छन् ।’ बन्दीले भने, ‘पितृ यज्ञमा समिधा नौ छोड्ने गरिन्छ, प्रकृति नौ प्रकारका हुन्छन् तथा वृहति छन्दमा अक्षर पनि नौ नै हुन्छन् ।’ अष्टावक्रले भने, ‘दिशा दश छन्, तत्वज्ञ दश हुन्छन्, बच्चा दश महिनामा हुन्छ र दहाईमा पनि दश नै हुन्छ ।’ बन्दीले भने कि एघार रुद्र छन्, यज्ञमा एघार स्तम्भ हुन्छन् र पशुमा एघार इन्द्रिय हुन्छन् ।
अष्टावक्रले भने, ‘बाह्र आदित्य हुन्छन्, बाह्र दिनको प्रकृति यज्ञ हुन्छ, जगती छन्दमा बाह्र अक्षर हुन्छन् र वर्षभरि बाह्र महिनाको हुन्छ ।’ बन्दीले भने कि त्रयोदशी उत्तम हुन्छ, पृत्वीमा तेह्र द्वीप छन् । यति भन्दाभन्दै बन्दीले श्लोकको अगाडिको पंक्ति भुले र चुप भए । यसमा अष्टावक्रले श्लोक पूरा गर्दै भने कि वेदमा तेह्र अक्षरवाला छन्दलाई अति छन्द भनिन्छ र अग्नि, वायु तथा सूर्य तीनवटै तेह्र दिनवाला यज्ञमा व्याप्त हुन्छन् ।
यस प्रकार शास्त्रार्थमा बन्दीको हार भएपछि अष्टावक्रले भने, ‘राजन, यसले हारिसक्यो । अतः यसलाई पनि पानीमा डुबाइयोस् ।’ तब बन्दीले भने, ‘महाराज, म वरुणको पुत्र हुँ र सबै हारेका ब्राह्मणहरुलाई मैले आफ्नै पिताकहाँ पठाइदिएको छु । मैले अहिले नै ती सबैलाई हजुरका सामु उपस्थित गर्दछु ।’ बन्दीले यति भन्नेबित्तिकै शास्त्रार्थमा हारेका सबै ब्राह्मणहरु राजा जनकको सभामा उपस्थित भए । जसमा अष्टावक्रका पिता कहोड पनि थिए । अष्टावक्रले आफ्ना पिताका चरण स्पर्श गरे । तब कहोडले प्रसन्न भएर भने, ‘पुत्र, तिमी गएर समंगा नदीमा स्नान गर, मेरो श्रापबाट मुक्त हुनेछौ ।’ यसपछि अष्टावक्रले समंगा नदीमा गएर स्नान गरे । उनका सबै वक्रअंग सीधा भए ।











प्रतिक्रिया